उद्योग दर्तादेखि लगानी झिक्नेसम्मको सेवा एकै थलोबाट दिने गरि आजबाट एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आउने भएको छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सो केन्द्रको उद्घाटन गर्ने उद्योग विभागले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले एकल विन्दु सेवा जेठ १ देखि सञ्चालनमा ल्याउने बताएकी थिइन्।
उद्योग विभागको परिसर भित्र नयाँ बनेको ४ तले भवनको भुइँतलामा एकल विन्दु सेवा रहने छ। एकल विन्दु सेवाले उद्योग विभागलाई धेरै सहज हुने महानिर्देशक विनोद प्रकाश सिंहले बताए।
‘उद्योग विभागमा उद्योग दर्ता हुने भए पनि सबै काम यहाँबाट हुँदैनथ्यो। उद्योगीलाई कागजपत्र लिएर ठाउँ ठाउँ धाउनु पर्थ्यो। अब एकद्वार सेवा प्रणालीले उद्योगीले भोग्नु परेको झन्झटिला समस्यालाई समाधान गर्छ’ उनले भने।
उनका अनुसार अब केन्द्रबाट नभएका काम त्यही निकायका कर्मचारीले मन्त्रालय पु¥याएर ल्याउने छन्। उद्योगी आफू कतै जानुपर्ने अवस्था रहने छैन।
सम्पुर्ण कागजपत्र पुगेको अवस्थामा ७ दिन भित्रमा उद्योग दर्ता हुने औद्योगिक व्यवसाय ऐनले व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार उद्योग दर्ता हुनेछ।
उद्योगीलाई भिषा लिन अध्यागमन विभाग, हकवन्दी भन्दा बढी जग्गा चाहिएमा भूमी सुधार, वातावरणीय प्रभाव मूल्याङकन गर्न वन मन्त्रालय, विदेशी ल्याएर काम गर्नलाई श्रम मन्त्रालय, विदेशबाट पैसा ल्याउन परेमा राष्ट्र बैङ्क धाउनुपर्ने बाध्यता रहँदै आएकोमा एकल विन्दु सेवा केन्द्रले यस्ता सबै समस्या एकै ठाउँबाट समाधान गर्ने विभागका महानिर्देशक सिंह बताउँछन्।
उनका अनुसार एकल विन्दु सेवा केन्द्र भित्र जग्गा सहजीकरण, पूर्वाधार, विदेशी विनिमय सहजीकरण, भिषा सहजीकरण, प्रशासन तथा कानूनी, वातावरण, उद्योग दर्ता र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण इकाई हुनेछ।
एकल विन्दु सेवा केन्द्रले उद्योग दर्ता गर्नु अगाडिका कामदेखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालन प्रक्रिया र उद्योग बन्द भई लगानी झिक्नुपर्ने अवस्थासम्मका सबै सरकारी सेवा, सुविधा र सहुलियत एकै ठाउँबाट दिनेछ।
एकल विन्दु सेवा केन्द्रबाट उद्योगका लागि सम्बद्ध मन्त्रालयहरु वन तथा वातावरण, भूमी व्यवस्था तथा गरिवी निवारण, भौतिक यातायात तथा पूर्वाधार, ऊर्जा तथा जलस्रोत, श्रम रोजगार तथा सामाजिक सुरक्षाका कामहरु हुने छन्।
त्यस्तै भन्सार विभाग, आन्तरिक राजस्व, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण, अध्यागमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैङ्क र उद्योग विभागबाट लिइँदै आएको सबै सेवा केन्द्रबाट लिन सकिने भएको छ।
ती विभागका उपसचिवस्तरको एक–एक प्रतिनिधि एकल विन्दु सेवामा रहने छन्। राष्ट्र बैङ्क, अध्यागमन विभाग, भूमी सुधारबाट कर्मचारीको नामावली आइसकेको विभागले जानकारी दिएको छ। बुधबार बिहान सम्ममा सम्पुर्ण निकायका कर्मचारीको नामावली आइसक्ने महानिर्देशक सिंहले बताए।
यो केन्द्रबाट साना तथा घरेलुदेखि ठूला उद्योग सम्मको काम हुनेछन्। सेवा केन्द्रमा उद्योग विभागका महानिर्देशक प्रमुख हुने गरी १३ निकायका २४ जना कर्मचारी रहने कार्यविधिमा व्यवस्था गरिएको छ।
एकल सेवा विन्दुको अवधारणा नहुँदा उद्योगीले उद्योग सञ्चालन गर्न पुर्याउनु पर्ने प्रक्रियाका लागि ६/७ वटा निकाय धाउनु पथ्र्यो। तर यसको स्थापना पछि औद्योगीकरणमा सहजीकरण हुने सरोकारवाला बताउँछन्।
उद्योगलाई सहजीकरण गर्न ल्याइएको एकल विन्दु सेवा अवधारणाले स्वदेशी तथा विदेशी दुवै लगानी आकर्षित हुने अर्थशास्त्री चन्द्रमणी अधिकारीको भनाइ छ।
‘नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न प्रक्रिया नै झन्झटिलो थियो। यस सेवाले उद्योगीलाई उद्योग सञ्चालन गर्न सहज हुनेछ’ उनले भने।
तस्वीर: निशा भण्डारी/ सेतोपाटी