सामान्य दिनमा समेत भिडभाड लाग्ने असन, इन्द्रचोक चाडपर्वको समयमा पनि सुनसान छ।
'सुनको मूल्य बढेर इतिहासकै महँगो भएपछि हाम्रो व्यापार नै छैन,' इन्द्रचोकका पोते व्यवसायी रजाउद्यिनले दुखेसो पोखे।
काठमाडौंका स्थानीय रजाउद्यिनको 'पोते' व्यवसाय पुर्ख्यौली हो। उनी आफ्नो बाल्यकाल पोतेको दानासँगै खेलेर बितेको बताउँछन्।
'हामी सानो छँदा बाजेबज्यैले पोते उनेर बेच्ने गर्नुहुन्थ्यो। कहिले त पोतेको दानामा चिप्लिएर लडिन्थ्यो पनि,' उनले भने।
पारिवारिक व्यवसाय नै भएर होला उनले पनि सानै उमेरदेखि पोतेकै काम थाले। बिहान स्कुल जाने, आएर खाजा खाने र पोते बेच्न जाने उनको दैनिकी थियो।
'एक–दुई कक्षा पढ्दादेखि नै पोते बेच्ने गर्थ्यौं। त्यतिखेर त व्यापार पनि राम्रो थियो,' उनले भने, 'जति उने पनि बेचेर सकिन्थ्यो।'
बाउबाजेको त्यही व्यवसाय अहिले उनी धान्ने भइसकेका छन्। रजाउद्यिनले आफ्नो जीवन नै पोते वरपर बिताएका हुन्।
अहिले पोतेको बजार घट्दै गएको छ।
'हिन्दु संस्कारमा पोते लगाउने नियम छ। पहिले–पहिलेका महिला पोतेका ठूल्ठूला झुत्ता लगाउँथे। अहिले प्रायःले लगाउँदैनन्। लगाइहाले पनि एक डोरो मात्रै। त्यसले पनि पोतेको बजारमा प्रभाव पारेको छ,' उनले भने।
झन् सुनको भाउ बढेपछि त व्यापार झनै खस्किएको उनी बताउँछन्।
'पोते र सुन एक अर्कासँग सम्बन्धित छन्। पोतेमा सुन मिसाएर लगाइन्छ,' उनी भन्छन्, 'सुन महँगिएपछि पोते किन्नेहरू घट्छन्।'
यसपालिको तीजमा पोते बजार लगभग शान्त छ। तीजमा छड्के तिलहरी, नौगेडी, मङ्गलसूत्र जस्ता पोतेसँग मिसाएर गरगहना बनाउने ग्राहकको भिड हुन्थ्यो।
'अहिले त सुन किन्नै गाह्रो। भएको पनि बेच्नेहरू छन्। अनि पोते कसरी बिक्छ,' उनले भने।
यस्तै अनुभव अर्का पोते व्यापारी इर्फान खानको छ। तीजमा धेरै व्यापार होला भन्ने उनको आशा सुनको भाउले टुटाइदियो। उनी १० वर्षदेखि पोते व्यवसाय गर्दै आएका छन्। पहिलेपहिले तीज आउन १५ दिनदेखि पोते किन्नेको भिड हुने उनको अनुभव छ।
'पहिले तीज एक दिन मनाइँदा पनि राम्रो व्यापार थियो। अहिले एक/डेढ महिनादेखि तीजको रमझम देखिए पनि व्यापार बढेको छैन,' उनले सेतोपाटीसँग भने, 'यसरी सुन महँगिदै गयो भने त पोते व्यवसायबाटै पलान हुन बेर छैन।'
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा मूल्य बढेको अर्थशास्त्रीहरू बताउँछन्। अहिले विश्व बजारमा डलरको मूल्य पनि बढेको छ।
सुन महँगिदा व्यवसायीलाई ठूलो असर नगरे पनि सुनको काम गर्ने कालीगढ र पोते व्यवसायीलाई भने धेरै मर्का परेको उनी बताउँछिन्।