राष्ट्रपति विद्यादेवी भण्डारीले लगाउने ढाकाका साडी याद गर्नुभएको छ?
नभए फिल्म 'छक्कापञ्जा-३' का कलाकारले लगाएका रंगीबिरंगी ढाकाका लुगा त देख्नुभयो होला?
हाम्रो संस्कृतिलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउने गरी नेपाली परम्परागत कपडाका यी आकर्षक लुगा कसले डिजाइन गर्यो होला?
आज हामी तपाईंहरूलाई यी ढाकालाई कसका हातले सजाए भनेर चिनाउँदैछौं।
उनी हुन्, कल्पना योङहाङ लिम्बू।
‘सफल महिला उद्यमी’ भनेर चिनिएकी कल्पनाले नै राष्ट्रपति भण्डारीले लगाउने अधिकांश ढाकाका साडी डिजाइन् गरेकी हुन्। 'छक्कापञ्जा' फिल्ममा पनि कल्पनाकै कल्पनाले सिर्जिएका लुगा कलाकारले लगाएका हुन्।
'राष्ट्रपतिज्यूले त रक्षामन्त्री हुँदादेखि लगाउनुहुन्थ्यो,' कल्पनाले भनिन्, 'छक्कापञ्जाको टिमलाई पनि मैले नै डिजाइन गरेको हुँ।'
कल्पनाको बौद्धमा 'कल्पना ढाका बुटिक' छ। बुटिकमा परम्परागत दौरा सुरूवालदेखि आधुनिक डिजाइनका कपडा पाइन्छन्। फिल्मका कलाकारदेखि मिस नेपालसम्मका लागि उनी ढाकाका पहिरन डिजाइन गर्दै आएकी छन्।
देशभित्र मात्र होइन, विदेशमा पनि उनले बनाएका ढाकाका सामग्रीको माग छ।
५७ वर्षीया कल्पनालाई यो पहिचान पाउन सहज थिएन। पूर्व नेपालको गाउँमा जन्मेकी उनी राजधानी आएर 'सफल उद्यमी' बन्न धेरै मिहिनेत गरेको बताउँछिन्।
उनी २०१९ सालमा पाँचथरको थर्पु गाउँमा जन्मेकी हुन्। आमा जसरानी लिम्बू र बुबा सुभान सिंहकी साहिँली सन्तान। उनका आमाबुबा दुवै समाजसेवी थिए। राम्रै परिवारमा भएकाले उनको बाल्यकाल सुखी नै रह्यो। बुबा शिक्षक भएकाले कल्पनाले पढ्ने अवसर पनि पाइन्।
बुबाले पढाउने स्कुलमा प्रारम्भिक शिक्षा लिएकी कल्पनालाई धेरै पढ्ने रहर थियो। त्यो बेलाको समय र चलन बाधा बनिदियो। तेह्र वर्षको कलिलो उमेरमा उनको ताप्लेजुङका लाहुरे परिवारमा बिहे भयो। १५ वर्षमै पहिलो सन्तानकी आमा बनिन्। २२ वर्षमा दोस्रो सन्तान जन्मियो।
उनी केटाकेटीको हुर्काइमै व्यस्त भइन्। धेरै पढ्ने सपना अब छोराछोरीका निम्ति देख्न थालिन्। उनलाई आमाबुबाजस्तै समाजसेवी बन्ने मन थियो। यो सपना पनि पूरा हुने छाँट थिएन।
छोराछोरी पढाउने सिलसिलामा २०४४/४५ सालतिर उनी मोरङ झरिन्। मोरङमा सानोतिनो व्यवसाय थालिन्। सन्तान हुर्कँदै गएपछि सानोतिनो कमाइले पुग्न छाड्यो। मोरङमा गुजारा कठिन बनेपछि २०५० सालमा काठमाडौं आइन्।
'सुखसयलमा बाल्यकाल बितेको थियो। कलिलै उमेरमा अभिभावकत्व भूमिका खेल्न सहज थिएन,' उनले भनिन्, 'तै मैले हिम्मत हारिनँ।'
उनले काठमाडौं आएर सुरूमा खासाबाट सामान ल्याएर व्यापार गरिन्। फर्निचर पनि खोलिन्। पाकिस्तानबाट छालाको ज्याकेट ल्याएर बेचिन्। उनलाई यी कामबाट खान-लाउनसम्म पुगेको थियो।
