प्रधानमन्त्री केपी शर्मा ओलीको कुरामा आफूहरू झुक्किएको चिनी व्यवसयीहरूले गुनासो गरेका छन्।
चिनी नबिकेर हैरान भएको उद्योग, अर्थमन्त्री सबैलाई थाहा छ। कार्यक्रममा एक्कासी प्रधानमन्त्रीज्यूले उद्योगीले झुक्काएभन्दा आफूहरू नै झुक्किएको चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले भने।
‘उद्योगमन्त्री, अर्थमन्त्री सबैलाई थाहा छ आयातित चिनीले गर्दा हाम्रो स्वदेशी चिनी नबिकेको बारे कार्यक्रममा प्रधानमन्त्रीले बोल्दा हामी आफैं झुक्कियौं’, उनले सेतोपाटीसँग भने।
मंगलबार भएको नेपाल उद्योग परिसंघको साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले सरकारलाई झुक्काएको आरोप लगाएका थिए।
‘आगामी वर्षको लागि पनि रहने गरी चिनी स्टक हुने भयो, पाकिस्तानको आयात रोकिदिनुपर्यो भनेर चिनी उद्योगीले भने,’ प्रधानमन्त्री ओलीले भने, ‘सोही अनुरूप होला त नि भनेर मैले आयात रोकिदिएँ। भोलिपल्टदेखि बजारमा चिनी छैन।’
बजार मूल्य ६३ रुपैयाँ भए पनि बजारमा ५३/५४ रुपैयाँमा चिनी बिक्री भइरहेको भन्दै आयात रोकिदिन व्यवसायीले सरकारसँग आग्रह गरेको प्रधानमन्त्रीको बनाई थियो।
‘पछि त उद्योगीले ८५ रूपैयाँमा बेच्न थाल्नुभयो, ‘त्यो पनि नपाएर १ सय ५ रुपैयाँमा समेत सर्वसाधारण किन्न बाध्य भए,’ उनले कार्यक्रममा भने।
ग्रामीण भेगमा ढुवानी खर्चले गर्दा ८५ देखि १ सय ५ रूपैयाँ मूल्यसम्ममा चिनी बेचे पनि शहरी क्षेत्रमा आफूहरूले सस्तै दिइरहको अग्रवालले दाबी गरे।
‘चिनी नबिके पछि आफूले कोटा लगाउन सरकारलाई आग्रह गरेका हौ, यसमा उद्योग र अर्थमन्त्री दुवै साक्षी हुनुहुन्छ। उनीहरूलाई सोधे पनि हुन्छ,’ उनले अगाडि थपे।
अहिलेको बिक्री मूल्य ७८ रूपैयाँ १० पैसा भएको भन्दै उनले सरकारले नै आफ्नो लागतको न्यूनतम २० प्रतिशत नाफा खाउ भनेकाले आफूहरूले सो मूल्य कायम गरेका उनले बताए।
‘प्रधानमन्त्रीले भनेका कुरा पनि केही हदसम्म त सही नै होला। ढुवानी खर्च बढी लाग्ने ठाउँमा त्यति मूल्य भयो होला। तर, काठमाडौंमा चाहिँ त्यो मूल्य थिएन’, उनले भने, ‘सत्य तथ्य पत्ता नलगाई प्रधानमन्त्रीज्यूले व्यवसायीले ठगे भन्नुभयो, शङ्का लागे भ्याट बिक्री, एक्स फ्याक्ट्री मूल्य हेरे पनि हुन्छ, यसमा लुकाउनुपर्ने कुरा के छ र?’
उद्योगीले बारम्बार किसानलाई उखुको मूल्य नदिएपछि सरकारले चिनी उद्योगी मर्कामा नै परेका हुन् की भन्ने ठानेर भदौ ३१ को मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गर्यो।
निर्णय लगत्तै यहाँका उद्योगी व्यवसायीले ह्वात्तै मूल्य बढाए।
सरकारले पुसको अन्तिमतिर उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ३१ रूपैयाँ २८ पैसा तोकेपछि चिनी उद्योग सङ्घले सोही मूल्यको आधारमा आफ्नो लागतसहित चिनीको एक्स फ्याक्ट्री मूल्य निर्धारण गरेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय पठायो।
पत्रअनुसार चिनीको थोक मूल्य ७८ रूपैयाँ १० पर्ने भयो। तसर्थ उद्योगीले उखुमा ५ रूपैयाँ बढ्दा चिनीमा १५ रूपैयाँ बढाउन खोजे।
त्यसपछि लगत्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनीको मूल्य सम्बन्धी छलफलका लागि उद्योगीलाई डाक्यो।
छलफलमा अध्यक्ष अग्रवालले सरकारले किसानको हितमा उखुको मूल्य निर्धारण गरेपछि चिनीको मूल्य पनि सोही अनुसार गर्नुपर्ने बताए।
‘सरकारले चिनीमा आयातित कोटा तोक्नुभन्दा अघि आयातित चिनीसँग हामीले प्रतिष्पर्धा गर्नुपर्ने भएकोले घाटा खाएर चिनी बेचेको थियौँ, अब लागत अनुसारको चिनीको मूल्य हुनुपर्छ,’ अध्यक्ष अग्रवाललले छलफलमै भने।
त्यतिमात्र नभएर उद्योगी अहिले पुरानो स्टक चिनीको मूल्य समेत बढाउन पर्नेमा जोड गर्दै आएका छन्।
आयातित चिनीसँग प्रतिस्पर्धा गर्न उद्योगीले सक्दैनौं भनेपछि सरकारले आयातित चिनीमा कोटा निर्धारण गर्यो सो समयमा चिनीको थोक मूल्य ६३ रूपैयाँ भन्दा बढी नबढाउने उद्योगी र सरकार बीच सम्झौता भएको थियो अहिले उद्योगीले एकाधिकार जमाएर सम्झौता तोडि ७८ रूपैयाँ बनाउने निर्णय गर्यो।
के भनेका थिए प्रधानमन्त्रीले हेर्नुहोस् भिडियोमा