सरकारले उद्योग व्यवसाय शुरु गर्ने वातावरण सहज बनाउन एकल विन्दु सेवा लागू गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले यसका लागि कार्यविधि निर्माण गरिसकेको छ।
उद्योग दर्ता गर्नु भन्दा अगाडिका काम देखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालनको प्रक्रिया र कारणवश उद्योग बन्द भई लगानी झिक्ने सम्मको अवस्थामा सरकारबाट प्रदान गरिने सबै प्रकारका सेवा, सुविधा र सहुलियतहरू एकै ठाउँबाट दिने गरेर व्यवस्था गरिएको सङ्गठन एकल विन्दु सेवा केन्द्र हो। यसले एकद्वार सेवा प्रवाहमा सहयोग गर्ने मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
निर्देशिका अनुसार एकल विन्दु सेवाभित्र १२ वटा विभिन्न निकाय रहनेछन्। विभिन्न निकायहरूले सम्पादन गरिरहेका काम त्यही निकायबाट अधिकार प्रत्यायोजन भएका कर्मचारीहरू एकल विन्दु सेवामा रहने व्यवस्था गरिएको छ।
वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा गरीवि निवारण मन्त्रालय, भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय, ऊर्जा तथा जलस्राेत मन्त्रालय, श्रम राेजगार तथा समाजिक सुरक्षा मन्त्रालय,भन्सार विभाग, आन्तरिक राजस्व विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, अध्यागमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्रबैङ्क र उद्योग विभागको सेवा त्यही केन्द्रबाट पाइने छ।
यो सेवा केन्द्रबाट साना तथा घरेलु देखि ठूला उद्योग सम्मको काम हुने छ। सेवा केन्द्रमा उद्योग विभागका निर्देशक प्रमुख हुने गरि विभिन्न निकायका २४ जना कर्मचारी रहने निर्देशिकामा व्यवस्था गरिएको छ।
यो सेवाले लगानीकर्ता थप आकर्षित भई नेपालमा लगानीको वातावरण सृजना हुने विश्वास मन्त्रालयले लिएको छ।
मन्त्रालयले एकल विन्दु सेवा केन्द्रको निर्देशिका तयार पारिसके पनि औद्योगिक व्यवसाय ऐनको प्रावधानअनुरूप सो केन्द्र सञ्चालन गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न भने बाँकी रहेको छ।
एकल सेवा विन्दुको अवधारणा नहुँदा उद्योगीले उद्योग सञ्चालन गर्न पुराउनु पर्ने पक्रियाका लागि ६÷७ वटा निकाय धाउनु पथ्र्यो। तर यसको स्थापना पछि औद्योगीकरणमा सहजीकरण हुने सरोकारवा बताउँछन्।
उद्योगलाई सहजीकरण गर्न ल्याइएको एकल विन्दु सेवा अवधारणाले स्वदेशी तथा विदेशी दूवै लगानी आकर्षित हुने अर्थशास्त्री चन्द्रमणी अधिकारीको भनाइ छ।
‘नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न प्रक्रियानै झन्झटिलो थियो। यस सेवाले उद्योगीलाई उद्योग सञ्चालन गर्न सहज हुने छ’ उनले भने।
उद्योग दर्ता गरि सञ्चालन गर्न उद्योग विभाग, कम्पनी रजिष्ट्रार कार्यालय, राष्ट्रबैङ्क, अध्यागमन विभाग, वाणिज्य विभाग र उद्योगको प्रकृति हेरि त्यसैसँग सम्बन्धित मन्त्रालय जान पर्ने उद्योगीको बाध्यतालाई मध्यनजर गर्दै ती सबै काम एकै छानामूनीबाट सञ्चालन गर्ने उद्देश्यले एकल विन्दु सेवाको अवधारणा ल्याइएको प्रवक्ता भट्टराई बताउँछन्।
विभिन्न मन्त्रालयको राय सुझाब लिएर तयार पारिएको निर्देशिकाले लगानीको वातावरण तयार हुने उनको भनाइ छ। एकल विन्दु सेवाले उद्योग विभागलाई धेरै सहज हुने विभागका निर्देशक विनोद प्रकाश सिंहले बताए।
‘उद्योग विभागमा उद्योग दर्ता हुने भएपनि सबै काम यहाँबाट हुँदैन विभिन्न निकाय धाउनुपर्छ तर अब यो सेवा शुरु भएपछि भने एकैछानामुनीबाट हुने छ’ सिंहरले भने।
उद्योगीलाई भिषा लिन अध्यागमन विभाग, हकवन्दी भन्दा बढी जग्गा चाहियो भूमी सुधार, वातावरणीय प्रभाव मूल्याङकन गर्न वन मन्त्रालय, विदेशी ल्याएर
कामगर्नलाई श्रम मन्त्रालय, विदेशबाट पैसा ल्याउन राष्ट्रबैङ्क जान पथ्र्यो। एकल विन्दु सेवा केन्द्रको स्थापना पछि यस्तो समस्या समाधान हुनेमा आफु विश्वस्त भएको निर्देशक प्रकाश सिंह बताउँछन्।
उनका अनुसार उक्त सेवा केन्द्र उद्योग विभागको परिसर भित्र बनिरहेको ४ तलाको भवनको भुइँतलामा रहने छ। भवनको ८५ प्रतिशत काम सकिएको छ। केही महिना भित्रै सो सेवा केन्द्र सञ्चालमा आउँनेछ।