कोशी र जुम्ला अब जिल्लाका नाउँ मात्र रहेनन्। वनस्पति विभागले यही नाउँबाट दुईवटा अत्तर (पर्फ्युम) उत्पादन सुरू गरेको छ।
मेन्था, क्यामोमाइल, जटामसी, सुगन्धवाल, खसखस, श्रीखण्ड, धुपी लगायत जडिबुटी र तेलको प्रयोगबाट यी पर्फ्युम तयार गरिएको विभागका महानिर्देशक सञ्जिवकुमार राईले बताए।
उनका अनुसार नेपालमा उत्पादित ९० प्रतिशत जडिबुटी कच्चापदार्थका रूपमा विदेश जाने गर्छन्। ‘बाँकी बच्ने १० प्रतिशत जडिबुटीबाट के–के बनाउन सकिन्छ भनेर विभागका विज्ञहरूसँग छलफल गरी पर्फ्युम बनाउने निर्णय भएको हो,’ उनले सेतोपाटीसँग भने।
यसको निम्ति विभिन्न देश घुमेर पर्फ्युम बनाउने ज्ञान र सीप अध्ययन गरिएको उनले जानकारी दिए।
पर्फ्युम उत्पादनका लागि फ्रान्स संसारमै लोकप्रिय छ। विभागका एक कर्मचारीलाई गत वर्ष फ्रान्स भ्रमणमा पठाइएको थियो। उनले त्यहाँका पर्फ्युम उद्योगहरू घुमे। केही नमूनासमेत ल्याए। यसबाट प्राप्त सीपले स्वदेशमै पर्फ्युम उत्पादन गर्न सहयोग गरेको महानिर्देशक राईले बताए।
विभागले यो अध्ययनको सुरूआत दुई वर्षअघि नै गरेको थियो। यस क्रममा भारतको कन्नोज भन्ने गाउँ पनि भ्रमण गरियो। त्यहाँका किसान पर्फ्युम उत्पादनलाई चाहिने सुगन्धित बाली उत्पादन गर्नमा अग्रणी मानिन्छन्।
‘भारतका किसानले उत्पादन गर्दै आएको सुगन्धित बाली र फ्रान्समा हुँदै आएको प्रशोधन प्रक्रिया अध्ययन गरेपछि हामीलाई स्वदेशी जडिबुटी प्रयोग गरेर नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो,' उनले भने, 'विदेशीहरूले अर्को देशबाट जडिबुटी आयात गरेर पर्फ्युम बनाइरहेका छन् भने हामी किन नसक्ने भनेर अध्ययन गर्न थाल्यौं।'
त्यसपछि विभागका अधिकारीहरू पर्फ्युम उत्पादनलाई चाहिने सुगन्धित जडिबुटी खोज्न हुम्ला, जुम्ला लगायत जिल्लातिर गए। त्यहाँबाट संकलन गरी ल्याइएका जडिबुटीलाई विभागकै प्रयोगशालामा प्रशोधन गरी विभिन्न 'फर्मुला' तयार पारियो।
उनका अनुसार पर्फ्युमबाट आउने सुगन्धका विभिन्न चरण हुन्छन्- वेस नट, मिडल नट र टप नट। पर्फ्युम लगाउनेबित्तिकै आउने बासनालाई 'टप नट' भनिन्छ। पर्फ्युम लगाएको १५-२० मिनेटसम्म आउने बासनालाई 'मिडल नट' भनिन्छ भने एक-दुई दिनसम्म रहने बासनालाई 'वेस नट' भनिन्छ।
विभागका वनस्पतिविद्हरूले यी तीनमध्ये कुन खालका बासना प्रयोग गर्ने भनेर परीक्षण सुरू गरे।
‘एउटा व्यक्तिलाई मन परेको बासना अर्कोलाई मन नपर्न सक्छ। त्यही भएर हामीले धेरै जना भेला पारेर 'अर्गानोल्याप्टिक' परीक्षण गर्यौं,' उनले भने, ‘यसरी परीक्षण गर्दा धेरैले मन पराएका १०-१२ किसिमका पर्फ्युम निक्लिए। तीमध्ये दुईवटा छानेर 'कोशी' र 'जुम्ला' नाम दियौं।'
