सबैभन्दा बढी निर्यात हुने वस्तु कुन हो?
धेरैलाई ऊनी गलैंचा वा तयारी पोसाक नै हो कि भन्ने लाग्न सक्छ। विगतका वर्षमा यिनै थिए। तर, नेपालका यी परम्परागत निकासीजन्य वस्तुलाई धागो (पोलिस्टर, सिन्थेटिक वा अन्य) ले उछिनेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो पाँच महिनामा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरका धागो निकासी भयो। यही अवधिमा दोस्रो स्थानमा रहेको ऊनी गलैंचा ३ अर्ब ३० करोड र तयारी पोसाक ३ अर्ब रुपैयाँ छ।
धागो निकासी यो वर्ष अचानक ह्वात्तै बढेको होइन।
गत आर्थिक वर्ष पनि यो निकासी सूचीको पहिलो स्थानमै थियो। उक्त वर्ष ८ अर्ब ४२ करोड रुपैयाँ बराबरका धागो निकासी भयो। यो दोस्रो स्थानमा रहेको ऊनी गलैंचाको दाँजोमा झन्डै डेढ अर्ब बढी हो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार २०७१/७२ मा फलाम तथा फलामजन्य वस्तु सबभन्दा अगाडि थियो। अर्को वर्ष गलैंचाले उछिनेर पहिलो स्थान ओगट्यो। त्यसपछि लगातार दुई वर्ष अग्रता कायम राखेको गलैंचालाई २०७४/७५ मा धागोले उछिनेको हो।
धागोको निकासी वृद्धिदर हेर्दा यो वर्ष पनि पहिलो स्थानमै रहने देखिन्छ।
नेपाली धागो निकासी व्यापारको पहिलो स्थानमा उक्लिनुको कारण के हो त?
यसको निम्ति हामीले पछिल्लो तीन वर्षको धागो निर्यात हेर्नुपर्छ। यस अवधिमा निर्यात रकम मात्र बढेको छैन, बजारसमेत फैलिएको छ।
२०७२/७३ मा ५ अर्ब ३५ करोड रूपैयाँ बराबरको धागो निर्यात हुँदा ६० प्रतिशत भारतीय बजारमा खपत भएको थियो। उक्त वर्ष टर्कीमा करिब २ अर्बको धागो निकासी भएको केन्द्रको तथ्यांकमा देखिन्छ।
२०७४/७५ सम्म आइपुग्दा यो अवस्था उल्टो भयो। उक्त वर्ष ८ अर्ब ४२ करोडको धागो निकासी भयो। जसमध्ये टर्कीमा ४ अर्ब ५९ करोड र भारतमा ३ अर्ब ७६ करोडको खपत भएको छ।
टर्कीमा नेपाली धागोको उच्च मागले निकासी बढेको व्यवसायी बताउँछन्। यसलाई कायम राख्दै भारतमा थप बजार प्रवर्द्धन गर्न सके निकासी अझ बढ्ने उनीहरूको भनाइ छ।
नेपालमा निजी स्तरका रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स गरी चारवटा धागो उद्योग सञ्चालनमा छन्। सरकारी स्वामित्वको बुटवल धागो उद्योग बन्द छ।
धागो उत्पादक संघका अनुसार चालु अवस्थाका चार उद्योगको कुल पुँजी करिब १५ अर्ब रूपैयाँ छ। यी उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १० हजारलाई रोजगारी दिएको छ।
धागो उद्योगहरूको कुल वार्षिक क्षमता ५९ हजार मेट्रिक टन रहे पनि ३८ हजार मात्र उत्पादन भइरहेको संघले जनाएको छ। यी उद्योगले पोलिस्टर, भिस्कस, एक्रेलिक, सिन्थेटिक लगायत धागो उत्पादन गर्छन्।
नेपाली धागोको मुख्य प्रयोग सुटिङ–सर्टिङ, स्कुल ड्रेस, स्विटर, अरू खाले तयारी पोसाक, टोपी, पञ्जा, मोजा लगायतमा हुँदै आएको धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए।
‘यहाँबाट निर्यात हुने धागोबाट बनेका सुटिङ–सर्टिङ र अन्य कपडा नेपालमै पनि भित्रिने गरेका छन्,’ उनले सेतोपाटीसँग भने, ‘नेपालमा कपडा फिनिसिङ गर्ने राम्रो प्लान्ट छैन। नेपाली धागो प्रयोगबाट बनेका विदेशी कपडा आकर्षक हुन्छन्।’
राम्रो 'फिनिसिङ' गर्ने प्लान्ट लगाउन सके नेपाली धागोको ठूलो हिस्सा स्वदेशमै खपत गर्न सकिने उनले बताए।
चार धागो उत्पादकमध्ये निकासीमा सबभन्दा ठूलो हिस्सा सुनसरी, इटहरीको रिलायन्स स्पिनिङ मिल्सले ओगट्छ। यसको स्थापना सन् १९९५ मा भएको हो।
गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापना भएको यो उद्योगमा चार हजार कामदार छन्। अन्य कुनै धागो उद्योगमा यति धेरै कामदार नभएको रिलायन्स स्पिनिङका अध्यक्ष पवन गोल्यानले दाबी गरे।
‘एउटै छानामुनि चार हजार कामदार। त्यसमा पनि १८ सय महिला छन्। यी सबै नेपाली नागरिक हुन्। यस्तो उद्योग नेपालमा अरू कुनै छैन,’ संघका अध्यक्षसमेत रहेका गोल्यानले भने।
आजभन्दा २३ वर्षअघि गोल्यान कपडा उद्योगी थिए। त्यतिखेर ज्योती समूहले सञ्चालन गरेको ज्योती स्पिनिङ मिल्स र सरकारी स्वामित्वको बुटवल धागो कारखाना मात्र सञ्चालनमा थिए।
‘राजनीतिक कारणले बुटवल धागो कारखाना बन्द भयो। ज्योती मिल्सले पनि त्यति ठूलो मात्रामा धागो उत्पादन गर्न सकेन,’ गोल्यानले विगत सुनाए, ‘यसले कपडा उद्योगमा धागोको समस्या पर्न थाल्यो।’
गोल्यानका अनुसार त्यतिखेर एमएस ग्रुपको पनि कपडा उद्योग थियो। यसै सिलसिलमा उनको एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालसँग भेट भइरहन्थ्यो। ‘उनलाई पनि कपडा उद्योग चलाउन धागोको समस्या, मलाई पनि समस्या’ उनले भने, ‘हामी दुवै मिलेर धागो उद्योग खोल्ने योजना बनायौं।’
नेपाली धागोले विदेशमा राम्रो बजार लिन सक्ने सम्भावना उनीहरूले देखे। यसनिम्ति भारत र बंगलादेश गएर त्यहाँका धागो उद्योग भ्रमण गरे।
बैंकबाट लिएको ८० करोडसहित करिब १ अर्ब १५ करोड रुपैयाँ लगानीमा रिलायन्स स्पिनिङ स्थापना भएको उनले जानकारी दिए। त्यो समय १ अर्बको लगानीमा उद्योग सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण थियो। त्यसमाथि कामदारको दुःख।
यति ठूलो क्षमताको उद्योगलाई पुग्ने दक्ष कामदार नपाइने भएपछि उनीहरूले नयाँलाई तालिम दिए। सुरूमा २ हजार कामदारलाई तालिम दिएको गोल्यान सम्झन्छन्।
सुरूमा उनीहरूले वार्षिक ७/८ हजार टन धागो उत्पादन गर्थे। कुल उत्पादनको ८० प्रतिशत भारत निर्यात हुन्थ्यो। पछि बंगलादेश पनि निर्यात गरे। बंगलादेश जाने बाटो बन्द भएपछि निर्यात रोकियो। त्यसको केही समयमै टर्कीबाट माग आउन थाल्यो।
‘हुन त बेलायत र खाडी देशहरूमा पनि निर्यात हुन्छ, तर भारत र टर्कीले जति नेपाली धागोको बजार अन्य देशले लिएको छैन,‘ गोल्यानले भने।
अहिले रिलायन्स उद्योगले मात्र वार्षिक २०/२१ हजार टन उत्पादन गर्दै आएको छ। रिलायन्सपछि क्रमशः त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स सञ्चालनमा आएका हुन्।
निकासी फस्टाउँदै गएपछि थप लागत प्रतिस्पर्धी बन्न धागो उत्पादकहरूले सरकारबाट केही सहुलियत माग गरेका छन्। खासगरी, बिजुली महसुल, ब्याज र नयाँ मेसिन झिकाउँदा पार्टपूर्जामा लाग्ने भन्सार सहुलियत दिनुपर्नेमा उद्योगीको जोड छ। सरकारले धागो निर्यात गरेबापत उद्योगीलाई ३ प्रतिशत सहुलियत दिँदै आएको छ।
‘धागो र कपडा उद्योगको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। जबसम्म नेपाली कपडा उद्योग विकास हुँदैन, तबसम्म नेपाली धागो उद्योग विकास हुन सक्दैन,’ गोल्यानले भने, ‘कपडाको न्यून विजकीकरण र चोरी पैठारी नरोकिएसम्म नेपालमा उत्पादित धागो नेपालमै खपत गर्न गाह्रो छ।’
अवैध रूपमा भित्रिएका कपडाले नेपाली कपडा उद्योगमा समस्या परेको उनले बताए।
सबै तस्बिर सौजन्यः रिलायन्स स्पिनिङ मिल्स