नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटको पनि गुणस्तर सम्बन्धी मापदण्ड बनाएको छ।
सुरक्षाका लागि लगाइएको हेलमेट दुर्घटना हुँदा हेलमेट एकातिर र मान्छे अर्कातिर भई हेलमेटसमेत फुट्नाले चालकको ज्यानको जोखिम भएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटमा पनि गुणस्तर मापदण्ड बनाएको हो।
दुई पाङ्ग्रे (बाइक, स्कुटर) सवारी साधन प्रयोग गर्दा हामी अनिवार्य रूपमा हेलमेटको प्रयोग गर्छौ। दुर्घटनाबाट बच्न हेलमेट अनिवार्य गरिएको छ। तर, यसअघि हेलमेटको गुणस्तरसम्बन्धी मापदण्ड भने बनाइएको थिएन।
बजारमा पाइने कमसल खालका हेलमेटले दुर्घटना हुँदा सुरक्षा दिन सक्दैन। बजारमा अन्तराष्ट्रियस्तरका सुरक्षित हेलमेट पाइने भए पनि सामान्यतया नेपालीले सस्तो हेल्मेट प्रयोग गर्ने गरेको व्यापारीहरू बताउँछन्।
सुरक्षाका लागि लगाइने हेलमेटले सुरक्षा नदिएपछि यसको मापदण्ड निर्धारण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर निर्धारण शाखा प्रमुख अनिल शाक्यले बताए।
‘ट्राफिक प्रहरीसँग दुर्घटनाका फुटेज ल्याएर हेर्दा हेलमेटले सुरक्षा नदिई प्रायः हेलमेट एकातिर मान्छे अर्कातिर भएको दृश्य भेटेपछि यसको मापदण्ड तयार गरिएको हो’, उनले सेतोपाटीसँग भने।
उनका अनुसार बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा तोकिएको छ।
उनका अनुसार यो मापदण्ड स्वयच्छ्यात्मक हो। बाध्यात्मक होइन।
यदि कुनै उद्योगीले यो मापदण्ड पुर्याएर हेलमेट बनाउँछन् भने त्यसलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरिने छ।
कुनै उद्योगीले मापदण्ड प्रयोग नगरी हेलमेट बनाउँछन् भने उनीहरूलाई कारबाही हुँदैन। तर, त्यस्ता हेलमेटले भने एनएस चिन्ह पाउँने छैनन्।
यदि सरकारले यस मापदण्डलाई बाध्यात्मक बनाउने हो भने बजारमा न्यून गुणस्तरका हेलमेट बन्द हुने हेलमेट उद्योगी रामप्रसाद बस्याल बताउँछन्।
नेपालमा थोरै मात्रामा हेलमेट उद्योग छन्। हेलमेट सम्बन्धी कुनै मापदण्ड नभएकाले उद्योगीहरूले आफ्नै तरिकाले बनाउँदै आएका छन्।
महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सङ्घ र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको विभागले जानकारी दिएको छ।