पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असोजसम्ममा १० अर्ब ७६ करोडको विदेशी लगानी प्रतिबद्धता आएको छ।
विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् ७७ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्।
गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा यो १ सय २२ प्रतिशतले बढी हो।
गत आवको साउनदेखि असोजसम्ममा ४ अर्ब ८३ करोड ५२ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
विभिन्न देशका लगानीकर्ताले १ सय २९ वटा उद्योग सञ्चालनका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्।
नेपालमा लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानी बढ्न थालेको विभागका प्रवक्ता विनोद खड्काले बताए।
‘अहिले हामीले लगानीकर्तालाई सहज होस् भनेर विभिन्न ऐन संशोधन गरिसकेका छौँ, यसले पनि विदेशी लगानीकर्ता आकर्षित भएका छन्’, उनले भने।
चालू आवको तीन महिनामा विभागमा ७७ वटा उद्योग दर्ता भएका छन्। ती मध्ये लगानीकर्ताको आकर्षण क्षेत्र पर्यटन बनेको छ। कुल उद्योग दर्ता मध्ये ३८ वटा पर्यटन क्षेत्रका उद्योग दर्ता भएका छन्।
विगतका वर्षहरूमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो। अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन्।
पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढेको होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह पनि स्वीकार्छन्। नेपाल भारत र चाइनाको बीचमा छ। अन्य देशको तुलनामा यहाँ सस्तो पर्ने हुनाले पर्यटक बढी नै आउने गर्छन्। यसले पनि होटलमा लगानी बढाएको उनी बताउँछन्।
‘अन्य देशको तुलनामा यहाँका होटल सस्तो भएकाले पर्यटक आउँछन्। सरकारले भ्रमण वर्ष २०२० आयोजना गरेकोले पनि होटलमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ’, उनले भने।
चालू आवको ३ महिनामा कृषि तथा वनजन्यमा एउटा मात्र उद्योग दर्ता भएको छ। त्यस्तै, सूचना प्रविधिमा ६, उत्पादनमूलकमा ७ र सेवामूलकमा २५ वटा उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ।
यी उद्योग सञ्चालनमा आए करिब ५ हजारले रोजगार पाउने देखिएको छ।
यी उद्योगको कुल पूँजी भने ११ अर्ब ३६ करोड रहेको छ।