नेपाली ब्रान्ड शृंखला
रविचन्द्र मल्ल भक्तपुर, झौखेलका बासिन्दा हुन्। झौखेललाई पहिले कोल्पाकोट भनिन्थ्यो। त्यही कोल्पाकोटबाट उनले आफ्नो व्यवसायको नाउँ जुराएका छन्– कोल्पा।
ललितपुर, झम्सिखेलमा रहेको कोल्पाले नेपाली हस्तकला सामग्रीको कारोबार गर्छ। आफ्नै घरगाउँको स्रोतसाधनबाट बन्ने हस्तकला सामग्रीलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नु ‘कोल्पा’ को उद्देश्य रहेको रवि बताउँछन्।
‘हामीकहाँ घरघरमा हस्तकला बन्छ। दाजुभाइ खेतबारीमा काम गर्छन्, दिदीबहिनी घरका काम सकेर फुर्सदमा हस्तकला बनाउँछन्,’ रवि भन्छन्, ‘हामी त्यही घरेलु उत्पादन बजारसम्म पुर्याउने माध्यम हौं।’
उनका अनुसार कोल्पाले मकैका खोस्टाबाट बन्ने चकटी, परालका गुन्द्री, अम्रिसोको कुचो, अल्लोका टेबलबत्ती, पिर्का, बेल्ना, चक्ला, झोला, भित्तेटुकीजस्ता हस्तकला सामग्रीको व्यवसाय गर्छ। ‘यी सामान्य घरेलु उत्पादन मात्र होइनन्,’ उनले भने, ‘यसले हाम्रो नेपाली संस्कृति र पहिचान झल्काउँछ।’
कोल्पाले हस्तकला उत्पादनमा गाउँघरका स्थानीयलाई सहयोग गर्दै आएको उनले बताए। कालिकोट, संखुवासभा, रसुवा, नवलपरासी, म्याग्दी, दैलेख, डोल्पा, सुर्खेत लगायत जिल्लाका महिला समूहहरूसँग उनको सहकार्य छ।
रविचन्द्र खासमा सूचना प्रविधि (आइटी) का विद्यार्थी हुन्। उनले नेपालको ग्रामीण क्षेत्रमा उत्पादन हुने हस्तकला सामग्रीलाई अन्तर्राष्ट्रिय बजार पुर्याउने उद्देश्यले यो व्यवसायमा हात हालेका थिए।
हातले बनाइने यस्ता उत्पादनमा मिहिनेत र लागत बढी हुन्छ। मेसिनले ठूलो मात्रामा उत्पादन गर्ने सस्ता सामानसँग यसले प्रतिस्पर्धा गर्न सक्दैन। त्यही भएर स्वदेशभन्दा अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने उनको आकलन थियो। उनले आफ्नो व्यवसायको संरचना त्यहीअनुसार बनाए।
कोल्पाको स्थापना २०६२ सालमै भए पनि यसको व्यावसायिक सञ्चालन अलि पछि भयो। सुरुआतमा एक वर्ष काम गरेपछि उनी स्नातकोत्तर गर्न अमेरिका गए। अमेरिकाको अध्ययनपछि २०६८ मा परिवारसहित नेपाल फर्के।
लगभग दुई वर्ष उनको बजार अध्ययनमै बित्यो। यस अवधिमा उनले आफ्नो उद्देश्यअनुसार स्रोत पनि भेटे, सीप पनि।
‘आइटी विद्यार्थी भएकाले यसैको ज्ञान प्रयोग गरेर ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्न केही योगदान गर्छु भन्ने लाग्यो,’ उनले भने।
उनले ती दुई वर्षमा कुनै पनि औद्योगिक प्रदर्शनी छाडेनन्। सबै प्रदर्शनीमा भाग लिन्थे। त्यहाँ आउने सहभागीहरूको व्यवसाय, घरपरिवार र आम्दानीबारे सोधखोज गर्थे। यसले उनलाई बजारको वस्तुस्थितिबारे धेरैथोरै ज्ञान भयो।
‘घरेलु हस्तकला सामग्रीलाई ग्राहकले पनि निम्नस्तरको दर्जा दिँदा रहेछन्। फाइदा त परै जाओस्, दैनिक ज्याला पनि उठेको पाइएन,’ उनले दुई वर्षको अनुभव सुनाए।
ग्रामीण भेगका हस्तकला उत्पादकको यही समस्या हल गर्न उनले आफ्नो कम्पनीबाट त्यसलाई संगठित रूप दिन पहल गरे।
‘मैले स्थानीय स्तरमा उत्पादन हुने विभिन्न हस्तकला सामग्रीहरू हेरेँ, त्यसमा हाम्रो परम्परागत कला थियो, सीप थियो,’ उनले भने, ‘त्यसलाई संगठित रूप दिन सके बढीभन्दा बढी उत्पादन गर्न प्रोत्साहन हुनेछ भन्ने लाग्यो।’
उनी आफ्नो प्रस्ताव लिएर विभिन्न ठाउँका स्थानीय समूहलाई भेटे। सबैलाई एउटै कुरा भन्थे, ‘म डिजाइन बनाएर दिन्छु, तपाईंहरू आफ्नै घरबारीमा भएको स्रोत परिचालन गरेर हस्तकला सामान बनाउनू। बजारको ग्यारेन्टी मेरो।’
सबभन्दा पहिला जाजरकोटकी एक अगुवा महिलासँग कुरा गरेको उनी सम्झन्छन्।
‘यो कसरी सम्भव हुन्छ भाइ?’ रविले ती महिलाको भनाइ सम्झे, ‘तिमी काठमाडौं बस्छौ, हामी जाजरकोट।’
‘किन र दिदी? जाजरकोटमा काठमाडौंबाट गाडी आउँदैन?’ रविले सोधे।
‘आउँछ,’ उनले उत्तर दिइन्।
‘त्यसो भए केही गाह्रो छैन,’ रविले सम्झाउँदै भने, ‘तपाईंसँग फोन छ, मसँग पनि फोन छ। हामी फोनबाट दिनहुँ सम्पर्क गर्न सक्छौं। साइजका कुरा तपाईं बुझिहाल्नु हुन्छ।’
उनले अगाडि थपे, ‘कच्चापदार्थ तपाईंहरूसँग छँदैछ। कुन कच्चापदार्थबाट कुन सामान बनाउने तपाईंहरूलाई थाहा छ। बनाउने ल्याकत पनि छ। अरू के चाहियो?’
