बङ्गलादेशमा १७ वर्षपछि नेपाली एक्रेलिक धागो निर्यात हुने भएको छ। बङ्गलादेशले नेपाली धागो आयातमा लगाउँदै आएको प्रतिबन्ध खुला गरेसँगै एक्रेलिक धागो निर्यात हुने भएको हो।
बङ्गलादेशको राष्ट्रिय राजस्व बोर्डले चैत २२ (अप्रिल ५ तारिख) गते सो निर्णय गरेको हो। बङ्गलादेशले सन् २००२ देखि नै नेपाली धागो निर्यातमा प्रतिबन्ध लगाएको थियो।
नेपालले धेरै वर्ष अघि देखिनै धागो निर्यात खुलाउन आग्रह गर्दै आएको थियो। अहिले निजी तथा सरकारी पक्षसँग छलफल गरी उसले नेपालबाट धागो आयात गर्ने निर्णय गरेको छ।
सो निर्णय अनुसार अब बङ्गलाबन्द रूटबाट धागो निर्यात गर्न सकिने वाणिज्य मन्त्रालयकी उपसचिव सिर्जना तिवारीले बताइन्। उनका अनुसार बोन्डेड वेयरहाउस लाइसेन्स भएकाले शुन्य र लाइसेन्स नभएकाले १० प्रतिशत ‘ट्यारिफ’ तिर्नु पर्ने छ।
बङ्लादेशले एक्रेलिक धागोलाई मात्र निर्यात खुला गर्नुको कुनै औचित्य नभएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘अहिले बङ्गलादेशमा एक्रेलिक धागोको कुनै बजार छैन। यो खोलिदिए भनेजस्तो मात्र छ। यसको कुनै औचित्य छैन’, उनले भने।
बङ्गलादेशले धागो निर्यात खुला गर्नुको कुनै अर्थ नभएको धागो उत्पादक संघकाअध्यक्ष पवन गोल्यान पनि बताउँछन्। ‘१७ वर्षपछि धागो निर्यात खुलाउँदा पनि एक्रेलिक धागो मात्र खुलाएको छ। अरू धागो निर्यात नखुलेपछि खोल्नु र नखोल्नुको कुनै अर्थ छैन’, उनले भने।
उनका अनुसार अहिले बङ्गलादेशमा एक्रेलिक धागोको त्यति माग छैन। बङ्गलादेशको सामान सजिलै आउने तर हाम्रो सामान जान भने बङ्गलादेशले सधैं बाधा पु¥याउँदै आएको अध्यक्ष गोल्यानको भनाइ छ।
‘जबसम्म बङ्गलादेशका सामान आयातमा नेपालले अप्ठ्यारा परिस्थिति सिर्जना गर्न सक्दैन तबसम्म बङ्गलादेशले हाम्रो सामान निर्यातमा बाधा पु¥याउँछ’, उनले भने।
अहिले बङ्गलादेशले धागो निर्यातमा ‘नन ट्यारिफ ब्यारियर’ लगाएको छ। बङ्गलादेशले नेपाली प्रोडक्टमा कस्टम ड्युटी, सप्लिमेन्ट्री ड्युटी, इन्कम ट्क्यास, भ्यालुएडेड ट्याक्स, एडभान्स इन्कम ट्याक्स, रेगुलारिटी ड्युटी र एडभान्स ट्रेड भ्याट भनेर ६ प्रकारमा कर लगाउँदै आएको छ। तर नेपालले भने २ प्रकारका कर लगाउँदै आएको छ।