'जीविका चलाउन पुगे पनि मलाई बेग्लै काम गर्ने मन थियो,' उनले भनिन्, 'आफ्नै समुदायमा भएको कुनै चिजमा काम गर्ने सोच आयो। हामी लिम्बूहरूको परम्परागत पेसा ढाका हो। मैले छालाभन्दा यसैमा काम गर्ने निधो गरेँ।'
उनले ढाका बुनेर बेच्ने योजना बनाइन्। उनका अनुसार प्रायः सबैजसो लिम्बूका घरमा तान हुन्थ्यो। उनको घरमा पनि थियो। तान बुन्न घर हुँदै सिकेकी थिइन्। सिपको समस्या थिएन। लगानीमा थियो। दैनिक गुजारा चल्दै आएका दिनमा व्यवसायै थाल्ने गरी उनीसँग पैसा थिएन।
‘तर म पछि हटिनँ,' उनले भनिन्, 'इच्छा भए उपाय कति कति। सहकारीबाट १५ हजार रूपैयाँ ऋण झिकेँ।'
पैसा जुटेपछि अर्को समस्या आइलाग्यो। कम्पनी कहाँ गएर दर्ता गर्ने, धागो कहाँ किन्ने लगायत केही जानकारी उनलाई थिएन।
‘सुरूमा अलमल परेँ। कहाँ, कसरी दर्ता गर्ने, चाहिने सामान कहाँ किन्ने। तै अरू मान्छेलाई सोधखोज गरेरै पत्ता लगाएँ,' उनले भनिन्।
२०६४ सालमा उनले साना तथा घरेलु उद्योगअन्तर्गत ‘द हाइल्यान्ड आर्ट’ नामको कम्पनी दर्ता गरिन्। त्यही बेला सिटिइभिटीमा 'टेक्सटायल' सम्बन्धी अध्ययन पनि सुरू गरेको उनले बताइन्।
‘मलाई यो पेसा व्यावसायिक रूपमै लैजान मन थियो। त्यसैले सिटिइभिटीमा पढ्न थालेँ,' उनले भनिन्।
लगत्तै उनले जोरपाटीमा कपडा बुन्ने कारखाना खोलिन्।
एक त द्वन्द्वकालको समय। भएका कलकारखाना, उद्योगधन्दा बन्द हुँदै थिए। उनी भने नयाँ उद्योग चलाउँदै थिइन्। यो आफैंमा चुनौती थियो। कारखानामा एउटा तान राखेर उनले आफैं कपडा बुनिन्। कपडा त बुनियो, कसरी, कहाँ लगेर बेच्ने?
‘कपडा बुन्ने सिप भए पनि कुन धागोले के बुन्ने थाहा थिएन। न व्यापारकै सिप थियो,’ उनले भनिन्, 'व्यापारिक सिप नहुँदा सुरूमा धेरै गाह्रो भयो।’
व्यापार गर्न बजार चिन्नुपर्छ। उनलाई यो काम निकै कठिन भयो। भोकतिर्खा नभनी खटिन्। कतै कार्यक्रम वा प्रदर्शनी भए आफूले बुनेका कपडा लगेर राख्न थालिन्। बेच्न राख्दैमा कसले किन्थ्यो र! धेरैपटक निराश भएर घर फर्केकी छन्।
यसरी पारा नचल्ने भएपछि उनले कुनै संस्थाको सहयोगमा बेच्ने योजना बनाइन्। एक अनाथालयको आजीवन सदस्य थिइन्। त्यही संस्थामार्फत् बेच्न थालिन्।
‘अनाथालयमा विदेशी आउने भएकाले मैले उनीहरूलाई सामान बेच्न लगाएँ। त्यसबापत् म उनीहरूलाई केही रकम दिन्थेँ,’ उनले भनिन्।
विस्तारै उनले बजार चिन्दै गइन्। बाटो पहिल्याउँदै गइन्। फेसन शोहरूमा आफ्ना कपडा देखाउन थालिन्। बुटवल, धनगढी, पोखरा, काठमाडौं, भक्तपुर लगायत ४० जति ठाउँमा फेसन शो गरिन्।
'त्यसपछि पछाडि फर्केर हेर्नुपरेन,' उनले भनिन्, 'विदेशबाट माग आउन थाल्यो। म आफैं कपडा पुर्याउन क्यानडा, जापान, अमेरिका लगायत धेरै एसियाली र युरोपेली देश पुगेँ। अहिले त दाबीका साथ भन्छु, जति देशमा नेपाली बस्छन्, त्यति नै देशमा मेरो सामान पुगेको छ।'
