नेपाली ब्रान्ड
थरीथरीका परिकार खान र बनाउनमा सोखिन थिए उनी। समय पाउनेबित्तिकै भान्सातिर लम्किहाल्थे।
यही सोखलाई व्यवसायमा बदल्ने चाहनाले निभेन अमात्यले रेस्टुरेन्ट खोले। सन् २०१५ मा विदेशी शैलीमा खुलेको रेस्टुरेन्टको नाम भने हाम्रै समाजमा परिचित सालको पातबाट बन्ने भाडाँबाट दिइयो, बोता।
ममःका पारखी लक्षित 'बोता' अहिले लोकप्रिय ब्राण्ड बनेको छ।
'रेस्टुरेन्टको नाममा हाम्रो मौलिकता झल्कियोस् भन्ने चाहना थियो। त्यही अनुरूप बोता भेट्यौं,' ३५ वर्षीय निभेनले भने, 'नाम मात्र होइन, खानासँग पनि जोडियोस् भनेर बोतामै खानेकुरा दिने सोच बनायौं। यो सफा र कुहिने पनि भएकाले बोता नै रोज्यौं।'
उसो त निभेनलाई खाना व्यवसायको 'आइडिया' यसै फुरेको होइन। उनको परिवार नै व्यवसायी हुन्। तर परिवारमा कसैले नगरेको व्यवसाय गर्छु भन्ने उनको सपना थियो।
त्यो सपना थाती राख्दै निभेन अध्ययनका निम्ति सन् २००१ मा लन्डन पुगे। लन्डनबाटै 'इन्टरनेशनल बिजनेश' मा स्नातक सके। उताको बसाइक्रममा उनले नयाँ-नयाँ परिकार पनि चाखे।
'त्यहाँका मल्टिनेशनल रेस्टुरेन्ट देख्दा आफू पनि नेपाल गएर त्यस्तै व्यवसाय सुरू गर्छु भन्ने सोच्थेँ,' निभेनले भने।
उनका अनुसार म्याक डाउन, सिटी सेन्टर, डाउन–टाउन विश्वकै ठूला कम्पनीभित्र पर्छन्। यी कम्पनीको प्रायः सबै देशमा रेस्टुरेन्ट छन्। यसको मुख्य आकर्षण बर्गर हो। लन्डनमा वर्गरको 'चेन बिजनेश' नै थियो।
नेपालमा पनि त्यस्तै 'चेन बिजनेश' गर्ने योजना बनाएर उनी फर्किए। तर केको गर्ने? उनी अलमलमा थिए।
फर्किएपछि यहाँका विभिन्न रेस्टुरेन्टका परिकार चाख्दै हिँडे। कस्ता परिकार चलनचल्तीमा छन् भन्ने जान्न अनुभव संगाल्ने माध्यम पनि थियो।
यसैक्रममा निभेनले साथीहरूसँग मिलेर सानो रेस्टुरेन्ट खोल्ने योजना बनाए।
'त्यसबीचमा म रेस्टुरेन्ट खोलेपछि यस्तो–यस्तो परिकार बनाउँछु भनेर घरमै अभ्यास गर्न थालेँ,' उनले भने।
सन् २०१४ मा निभेन र उनका साथी मिलेर महाराजगञ्जमा 'भेरियन्ट डेरी' नामको क्याफे खोले। केही सहयोगी पनि राखे। ममः, चाउमिन, कफी, खाना, बर्गर, रोल लगायत परिकार त्यहाँ पाइन्थ्यो।
'थरीथरीका परिकार हुँदा पनि क्याफेमा आउने धेरैको रोजाइ ममः नै हुन्थ्यो। साना केटाकेटीदेखि वृद्धसम्मले रूचाएको देखेपछि मैले ममःलाई नै चेन बिजनेशको रूपमा लैजाने सोचेँ,' उनले भने।
चेन बिजनेश गर्ने उनको त्यो चाहना त्यो सानो क्याफेले पूरा गर्न सक्थेन।
साथीसँग मिलेर उनले योजना विस्तार गरे र बालुवाटरमा 'सेन्ट्रल किचेन' खोले। त्यहाँ विभिन्न प्रकारका ममः बनाउन अभ्यास गरे।
'मासु सफा र स्वस्थकर छ/छैन भनेर जाँच्न फुड टेक मेसिन पनि ल्यायौं,' उनले सुनाए, 'धेरै अभ्यासपछि जब 'फाइन प्रोडक्ट' निस्कियो, त्यसपछि हामी ममः रेस्टुरेन्ट खोल्न तयार भयौं।'
तर बोताको नामअनुसार काम गर्न चुनौती थियो। बोतामा ममः दिँदा अचार चुहिन सक्छ।
'राम्रो बोता कहाँ पाइन्छ भनेर गुगलमा खोज्न थालेँ। धेरै ठाउँमध्ये नवलपरासीको एउटा कम्पनीसँग कुरा भयो,' निभेनले भने, 'उताबाट बोताको नमूना आयो।'
सुरूमा पठाएको नमूना अलि पातलो भएकाले फेरि बाक्लो बनाइदिन उनीहरूले आग्रह गरे। त्यहीअनुरूप कम्पनीले बनाइदिएपछि सम्झौता भयो। यस्तै मैदा, मासु, बन्दा लगायत सबै आवश्यक सामग्रीका निम्ति पनि एक कम्पनीसँगै सम्झौता गरे।
ममः व्यवसायका लागि सबै सामग्री जुटेपछि उनीहरूले ललितपुरको कुमारीपाटी चोकमा 'बोता' रेस्टुरेन्ट खोले।
'सुरूमा बिक्री हुन्छ कि हुँदैन भनेर थोरै बनाएर ल्याएका थियौं। त्यो त आधा दिनमै सकियो,' उनले भने, 'त्यसपछि हामी झनै हौसियौं।'
रेस्टुरेन्टमा सुरूवाती चरणदेखि नै ५० थरी स्वादको ममः र ८ थरीको अचार 'बोता' मा राखेको उनी बताउँछन्। यहाँ मासु, बन्दादेखि पनिर, खुवासम्मका झोल, ओपन, फ्राइ लगायत ममः पाइन्छ। त्यस्तै रोल, फ्राइ राइस, ससेज, पकौडा, बिरयानी, नेवारी खाजा सेट, छोइला लगायत अरू धेरै परिकार पनि पाइन्छ।
निभेन भन्छन्, 'ममः विशेष भए पनि बोता पूर्ण रेस्टुरेन्ट हो।'
कुमारीपाटीमा सफल भएपछि बोताले कमलपोखरीमा शाखा विस्तार गरेको थियो। निभेनका अनुसार अहिले अनामनगर, पुल्चोक, झोछेँ, कालिमाटी, कौशलटार गरेर सात ठाउँमा छ। ती सबैमा करिब तीन सयले रोजगारी पाएका छन्। नयाँ कर्मचारी भर्ना गर्दा तालिम पनि दिइने उनले बताए।
त्यस्तै दुई महिनाभित्र सञ्चालनमा आइसक्ने गरी पेप्सीकोलामा नयाँ रेस्टुरेन्ट बन्दै गरेको र चितवन र पोखरामा पनि शाखा विस्तार योजना रहेको उनले जानकारी दिए।
'बोतालाई विदेशमा पनि फैलाएर नेपाली ब्रान्डका रूपमा चिनाउने योजना छ। मिहिनेत गरे कसो नहोला,' उनले भने।