दसैं माछामासुकै चाड भने हुन्छ। चाबहिलकी सबिना कोइरालालाई त मासुबिना दसैं हुन्छ जस्तो पनि लाग्दैन। हाम्रो चलनै पहिल्यैदेखि दसैंमा खसीबोका काट्ने हो।
तर सबिना खसीबोकाको मासु रुचाउँदिनन्। 'मलाई त खसीको मासु त मनै पर्दैन, कुखुरामात्र मनपर्छ,' उनले भनिन्।
काठमाडौंका अधिकांशले खसीबोका रूचाउँदैनन्। राँगा, भैंसीबाहेक बंगुर, कुखुरा, अस्ट्रिच, खरायो लगायतका मासुको पनि विकल्प बढ्दै गएपछि खसीबोका रूचाउने कम हुँदै गएका अनुमान छ।
तर व्यापारीहरू यसमा सहमत छैनन्। अहिले पनि दसैंमा खसीबोकाकै बढी माग हुने उनीहरू बताउँछन्। अरू बेला अन्य प्रकारका मासु खाए पनि दसैंमा खसीबोका नै खोज्ने गरेको माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए।
'अरू बेलामा जेको मासु खाए पनि दसैंमा खसीबोका कै मासुको बढी माग हुन्छ,' उनले भने।
हाम्रा बाबुबाजेको पालादेखि नै 'खसी नढाले के दसैं' भन्ने भएर पनि दसैंमा अन्य मासुले स्थान लिन नसकेको उनी बताउँछन्। दसैं बेला खसीबोकाको मासु दस गुणा बढी माग हुन्छ। विशेषगरी फूलपातीदेखि टीकाको दिनसम्म बढी माग हुने उनले जानकारी दिए।
यो बेला दैनिक एक हजार खसिबोका बिक्री–वितरण हुने नेपाल चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष भानु पराजुली बताउँछन्। झण्डै वर्षभरिमा बेचिने खसीबोका दसैंको घटस्थापनादेखि नवमीसम्ममा पनि त्यत्तिकै संख्यामा बिक्री हुने उनी बताउँछन्।
'वर्षभरिमा खसीबोका त्यस्तै ५०/६० हजार वटा बेचिन्छ होला। गत वर्षलाई आधारमान्दा घटस्थापनादेखि नवमीसम्ममा ४०/५० हजार वटा खसी बिक्री भएको थियो,' उनले भने।
खसीबोकापछि कुखुरा र च्यांग्रा बिक्री हुने गरेको माछामासु व्यवसायी रमेश बताउँछन्। दसैंमा कुखुराको 'रोष्ट' बनाउन पनि अत्यन्तै माग हुन्छ। तर दसैंकै लागि भनेर कुखुराको बेग्लै माग नहुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर बेल्वासले जानकारी दिए।
'जस्तो अरू बेला जाने हो त्यति नै बिक्री हुन्छ,' उनले भने, 'दसैंमा ठूला–ठूला होटलहरू समेत बन्द हुने हुँदा कुखुराको माग अन्य समय जस्तै नै रहन्छ। खास फरक पर्दैन।'
उनकाअनुसार उपत्यकामा दैनिक साढे दुई लाखदेखि तीन लाखसम्मको कुखुराको मासु बिक्री हुँदै आएको छ।
नेवार समुदायमा भने राँगाभैंसी बढी उपयोग हुने काठमाडौंका स्थानीय बासिन्दा उत्तम श्रेष्ठले बताए। त्यस्तै नेपालमा राँगाभैंसीको माग दिन प्रतिदिन बढ्दै गएको पनि पशुपंक्षीजन्य व्यवसायी संघका अध्यक्ष राजेन्द्र गोपालीले जानकारी दिए।
हरेक महिना राँगाभैंसीको माग १० हजारको संख्यामा छ। उनले भने, 'दसैंमा उपत्यकामा मात्रै १५ हजार वटा राँगाभैंसीको बिक्री हुन्छ।'
त्यसैगरी, बंगुरको मासु पनि उत्तिकै माग हुने गरेको छ। दसैंमा काठमाडौंमा आठदेखि दस हजारसम्म बंगुरको मासु बिक्री हुने गरेको बंगुर व्यवसायी संघका महासचिव डिल्लीराज पौडेलले जानकारी दिए।