गण्डकी प्रदेश स्थापना भएको झण्डै १९ महिनापछि प्रदेशले बजार अनुगमन थालेको छ। गण्डकी प्रदेश बजार अनुगमन टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो।
गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशिका पास गरेपछि कमिटी बनाएर अनुगमन शुरु गरेको हो। पोखराका खाद्य पसल तथा उद्योगहरुमा अनुगमन भएको छ।
अनुगमनका क्रममा पलसमा मूल्य सूची नराखेको, लेबलिङ नभएका खाद्य सामग्री बिक्रीमा राखेको, म्याद गुज्रिएका सामग्रीहरु बिक्रीमा राखेको भेटिएका छन्। ती सामग्रीहरु जफत गरेर नष्ट गरेको उद्योग वाणिज्य उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बताए।
सोमबार पोखराका ८ वटा पसल र एउटा उद्योगमा अनुगमन भएको थियो। पोखरा १ सिम्पानीमा रहेको सन्तोष दालमोठ उद्योगमा अनुगमनका क्रममा सरसफाई नगरी चलाएको पाइएपछि १५ दिनका लागि उद्योगबाट उत्पादन गर्न रोक लगाएको छ।
उद्योगले १५ दिनमा सरसफाइ हुने गरी अवश्यक पुर्वाधार निर्माणका लागि टोलीले निर्देशन दिएको हो। प्रदेश सरकारबाटै अनुगमन शुरु भएकोमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले खुसी व्यक्त गरे। उनले अनुगमनले निरन्तरता पाउनु पर्ने बताए।
संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मा स्थानीय निकायलाई नै दिइएको छ। तर कतिपय कानून र निर्देशिका नहुँदा काम गर्न कठिन भएको थियो। गण्डकी प्रदेश सरकारले निर्देशिका बनाएपछि भने बजार अनुगमन शुरु भएको छ।
बजार अनुगमनका क्रममा देखिएका त्रुटिलाई पहिलो पटक सच्याउनलाई समय दिइएको उद्योग बाणिज्य उपभोक्ता हित गण्डकी शाखाका सदस्य सचिब भरतमणी बरालले बताए। उनले बजार अनुगमन नियमित हुने र दोस्रो पटक पनि त्रुटि गरेको भेटिएमा कानूनी कार्वाही गर्ने बताए।