यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ।
पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ।
एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए।
त्यसैगरी, पोखराबाट नेपालगञ्जका लागि चार्टर्ड फ्लाइट सेवा पनि सुरू गर्ने उनले बताए।
२० मिनेटमा उडानमार्फत् पोखरा र भैरहवालाई जोडिनेछ। यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट गर्ने उनले बताए। माउन्टेन फ्लाइटमार्फत् पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरीजस्ता हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्। पोखरा-भैरहवा उडानका लागि २ हजार ७ सयदेखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तै, पोखरा-भरतपुरका लागि २ हजार ५ सयदेखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका वरिष्ठ प्रबन्ध निर्देशक भीमराज राईले जानकारी दिए।
उनले ३० सिटर जेट स्ट्रिमबाट सेवा दिने बताए।
माउण्टेन फ्लाइट बिहान ७ बजे, पोखराबाट भैरहवा बिहान साढे ९ बजे र भरतपुर बिहान १० बजेर ५० मिनेटमा उडान गरिने उनले जनाए।
पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि सहज होस् भन्दै बुद्ध एयरले १ बजेदेखी उडान गर्दै आएकोमा यतीले समेत सेवा थप गरेपछि पर्यटकको लागि सहज हुने व्यवसायीको भनाइ छ।
सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाई सेवा दिँदै आएको छ।
यतीको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन अटर र २ वटा डोर्नियर डिओ २२८ मार्फत् जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ।