अब फुटपाथका ठेला–गाडा पनि प्यानमा दर्ता गर्नुपर्ने भएको छ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको ‘स्ट्रिट फुडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदामा फूटपाथका ठेला–गाडा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
अव्यवस्थित तरिकाले फूटपाथमा राखिएका खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भन्दै सो निर्देशिका तयार पारेको विभागका महानिर्देशक सञ्जिव कर्णले जानकारी दिए।
उनका अनुसार मस्यौदाको खाका तयार भइसकेको छ। केही विज्ञ र मन्त्रालयसँग छलफल गरेर त्यसलाई स्वीकृत गर्न बाँकी छ। ‘बाहिरी सडक–पेटीमा राखेका खानेकुरामा बालबालिका, युवा जमात देखि उमेर ढल्केका बृद्ध समेत झुम्मिने भएकाले यसलाई व्यवस्थित गर्न एकदम जरूरी छ’, उनले भने।
विदेशतिर समेत यस्ता स्ट्रिट फूड’को व्यवसायलाई व्यवस्थित गरेर संचालन गरिने भएकाले यहाँ पनि व्यवस्थित गरिनुपर्नेमा उनले जोड दिए। कर्णका अनुसार निर्देशिकाको मस्यौदामा पकाएर बेच्नका लागि राखिएका खाने कुराको सम्पर्क प्रदुषित वातावरणसँग हुन नहुने गरि मोडालिटी तयार पारिएको छ।
निर्देशिकामा प्रत्येक ‘स्ट्रिट भेण्डर’ स्थानीय तहमा दर्ता हुनपर्ने, अभिलेख राख्नु पर्ने मापदण्ड समेत तोकिएको छ। खाद्य वस्तु राख्ने ठेलागाढा, पकाउने भाँडा, खानेकुरा दिने भाँडा, पकाउने व्यक्ति लगायतका सम्वन्धमा समेत सरसफाईको मापदण्ड तोकिएको छ।
खाद्य पदार्थको कच्चापदार्थ, गुणस्तरबारे पनि मस्यौदामा उल्लेख गरिएको छ। मस्यौदा अनुसार खुला रूपमा बेच्ने सामान अनिवार्य छोपेको हुनपर्ने छ। खाने कुरा पत्रपत्रिका वा कागजमा पोका पारेर दिन पाइने छैन।