खसी, कुखुरा तथा राँगासँगै नेपालमा मासुको बिकल्प थपिएको छ। पहिले ‘सोख’का लागि पालिने खरायो अहिले व्यावसायिक पालन हुने गरेको छ। यसको बजार पनि विस्तार हुँदै गएको छ।
धादिङ घर भएका उज्ज्वल चापागाइँ खरायो पालनमा व्यस्त छन्। उनले धादिङ जिल्लाको पिपलामोड भन्ने ठाउँमा फार्म सञ्चालन गरेका छन्। फार्मको नाम हो ‘हिमालयन र्याविट फार्म’।
फार्ममा खरायोको व्यवसायिकरुपमा पालन भइरहेको छ। ७ सय खरायो छन्। मासुका लागि काठमाडौंका होटलहरूमा जाने गरेको उनी बताउँछन्। आफूमात्र खरायो पाल्दैनन्। उनले किसानलाई पनि खरायो पाल्न लगाएका छन्।
विभिन्न जिल्लाका २ सय किसानले पालेका खरायो पनि आफूले नै सङ्कलन गरेर बिक्री वितरण गर्ने गरेको उनी बताउँछन्।
खसी, कुखुराको मासु भन्दा पनि खरायोको मासु स्वस्थकर रहने उनको भनाइ छ।
‘उमेर ढल्केपछि रेड मिटले स्वास्थ्यलाई असर गर्छ। खरायको मासु ह्वाइट हुने हुनाले स्वास्थ्यका लागि राम्रो हुन्छ’, उनले भने।
खरायो पालन व्यवसाय राम्रो आम्दानीको स्रोत बन्ने उनको अनुभव छ। नेपालमा खरायोको मासु आम प्रचलनमा छैन। युरोपीयन देशमा भने खरायोको मासु खाने प्रचलन छ।
त्यसैले युरोपीयन पर्यटक बस्ने होटलबाट नै बिक्री शुरु गरेको उनी बताउछन्।
उनका अनुसार अहिले नेपाली रेष्टुरेन्टमा पनि खरायको मासु बिक्री हुन्छ। भेटघाट, मेरियट, युनिभर्सल क्याफे, क्वालिटी क्याफे लगायतमा रेष्टुरेन्टमा खरायोको मासु पाइन्छ।
पाटीफुरिया कृषि सहकारीका अध्यक्ष लक्ष्मण हुमागाई होटलमा मात्र नभई स्थानीय बजारमा पनि खरायोको मासु खाने प्रचलन बढेको बताउँछन्।
‘कसैले खसी काट्यो भने मलाई १ केजी, मलाई आधा केजी भन्ने गरे जस्तै अहिले खरायो काट्दा पनि त्यसै भन्नेको भिड हुन्छ’, उनले भने, ‘होटलहरूलाई दिनै पुग्दैन।’
उनका अुनुसार कुशादेवीमा खरायो काट्न बधशाला स्थापना गरिएको छ। सहकारीले १ वर्ष अघि २५ जना किसानलाई खरायो पालनको तालिम दिएको थियो। ती किसानले पालेका खरायो सङ्कलन गरी मासु बिक्री वितरण गर्दै आएको छ।
काठमाडौंमा मात्र होइन धुलिखेलका होटलमा पनि खरायोको मासु बिक्री हुने गरेको छ। धुलिखेलका अधिकांश होटलहरूमा खरायोको मासु बिक्री हुने गरेको धुलिखेल होटल व्यवसायी सङघकी अध्यक्ष जोश्ना श्रेष्ठले बताइन्।
खरायाको व्यवसायिक उत्पादन हुन थालेपछि खरायोको मासु राख्न थालिएको उनी बताउँछिन्।
‘खरायोको मासुले स्वास्थ्य राम्रो हुने हुनाले ग्राहकले पनि मन पराई रहका छन्’, उनले भनिन्।
फेस्टिभलमा खरायको मासुको परिकार राखिने गरेको होटल व्यवसायी सङ्घका उपाध्यक्ष विनायक शाहले जानकारी दिए।
‘होटलमा संसारभरका मानिस आउने गर्छन्। ग्राहकको माग पुरा गर्नु हाम्रो दायित्व हो तर ग्राहकले मागेको बेला खरायोका मासु पाउन सकिदैँन’, उनले भने, ‘यसको राम्रो उत्पादन हुन सके किसानलाई पनि फाइदा हुन्छ।’
काठमाडौंमा भर्खरै सञ्चालनमा आएको मेरियट होटलमा गरिएको राजस्थानी फुड फेस्टिफलमा खरायोको तन्दुरी खर्बोस भन्ने परिकार बनाइएको थियो। खरायोको मासुको परिकार ग्राहकले मनपराएको मेरियट होटलका सेफ दिनेश हुमाँगाइले बताए।
यसको व्यवसायिक उत्पादन भए पछि विस्तारै मेन्युमा नै खरायोको मासु राख्ने उनी बताउँछन्।