नेपाली ब्रान्ड
बुढानिलकण्ठ, नारायणथान मन्दिरबाट ३ सय मिटरजति हिँडेपछि जस्तापाताले घेरिएको टहरो आउँछ। ढोकैबाट देखिन्छ, चिटिक्क झोलाहरू झुन्ड्याइएको। भित्र कोही सिलाइमा व्यस्त छन्, कोही पट्याउन।
यो 'फरेष्ट्री हेम्प ब्याग उद्योग' हो। यहाँ गाँजाका रेसाबाट विभिन्न प्रकारका झोला बनाइन्छ।
हामी यही उद्योगको एउटा सानो कोठामा पस्यौं जहाँ गणेश एडी थिए। उनी उद्योग मालिक हुन्। ल्यापटप चलाउँदै बसेका गणेशले फुर्सद हुनेबित्तिकै इन्टरनेटमार्फत झोला प्रचार गर्ने सुनाए।
'नजानेको कुरा खोज्नदेखि प्रचार गर्नसम्म इन्टरनेट सहयोगी भएको छ,' ४५ वर्षीय गणेशले भने।
केही महिनाअघि स्विटर बुन्ने उद्योग पनि खोलेको बताए। अहिले झोला, स्विटर र कपडा बनाउने तीन उद्योग छन्। टोपी, लुगा, पर्सदेखि जुत्ताचप्पलसम्म बनाउँछन्। यो व्यवसायबाट वर्षमा १ करोड ६० लाख रूपैयाँको सामान बाहिर पठाउने उनको भनाइ छ।
गणेश व्यवसायमा सफल छन्, उनको यहाँसम्मको यात्रा भने असफलताको सागरै हो। तै हार नमान्ने स्वाभावका उनले मिहिनेत कहिल्यै छाडेनन्।
बझाङ, तलकोट घर भएका गणेश मध्यम वर्गीय परिवारका हुन्। तीन दाजुभाइमध्येका कान्छा। कक्षा ६ पढ्दै गर्दा बिहे भयो। पारिवारिक र आर्थिक भार थपियो। कक्षा ९ मा 'ब्रेक' लगाउँदै उनी आर्थिक अवस्था सुधार्न भारत पसे।
यो २०४८ सालतिरको कुरा हो।
'गोवामा दुई वर्षसम्म विद्युतीय काम सिकेँ। पछि नेपालमै केही गरौं भन्ने लाग्यो,' उनले भने, 'आएर बझाङ, चैनपुरमा विद्युतीय सामानको पसल खोलेँ।'
उनले पसलबाट दुई वर्षमा करिब २ लाख कमाए। नेपाली हाते कागज उद्योग थाले।
'ऋण गरेर उद्योग खोलेँ। चार पुरुषलाई काम पनि दिएँ। उनीहरू कहिले आउने, कहिले नआउने। कहिले रक्सी खाएर टिल्ल भइदिने,' गणेशले आफ्नो हैरानी सुनाए।
'मस्टा घरेलु कागज उद्योग' बामे सर्दै थियो। यस्तैमा एक महिला काम खोज्दै आइन्। गणेशले राखिहाले।
'पुरुषभन्दा महिलाले जिम्मेवारीपूर्वक काम गरेको देखेपछि पुरुष कामदार हटाएर सबै महिलाहरू राखेँ,' उनले भने, '४५ जना थिए। उद्योग फस्टायो।'
तर बझाङमा नेपाली कागजको बजार थिएन। गणेश उत्पादित सामग्री बेच्न काठमाडौं धाउँथे। नेपाली कागजसँगै उनी गाउँमा भएको गाँजा रेसा र अल्लोका कपडा पनि बेच्न ल्याउँथे। ती सामान 'ह्यान्डी क्राफ्ट' पसलहरूले लिन्थे।
एकपटक वसन्तपुरमा मेला रहेछ। आफूले ल्याएको नेपाली कागज, गाँजा र अल्लोसहित उनी मेला हेर्न गए। त्यहाँ आएका एक विदेशीको नजर उनका सामानमा गएछ।
त्यहीबेला विदेशीले गणेशलाई सोधे, 'बेच्ने हो?'
