यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ। एयरलाइन्सले साउन १६ गतेदेखि पोखरा–भैरहवा र भदौ १५ गते देखि पोखरा–भरतपुर उडान गर्ने भएको सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए।
उनले भदौ २९ गते देखि माउन्टेन फ्लाइटको उडान भर्ने बताए। पोखरामा पर्यटकीय सिजन सुरु भएसँगै माउन्टेन फ्लाइट सुरु हुने उनको भनाई छ। ३० सिटर जेट स्टिम जहाजबाट उडान भर्ने उनले जानकारी दिए।
‘पोखरा पर्यटकीय शहर हो,’ उनले भने ‘पर्यटकलाई पोखराबाट चितवन, भैरहवा र माउन्टेन फ्लाइटमा सहज होस् भनेर सेवा शुरु गर्न लागेका हौं।’ पोखराबाट अन्नपूर्ण हिमश्रृंखलाका लागि माउन्टेन फ्लाइट हुन्छ । पोखरा–भैरहवा र पोखरा–भरतपुरको उडान समय औसत २०—२५ मिनेटको हो।
पोखराबाट काठमाडौं, मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा उडान हुँदै आएको छ। यसअघि बुद्ध एयरले पोखराबाट भैरहवा र भरतपुरमा दैनिक एक उडान गर्दै आएको छ। बुद्धले १९ सिट क्षमताको सानो जहाजबाट उडान भर्दै आएको छ।