नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली कागजको गुणस्तर मापदण्ड निर्धारण गरेको छ।
नेपाली कागजमा विभिन्न समस्या आएपछि गुणस्तर मापदण्ड निर्धारण गरिएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले बताए।
‘लेखिएका अक्षर फुल्ने र विस्तारै मेटिँदै जाने भएपछि हामीले यसको गुणस्तर मापदण्ड निर्धारण गरेका हौँ’, उनले भने।उनका अनुसार यो मापदण्ड लोक्ताबाट बन्ने नेपाली कागजका लागि मात्र हो। यो मापदण्ड पुरा गर्ने नेपाली कागजलाई नेपाल गुणस्तर चिन्ह (एनएस) दिइने छ।
‘लोक्ताबाट बनेका नेपाली कागज धेरै समयसम्म राख्न सकिने भएकाले यसको गुणस्तर मापदण्ड निर्धारण गरेका हौँ’, उनले भने।
नेपाली कागजको गुणस्तरमा उत्पादनको प्रक्रिया देखि बेच्ने प्रक्रियासम्मको मापदण्ड निर्धारण गरिएको उनले बताए।उनका अनुसार पहिले नेपाली कागजको गुणस्तर मापदण्ड निर्धारणमा विशेषगरि साइजको कुरा मात्र उल्लेख गरिएको थियो।
नेपाली कागज लोक्ताबाट बन्ने भएपनि पछिल्लो समय अर्गेलो, बाँस, बाबियोबाट पनि बन्न थालेपछि कागजमा विभिन्न खालका समस्या आउन थालेको उनको भनाइ छ।
विशेषगरी अदालत, लेखा, मालपोत कार्यालयमा अभिलेखको लागि नेपाली कागजको निकै प्रयोग हुने गर्छ।
अदालतमा भएका नेपाली कागजमा लेखिएका अक्षरहरू विस्तारै मेटिँदै गएपछि अदालतले नेपाली कागजको मापदण्ड निर्धारण गर्न आदेश दिएको गुणस्तर शाखा प्रमुख अनिल शाक्यले बताए।
उनका अनुसार कागज बाक्लो र पातलोको आधारमा पाँच तहमा नेपाली कागजको गुणस्तर मापदण्ड निर्धारण गरिएको छ।
मापदण्डअनुसार ग्रेड एको लागि २६, ग्रेड बीको ३६, ग्रेड सीको ५६, ग्रेड डीको ७२ र ग्रेड ईको ९६ ग्राम पर स्क्वायर मिटर (जिएसएम) हुनुपर्ने छ।
कागजमा मसी नफुलोस भनेर यसको पिच भ्यालु ६.५ देखि ८.५ तोकिएको छ। कागजको मोटोपन बाक्लो पातलो दुवै २० माइक्रोनसम्म हुन पर्ने छ।
नेपाल गुणस्तर चिन्ह लिन वा विदेश निर्यात गर्न प्याकेजिङ गर्दा कागजको साइज, जिएसएम, सिट नम्बर, उत्पादन मिति, तौल, उत्पादन लट उल्लेख गर्नुपर्नेछ।
बनाइएको कच्चा पदार्थ (लोक्ता, बाँस, अर्गेलो, बाबियो) पनि स्पष्ट रुपमा उल्लेख गरी लेवल टाँस गर्नुपर्नेछ।कालो मसीले लेख्दा ‘डिस्कलर’ हुन नहुने मापदण्डमा उल्लेख गरिएको छ।
नेपाली कागज लोक्ताको (परालको जस्तो) रङको हुनुपर्ने छ।नेपाली कागजको ब्राइटनेस भ्यालु ४८ प्रतिशत हुन पर्ने छ।
विभाग, हाते कागज उद्योग सङघ, उद्योग वाणिज्य महासंघ, भन्सार विभाग, उद्योग मन्त्रालय र विज्ञहरूको छलफलबाट नेपाली कागजको गुणस्तर मापदण्ड निर्धारण गरिएको शाक्यले बताए।
लोक्ताबाट बन्ने नेपाली कागजको गुणस्तर मापदण्ड निर्धारण भएपछि विदेश निर्यात गर्न सहज हुने विभागको दावी छ। अहिले नेपाली कागजको माग जापान लगायतका मुलुकमा हुँदै आएको छ।