खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मदिरा गुणस्तरसम्बन्धी पहिलोपटक मापदण्ड ल्याएको छ।
गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा विक्रीवितरणमा बन्देज लगाई सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन सो मापदण्ड निर्धारण गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
‘अहिले हामीले ह्विस्की, ब्राण्डी, रम, भोड्का र जिनमा मापदण्ड तोकेका छौं,’ वस्तीले भने, ‘केही समयपछि वाइन, वियरलगायत मदिराजन्य पदार्थको पनि मापदण्ड निर्धारण गर्नेछौं।’
मदिरा सेवन गरिसकेपछि त्यसको असर भने १/२ दिनसम्म रहने गरेकाले मदिरामा अल्कोहलको मात्रा तोकिएको वस्तीले बताए।
‘मदिरामा प्रयोग हुने इथाइल अल्कोहल ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस) सम्म हुनु पर्नेछ। तर ३ प्रतिशतसम्म घटीबढी हुँदा भने स्वीकार्य हुने गरी मापदण्ड तयार पारिएको छ,’ वस्तीले भने।
मदिरासम्बन्धी अर्को पनि ऐन छ। तर यसले चाहिँ राजस्व र अन्त:शुल्कको लागि मात्र काम गर्ने भएकोले मदिराको गुणस्तरसम्बन्धी मापदण्ड ल्याएको वस्ती बताउँछन्।
‘मदिरामा राम्रो गुणस्तर भनेर कमसल खालका सामग्री विक्री वितरण भएका छन्। त्यसमा हानिकारक तत्व मिसिएर मानिसको मृत्युसमेत भएको घटनाले यससम्बन्धी मापदण्डको आवश्यक परेको हो,’ वस्तीले भने।
विदेशतिर भने मदिरासम्बन्धी मापदण्ड पहिले देखिनै छ।
वस्तीका अनुसार मदिरा उत्पादनमा अल्कोहल लगायत यसमा प्रयोग हुने तत्वहरूको मात्रा प्याकेजिङ लेवलिङ, भण्डारण र ढुवानीको मापदण्ड निर्धारण गरिएको छ।
मापदण्ड अनुसार लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य उल्लेख गर्नुपर्नेछ।
ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिन गरी पाँच प्रकारका मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा मापदण्डले प्रतिबन्ध लगाएको छ।
मापदण्ड अनुसार माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रासायनिक प्रक्रियाबाट प्रशोधन गरी तयार पार्न सकिने गरी ह्विस्कीमा मापदण्ड निर्धारण गरिएको छ।
यस्तै, ह्विस्की उत्पादन गर्दा कम्तीमा एक वर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्छ।
‘रम, ह्वाइट रम र फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फरर्माटेसन गरी मात्रै रम बनाउन हुने मापदण्डमा भनिएको छ।
रममा कैरामलबाहेक अन्य रङ प्रयोग गर्न नपाइने मापदण्ड निर्धारण गरिएको छ।
आलु, अन्न, मोलासेस वा कार्वोहाइड्रेटजन्य पदार्थको फरर्माटेसन गरी डिस्टिलेशन प्रक्रियाबाट प्राप्त हुने न्युट्रल स्प्रिटबाट भोड्का उत्पादन तयार पार्नुपर्ने छ।
त्यसैगरी, ब्रान्डीको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ। अङ्गुरको ब्राण्डीको हकमा ताजा, स्वस्थ र पाकेको अङ्गुरको फरर्माटेसन जुसबाट मात्रै तयार गर्नुपर्ने उल्लेख छ।
यस्तै फलफूलको ब्रान्डीको हकमा अङ्गुरबाहेक अन्य फलफूलको फरर्माटेसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ।
जिन तयार पार्दा जुनिपर बेरीको वाष्पशील तत्वको स्वाद भएको न्युट्रल स्प्रिटबाट तयार गर्न सकिने मापदण्डमा उल्लेख छ। यसमा अन्य वनस्पति र वास्नाको वाष्पशील तत्व पनि प्रयोग गर्न सकिन्छ।
खाद्य स्वच्छताका आधारमा ल्याएको मदिराजन्य मापदण्डले अब नेपालमा मानव स्वास्थ्यलाई हानी पुर्याउने खालका मदिरा उत्पादनमा भने बन्देज लगाउने देखिन्छ।
अहिलेसम्म नेपालमा मदिरा उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानी नोक्सानीको बारेमा हालसम्म कुनै मापदण्ड थिएन।