भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउन अझै केही महिना लाग्ने भएको छ। जेठसम्ममा सबै काम सकेर असारमा पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य भए पनि प्राविधिक काम सक्न समय लाग्ने भएकाले असारमै ल्याउन नसकिने पाइपलाइन परियोजनाका इन्जिनियर विज्ञ सरद प्रसाद पौडेलले बताए।
उनका अनुसार पाइप विच्छ्याउने काम भने सकिएको छ। विच्छ्याउने काम सकिए पनि पाइप ज्वाइन्टको काम भने बाँकी छ। ‘हजार/बाह्र सय मिटरको पाइप विच्छ्याइएको हुन्छ। त्यस्ता पाइपको मुख जोड्न बाँकी छ’, उनले भने, ‘त्यो काम सकिन ८ देखि १० दिन लाग्ने छ।’
पाइपलाइन सम्बन्धी सूचनाका लागि अप्टिकल फाइबर जोड्ने काम पनि सँगै लगिएको छ। उनका ती काम सकिएपछि पाइप सफा गरी कति पेट्रोल पठाउने, कहाँ पठाउने, कुन–कुन खोल्ने भनेर कन्ट्रोल हाउसबाट पेट्रोल टेस्टिङको लागि पठाइने छ।
पेट्रोल टेस्टिङको काम सक्दा नै तीन महिना जानेछ। यस अघि असारको दोश्रो साता सम्ममा पेट्रोलियम पदार्थ ल्याउने भनिएपनि अब भदौ/असोज लाग्ने भएको छ।
अमलेखगन्ज डिपोमा पाइप लाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की तयार गरिएको छ। ती ट्याङ्की ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन्।
ती मध्ये तीन वटा ट्याङ्कीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको आपूर्ति वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्यायले बताए। पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।
यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ अर्ब अनुदान दिएको छ। नेपालका तर्फबाट ७५ करोड लगानी हुनेछ। नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको आयोजना अनुसार कुल ६९.५ किलोमिटर पाइपलाइनको लम्बाइमध्ये ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर नेपालमा पर्दछ।
मोतिहारी–रक्सौल खण्डमा भने पाइप लाइन पूरा भई परीक्षणसमेत भइसकेको छ। गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।