सरकारले पश्मिना प्रवर्द्धनमा लगानी नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन्। पश्मिना उद्योगमा राज्यले लगानी नगरेको भन्दै व्यवसायीले दुखेसो पोखेका हुन्।
सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५/०७६ को १० महिनामा करिब साढे २ अर्ब बराबरको पश्मिना विभिन्न देशमा निर्यात भएको छ।
यो गत आव २०७४/०५ को सो अवधिमा सोही बराबरकै पश्मिना निर्यात भएको विभागको तथ्यांक छ।
पश्मिना निर्यातको १ प्रतिशत सरकारले यसको प्रवर्द्धनमा छुट्याउने हो भने निर्यात तीन गुणा बढ्ने सङ्घका अध्यक्ष दुर्गा विक्रम थापाले बताए।
‘अहिले ३ अर्बको हाराहारीमा पश्मिना निर्यात भइरहेको छ। सरकारले ५ वर्षसम्म निर्यातको १ प्रतिशतसम्म पश्मिना प्रवर्द्धन तथा विकासमा छुट्याउने हो भने तीन गुणा निर्यात बढाउन सक्छौं,’ उनले भने।
सरकारले निर्यातको १ प्रतिशत रकम प्रवर्द्धनमा छुट्याए व्यवसायीबाट पनि १ प्रतिशत छुट्याइने उनी बताउँछन्।
उनका अनुसार व्यवसायीहरूले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा निर्यातको १ प्रतिशत रकम विनियोजन गर्न सरकारलाई आग्रह गरेका छन्।
‘हामीले आगामी वर्षको बजेटमा सरकारलाई पश्मिना निर्यातको १ प्रतिशत छुट्याउन आग्रह गरेका छौं’, उनले भने, ‘हामीलाई नगद दिने भनेका होइनौं, रकम छुट्याएर प्रवर्द्धनमा खर्च गरौं भनेका हौं, हेरौं बजेट कस्तो आउँछ।’
पश्मिनालाई आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ धागो हो।
उनका अनुसार अहिले नेपाली पश्मिना उद्योगलाई वार्षिक १ लाख ५० टन धागो आवश्यक पर्छ। सो कच्चा पदार्थ १५ टन जति नेपालमै उत्पादन हुन्छ। त्यसलाई प्रशोधन गर्ने हो भने ५ टन जति धागो नेपालमै उत्पादन गर्न सकिने उनी बताउँछन्।
उनका अनुसार नेपाली कच्चा पदार्थलाई प्रशोधन गर्ने मेशिन प्रोसेसिङ प्लान्ट राख्न सरकारलाई आग्रह गरिएको छ।
अब पश्मिना उद्योगको विकासमा सरकार र उद्योगी दुवै नलागे नेपाली पश्मिना हराउँदै जाने संघका पूर्वअध्यक्ष पुष्पमान श्रेष्ठले बताए।
पश्मिना उद्योगको विकासमा सरकार र उद्योगी दुवैको भूमिका उत्तिकै हुने उनको भनाइ छ।
‘पश्मिनाको विकास हुन नसक्नुमा उद्योगीहरू आफैंले पनि कर्मचारीलाई तालिम दिन नसक्नु एक प्रमुख समस्या हो,’ उनले भने, ‘जबसम्म पश्मिनाको नयाँ उत्पादन आउँदैन तबसम्म यसको निर्यात बढ्न सक्दैन।’
डिजाइनरको अभावले गर्दा पश्मिनाको नयाँ उत्पादन आउन नसकेको उनी बताउँछन्।
‘डिजाइनर धेरै महँगो पर्छ। त्यो उद्योगीले मात्र ल्याउन सक्दैनन्, यसमा सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने।
पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जा, मोजालगायत कपडा उत्पादन हुँदै आएको छ।
नेपालको सदियौं पुरानो पेशा पश्मिनाले आजभन्दा ५० वर्षअघि उद्योगको रूप लियो। १९९५ देखि पश्मिना व्यवसायको रूपमा विश्वभर फैलिँदै आएको छ।
मनाङ, मुस्ताङ र डोल्पा हिमाली भेगतिर उत्पादन गरिएको च्याङ्ग्राको भुवाँबाट पश्मिनाको उत्पादन सुरू भएको हो। पश्मिनाले व्यवसायिक रूप लिएपछि नेपालमा कच्चा पदार्थको अभाव भएपछि इनर मंगोलिया, मंगोलियाबाट पश्मिनाको लागि आवश्यक कच्चा पदार्थ धागो र भुवाँ आउने गरेको व्यवसायीहरू बताउँछन्।
नेपाली पश्मिना उपहारको रूपमा विश्वभर पुगे पनि व्यवसायिक रूपमा ४७ मुलुकमा जाने गर्दछ।
यो हलुका, मुलायम, कन्ट्रास्ट कलर र न्यानो हुनाले संसारभर यसको लोकप्रियता बढेको छ।
यो व्यवसायमा थोरैमा ८ लाखदेखि बढीमा १५/२० लाखसम्मको लगानी हुन्छ। यसबाट २८ देखि ३० हजारको हाराहारीमा रोजगार छन्। त्यसको ६० प्रतिशत महिलाले ओगटेका छन्।
अहिले साढे तीनदेखि चार सय जति मानिसहरू यस व्यवसायमा सम्लग्न छन्।
नेपालमा हाते तान(ह्याण्ड लुम) र पावर लुम (मेसिन) दुई तरिकाबाट पश्मिना बनाइन्छ।