'यो त महँगो छ,' उनले भने।
'कति?' विदेशीले सोधे।
'२ सय रुपैयाँ।'
गणेशले आफ्ना सामानको 'मूल्य' बुझेकै रहेनछन्। अन्तर्राष्ट्रिय बजारको मूल्य बुझेका विदेशीले उनलाई दुई सय अमेरिकी डलर थमाइदिए। मनी एक्सचेन्जमा पैसा साट्दा गणेशले १३ हजार रुपैयाँ पाए। उनी छक्कै परे।
'ओहो, दुइटा सामान बेच्दा १३ हजार! मलाई लोभ लाग्यो,' उनले भने, 'यसैको व्यवसाय गर्ने सोच पलायो।'
त्यतिबेलै 'हेम्प' उद्योग खोलिहाल्ने हिम्मत भने आएन। सोच एक कुनामा थन्कियो।
उनको कागज कारखाना खोलानजिकै थियो। माओवादी द्वन्द्वकालताका खोलावारि माओवादी बस्थे, खोलापारि सेना। एक दिन भिडन्त भयो, बम हानाहान। बम उनको कारखानामै खस्यो।
'कारखाना ध्वस्त भयो। १३ लाखको क्षति र कामदारको बिचल्ली,' उनले भने, 'दुई वर्षमै कागज व्यवसाय रोकियो।'
यसपछि उनले ट्रक किनेर सामान ओसारपसार गर्न थाले। यो क्षेत्रबारे धेरै जानकारी नभएकाले होला घाटा हुँदै गयो। गणेशका अनुसार ११ लाख ऋण थुप्रियो। गाउँबाटै भाग्नुपर्ने अवस्था आएपछि उनी घरपरिवारसँग सल्लाह गरेर १ सय २० रूपैयाँ लिए। दैलेख गए। एउटा समुदायमा जडिबुटीको काम गरे। त्यहाँ महिनामा १५ हजार कमाउँथे।
'कमाइले खर्च, ब्याज सबै धानेर ऋण तिर्न सक्ने अवस्था भएन,' उनले भने, 'एक वर्षपछि ०६० सालमा काठमाडौं आए। पाटन औद्योगिक क्षेत्रमा काम थालेँ।'
गणेशले त्यहाँ पनि खासै कमाउन सकेनन्। अर्काको काम गरेर ऋण तिर्न सकिन्न भन्ने उनले बुझेका थिए। जसोतसो जम्मा गरेको ८ हजार रुपैयाँले उनले अर्को व्यवसाय थाल्ने योजना बुने।
भारत हुँदा उनले 'ल्याम्प सेट' बनाउन सिकेका रहेछन्। त्यही सीप सदुपयोग गर्दै उनले ठमेलमा व्यवसाय थाले।
'सुरूमा राम्रै फाइदा भयो। चार लाख जति ऋण पनि तिरिसकेको थिएँ। पछि त्यो पनि चल्न छाड्यो। एक लाखमा कारखाना बेचिदिएँ,' उनले भने।
गणेश हार मान्ने खाले थिएनन्। परिश्रम नगरी बाँचिन्न भन्ने बुझेका थिए। घट्टेकुलोमा दुइटा तान राखेर गाँजाका रेसाबाट कपडा बुन्न थाले। दुई जनाबाट सुरू गरेको व्यवसाय विस्तार गर्दै उत्पादन बढाउँदै लगे। उनी आफैं बेलुकी अबेरसम्म खट्थे।
घट्टेकुलोमा भाडामै धेरै पैसा जान्थ्यो। नारायणथानमा जग्गा भाडा लिएर टहरा बनाए। उद्योग सारे र जान्ने मान्छे राखेर झोला सिलाउने उद्योग खोले- फरेष्ट्री हेम्प ब्याग उद्योग।
उद्योग खोलेको दुई वर्षपछि भुइँचालो आयो। कारखाना भत्कियो, मेशिन पनि च्यापियो। महिनादिन काम ठप्पै भयो। च्यापिएका सामान निकाले तर सबै कामै नलाग्ने थिए। कबाडीको भाउमा बेच्नुपर्यो।
भुइँचालोले भत्काएको उद्योगलाई जर्मनीको 'आकार' नामक एनजिओले दुई लाख रुपैयाँ सहयोग गर्यो। उनले फेरि जस्तापाताले घेरेर कारखाना बनाए।
'३३ लाख खर्चेर दस वटा सेकेण्ड ह्याण्ड मेसिन भारतबाट ल्याएँ,' उनले भने।
जर्मनीको त्यही संस्थाले गणेशलाई इन्टरनेट चलाउन सिकाएर व्यापार प्रचार गर्ने 'आइडिया' दियो।
'कम्पनीले सानो ल्यापटप दिएर चलाउन पनि सिकायो। फेसबुक बनाउनदेखि वेबसाइटसम्म खोल्न लगायो,' उनले भने, 'अहिले फेसबुकमा लोकेसन हेरेर स्वदेशी-विदेशीहरू सामान किन्न आउँछन्।'
इन्टरनेटमा १ सय ७५ जना अन्तर्राष्ट्रिय खरिदकर्ता रहेको उनी बताउँछन्।
गणेशले तीस जनाभन्दा बढी महिलालाई रोजगारी दिएका छन्। गाँजाको रेसाको धागो ल्याउन गाउँमा गणेशको छुट्टै समूह छ। ३५ जिल्लाबाट धागो रोल आउँछ। झोलाको भित्री स्वदेशी कपडा उद्योगहरूबाट लिन्छन्। जिपर चीनबाट आउँछ।
'म व्यवसायमा धेरै चोटि लडेँ, तर हारिनँ। मिहिनेत गर्न छाड्नुहुन्न। एक दिन सफलता मिल्ने रहेछ। हेर्नुन, उद्योगी भएको छु,' छुट्टिने बेला उनले हाँस्दै भने। उनका आँखा भने ल्यापटप स्क्रिनतिरै थिए।