नेपालको जडिबुटीबाट उत्पादन गरिएकाले नेपाली जिल्लाकै नाम राखिएको उनले बताए।
विभागले गत शुक्रबार आफ्नो स्थापनाको ५९ औं वार्षिकोत्सवका अवसर आफूले उत्पादन गरेका पर्फ्युम सार्वजनिक गरेको हो।
‘कर्मचारी साथीहरूले आफ्नो १०–५ को ड्युटीका अतिरिक्त दिनरात खटिएर यी पर्फ्युम उत्पादन गरेका हुन्,' महानिर्देशक राईले भने, 'हामीले स्थापना दिवसको दिन आएका चार सयभन्दा बढी पाहुनालाई आफ्नो उत्पादन बाँडेका थियौं।'
उनका अनुसार 'कोशी' नामको पर्फ्युम शरीरमा छर्दा त्यसको बासना केही समय मात्र रहन्छ भने 'जुम्ला' को बासना २४ घन्टाभन्दा बढी रहन्छ। प्राकृतिक तेल र जडिबुटिबाट उत्पादन गरिएकाले यी पर्फ्युम शरीरमा लगाउँदा कुनै हानी नगर्ने विभागको दाबी छ।
विभागले आफ्नो अनुसन्धानबाट तयार भएको पर्फ्युमलाई व्यावसायिक स्तरमा उत्पादन गरी बजार प्रवर्द्धन गर्ने जिम्मा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई दिएको छ। यसको निम्ति पर्फ्युम बनाउने फर्मुला पनि हस्तान्तरण गरिएको विभागले जनाएको छ।
वनस्पति विभागले गत वर्ष लुगा धुने साबुन र नुहाउले स्याम्पु पनि बनाएको थियो। यसको बजार विस्तार भने हुन सकेको छैन। साबुन र स्याम्पु बनाउने फर्मुला विभागले कुनै कम्पनीलाई दिएको छैन।
त्यस्तै, खोकी, मसाज बाम लगायत १५ थरीका जडिबुटीजन्य उत्पादनको फर्मुला विभागले तयार पारेर राखेको छ। विभाग ती फर्मुला निजी वा सरकारी कम्पनीहरूलाई दिन चाहन्छ।
नेपालमा करिब ८० वटा जडिबुटी कम्पनी दर्ता छन्। यी कम्पनीले जडिबुटीबाट विभिन्न सामान उत्पादन गर्दै आएका छन्।
आफूले बनाएका फर्मुला हस्तान्तरण गर्ने कुनै कार्यविधि नभएकाले अन्य कम्पनीलाई दिन नपाएको विभागका महानिर्देशक राईले बताए। 'हामीले अनुसन्धान गरी तयार पारेका फर्मुला हस्तान्तरणको कार्यविधि बनाएर मन्त्रालय पठाएका छौं,' उनले भने।
उनका अनुसार निजी वा सरकारी कम्पनीलाई हस्तान्तरण गर्दा फर्मुला बनाउने वैज्ञानिकले के पाउने, कच्चापदार्थ उत्पादन गर्ने कृषकले के पाउने भन्ने विषय कार्यविधिमा समेटिएका छन्।
नेपालका प्रत्येक जातजातिमा जडिबुटी प्रयोग गर्ने मौलिक तरिका छन्। 'समुदायको परम्परागत ज्ञानलाई हामी विभागमा वैज्ञानिक तरिकाले परीक्षण गरी विश्वसामु प्रस्तुत गर्न चाहन्छौं,' उनले भने।
यसो गर्दा समुदायलाई पनि त्यसको लाभ पुगोस् भनेर ‘लाभको पहुँच र बाँडफाँडसम्बन्धी विधेयक, २०७६’ तयार गरी संसदमा लाने तयारी भइरहेको छ।
समुदायको परम्परागत ज्ञान सुनिश्चित गर्ने गरी यो विधेयक तयार पारिएको विभागले जनाएको छ।