ती महिला राजी भइन्।
रवि त्यसपछि उनीसँग मिलेर जाजरकोटमा परम्परागत रूपले उत्पादन हुँदै आएका हस्तकलाको खोजीमा लागे। हजुरबा, हजुरआमाका पालादेखि उत्पादन हुँदै आएका मौलिक सामग्रीहरू। त्यसैलाई अहिलेका युवा पुस्ताको रुचिमा ढालेपछि परम्परागत सीप झल्किने आधुनिक हस्तकला सामग्रीको आइडिया तयार भयो।
उनले पटेर (खोलाको छेउमा उम्रने घाँस) बाट मुडा बनाए। चकटी बनाए। अल्लोको धागो ल्याएर त्यसलाई केमा प्रयोग गर्न सकिन्छ अध्ययन गरे। अहिले त्यो धागोबाट विभिन्न खालका झोला उत्पादन हुन थालेको छ। ती झोला विदेश निर्यात हुन्छन्।
यति मात्र होइन, चकटीमा मात्र सीमित मकैको खोस्टालाई बास्केटदेखि ठुल्ठूला सुकुल, गुन्द्री बनाउन पनि प्रयोग गरे।
नयाँ नयाँ ढाँचाका हस्तकला खोजी गर्न गाउँ गाउँ डुल्ने रविको बानी छ। यही सिलसिलामा उनी नवलपरासीको पर्सोनी गएका थिए। त्यहाँ अल्लोबाट माछा मार्ने जाली उत्पादन भइरहेको देखे। त्यसलाई परिस्कृत गरेर झ्यालमा राख्ने पर्दा, मोबाइल, आइप्याड, ल्यापटपको झोला बनाउन लगाए। यसलाई अन्तर्राष्ट्रिय बजारमा रुचाइयो।
उता, डोल्पाका स्थानीय महिलाहरू कोल्पाको निम्ति पेटी बनाएर पठाउँछन्। ती पेटी गिटार बोक्न पनि प्रयोग हुन्छ। उनी राउटे समुदायले प्रयोग गर्ने सन्दुक, पिर्का, बेल्ना, चक्ला पनि उत्पादन गरी निर्यात गर्छन्।
यस्ता हस्तकला सामान स्वदेशभन्दा विदेशमा धेरै बिक्री हुने उनी बताउँछन्।
‘हामीले अहिलेसम्म बाहिरबाट मान्छे ल्याएर सीप सिकाएका छैनौं। जे जति उत्पादन भइरहेका छन्, त्यो सबै हाम्रो परम्परागत सीप हो,’ उनले भने, ‘मलाई लाग्छ, हामी नेपालीलाई कसैले सीप सिकाउनु पर्दैन। हाम्रा पुर्खाले बुन्ने सामग्रीमा अलिकति आधुनिकता थपे पुग्छ।’
उनी आफैंले पनि लौकाबाट भित्तेटुकी, बटुका बनाउने गरेका छन्। लौका उनको घरमै फल्छ। खाएर बढी भएपछि त्यसलाई बत्ती बनाउन प्रयोग गरेका हुन्। यसको निम्ति लौका टिपेर भित्रको गुदी सुकाइन्छ। अलि कडा भएपछि सफा गरिन्छ। त्यसमा तेल लगाएर बत्ती र बटुका बनाउन प्रयोग गरिने उनले बताए।
झोलामा मात्र सीमित कपासबाट पनि उनले बत्ती बनाएका छन्। उनी सिन्धुपाल्चोक र विराटनगरबाट छाला ल्याएर क्यामरा झुन्ड्याउने डोरी पनि बनाउँछन्।
‘आइटीमा लागेको भए मेरो काम सहरी क्षेत्रमा मात्र सीमित हुन्थ्यो,’ उनले भने, ‘अहिले हामी ग्रामीण सामुदायिक स्तरमा काम गरिरहेका छौं। ग्रामीण भेगका बासिन्दा लाभान्वित भइरहेका छन्।’
सूचना प्रविधि पढेर हस्तकला व्यवसायमा लाग्न रविलाई सजिलो भएन। सुरूमा त परिवारलाई सम्झाउनै गाह्रो परेको उनले बताए।
‘घरमा सबैले गाली गर्थे। आइटी पढेर के काम गरेको यस्तो भन्थे। अहिले परिवारका सबै खुसी छन्,’ उनले भने।
रविलाई यो काममा उनकी बहिनीले सघाउँदै आएकी छन्। कोल्पाका उत्पादन इटाली, चीन, जापान, मलेसिया, सिंगापुर लगायत देशमा निर्यात हुन्छन्।