उनले अमेरिकाकी एक जना डिजाइनरसँग 'कलर म्याचिङ' बारे सिकेकी छिन्। यो सिकाइले व्यापार अझ सहज भएको उनले बताइन्।
‘अमेरिकाकी ती डिजाइनरले मलाई ठाउँअनुसार मान्छेले मनपराउने रङबारे बुझाइदिइन्,' उनले भनिन्, 'जस्तो तराईबासीले चहकिला रङ मनपराउँछन्। अमेरिकातिर हो भने अलि फिक्का। यो ज्ञानले मलाई व्यवसायमा निखारिन सघाएको छ।'
जोरपाटीको कुनामा एउटा तानबाट सुरू भएको उनको कम्पनी अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग जोडिएको छ। टिसासँग मिलेर उनले ढाका व्यवसाय फैलाएकी छन्। बौद्धको बुटिकको शाखा पोखरामा पनि खोल्ने तयारीमा छन्।
१५ हजार रूपैयाँ ऋण काढेर सुरू गरेको व्यवसायमा साढे ४ करोड लगानी भएको उनले बताइन्। अहिले कारखाना गोकर्णमा छ। त्यहाँ २ सय तान छन्। दुई सयभन्दा बढीलाई उनले रोजगारी दिएकी छन्। एकल र बेचिएर फर्केका महिलालाई कल्पनाले प्राथमिकता दिएको बताइन्।
उनी तान बुन्ने तालिम पनि दिन्छिन्। उनका अनुसार अहिलेसम्म करिब तीन हजार जनालाई तालिम दिइसकिन्।
उमेर ६० निकट लाग्दै गर्दा पनि उनी काममै व्यस्त हुन्छिन्।
'साँझपख चाहिँ एक घन्टाजति सोचेर बस्छु,' कल्पनाले भनिन्, 'बजारमा कस्ता लुगा आए, अहिलेका ग्राहकको रोजाइ कस्तो छ भनेर कल्पना गर्छु। त्यही कल्पनामा देखिएअनुसार लुगा तयार गर्छु।'
युवा पुस्ताको रोजाइ लेहेंगा-चोली, वानपिस, कोट, साडीदेखि जुत्ता चप्पलसम्ममा उनी ढाकाको डिजाइन दिन्छिन्। उनको बुटिकमा ३५ हजार रूपैयाँसम्म पर्ने ढाका डिजाइनका सामान छन्।
एउटा कपडा तयार गर्न डिजाइन हेरेर ५ देखि १० दिनसम्म लाग्ने उनले बताइन्। डिजाइन गर्ने काम हातैले गरिने भएकाले समय लाग्ने उनी बताउँछिन्।
'बजारमा विभिन्न किसिमका ढाका छन्। हातले बुनेको ढाकामा नझुक्किनुहोला,' उनले भनिन्, 'हातले बुनेको ढाकामा धागो छुट्टिन्छ। मेसिनले बुनेकोमा छुट्टिँदैन। हेरेर किन्नुहोस् भन्छु म।'
कल्पनाले व्यवसायको यात्रा मात्र होइन, आफ्नो अध्ययन र सपनाको यात्रा पनि तय गरिसकेकी छन्।
'सिटिइभिटीमा पढेको टेक्सटायलसम्बन्धी विषयमा भर्खरै 'इञ्जिनियरिङ' सकेँ,' उनले भनिन्, 'अहिले समाजसेवा पनि गर्दैछु। सानैदेखिको सपना पूरा गर्नुपर्यो नि।'
एक दर्जन अनाथ केटाकेटीलाई पढाउँदै आएको उनले बताइन्।
अब उनको अर्को सपना छ- टेक्सटायलसम्बन्धी स्कुल खोल्ने र ढाकासम्बन्धी किताब लेख्ने। उनी किताबको तयारीमा लागिसकेकी छन्।
‘मैले यही पेसामा १४ वर्ष बिताएँ। दुखजिलो गरेर भए पनि यो ठाउँसम्म आइपुगेँ। अब बाँचुञ्जेल यही क्षेत्रमा काम गर्छु,' उनले भनिन्।