उद्योग व्यवसाय दर्तादेखि खारेजसम्मका प्रक्रिया एकै ठाउँबाट दिने गरि निमार्ण गरिएको एकल विन्दु सेवा केन्द्र वैशाखदेखि सञ्चालनमा आउने भएको छ।
उद्योग व्यवसायलाई सहज वातावरण दिन सरकारले आगामी वैशाखबाट यो सेवा सुरू गर्न लागेको हो।
उद्योग विभाग परिसर भित्र नयाँ भवन निर्माण गरी सेवा केन्द्र सञ्चालन हुने विभागका निर्देशक विनोद सिंह प्रकाशले सेतोपाटीलाई जानकारी दिए।
‘हामीले भवन निर्माणको काम सकेका छौ। केही फिनिसिङका काम बाँकी छ,’ उनले भने, ‘नीतिगत कुरा टुङ्ग्याएर राजपत्रमा सूचना प्रकाशन गरि वैशाखसम्ममा सञ्चालनमा ल्याउने हाम्रो तयारी छ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसका लागि कार्यविधि बनाएको हो। कार्यविधि तयार गरेर आवश्वयक कानुनी प्रक्रियाका लागि कानून मन्त्रालय पठाएको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
‘कार्यविधि लागू गराउन राजपत्रमा सूचना निकाल्नुपर्ने हुन्छ’, उनले सेतोपाटीसँग भने, ‘सूचना सम्पादनको काम कानून मन्त्रालयले गर्ने भएकोले ४/५ दिन अघि कार्यविधि कानून मन्त्रालयमा पठाएका हौ।’
भट्टराईका अनुसार राजपत्रमा सूचना निकाल्नका लागि कानून मन्त्रालयले तीव्र रूपमा काम गरिरहेको छ।
एकल विन्दु सेवा केन्द्रले उद्योग दर्ता गर्नु अगाडिका कामदेखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालन प्रक्रिया र यदि उद्योग बन्द भई लगानी झिक्नुपर्ने अवस्थासम्मका सबै सरकारी सेवा, सुविधा र सहुलियत एकै ठाउँबाट दिनेछ।
यसको सञ्चालनले एकद्वार सेवा प्रवाहमा सहयोग गर्ने प्रवक्ता भट्टराईले बताए।
कार्यविधिले तोके अनुरूप एकल विन्दु सेवाभित्र १२ वटा विभिन्न निकाय हुनेछन्।
एकल विन्दु सेवा सञ्चालनमा आएपछि वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा गरिवी निवारण मन्त्रालय, भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, अध्यागमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैङ्क र उद्योग विभागबाट लिइँदै आएको सेवा त्यहीँबाट लिन सकिने भएको छ।
यो सेवा केन्द्रबाट साना तथा घरेलुदेखि ठूला उद्योग सम्मको काम हुनेछन्।
सेवा केन्द्रमा उद्योग विभागका निर्देशक प्रमुख हुने गरि विभिन्न निकायका २४ जना कर्मचारी रहने कार्यविधिमा व्यवस्था गरिएको छ।
यसअघिका विभिन्न विभाग र निकायमा कार्यरत कर्मचारीलाई नै एकल विन्दु केन्द्रमा राखिने कार्यविधि बनेको छ।
यो सेवाले लगानीकर्ता थप आकर्षित भई नेपालमा लगानीको वातावरण सृजना हुने विश्वास मन्त्रालयले लिएको छ।
एकल सेवा विन्दुको अवधारणा नहुँदा उद्योगीले उद्योग सञ्चालन गर्न पुर्याउनुपर्ने पक्रियाका लागि ६/७ वटा निकाय धाउनुपर्ने बाध्यता थियो। तर, यसको स्थापना पछि औद्योगीकरणमा सहजीकरण हुने सरोकारवाला बताउँछन्।
उद्योगलाई सहजीकरण गर्न ल्याइएको एकल विन्दु सेवा अवधारणाले स्वदेशी तथा विदेशी दुवै लगानी आकर्षित हुने अर्थशास्त्री चन्द्रमणि अधिकारीले बताए। ‘नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्ने प्रक्रियानै झन्झटिलो थियो। यो सेवाले उद्योगीलाई उद्योग सञ्चालन गर्न सहज हुनेछ,’ उनले भने।