फूलमाला, झिलिमिलीसँगै मिठाईको पर्व हो तिहार। दैनिक व्यस्तताले तिहारमा पकाइने सेल, अनरसा आजभोलि धेरैका भान्सामा बन्न छाडिसके।
बजारमा पाइने आकर्षक मिठाईले तिहारमा धेरैको ध्यान तान्ने गरेको छ।
मिठाई किन्ने भनेपछि हामी सबैको ध्यान नाम चलेका पसलतिर नै जान्छ। तर चाडपर्वका बेला मौका छोपेर ‘ब्राण्डेड’ मिठाई पसलेले नै अखाद्य बस्तुको प्रयोग गरेको पाइन्छ।
यसैलाई मध्यनजर गरेर चाडपर्वको बेला सरकारले अनुगमन तीव्र बनाउने गरेको खाद्य तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यले जानकारी दिइन्।
‘अधिकांश पसलले अखाद्य तथा अधिक मात्रामा मिठाईमा रङको प्रयोग गर्ने गरेको अनुगमनमा पाइन्छ’ उनले भनिन्, यस्तो रङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ। त्यसैले उपभोक्ताले मिठाई किन्दा सजग हुनपर्छ।’
मिठाई पसलले प्रयोग गर्ने रङ मापदण्डविपरित हुने गरेको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए।
सुवेदीका अनुसार शुक्रबारको अनुगमनमा शालिमार हस्पिटालिटी एण्ड फुड प्रालि अन्तर्गतको गुलाब मिठाईमा लड्डु बनाउन प्रयोग गरिने १० किलो बेसन नस्ट गरिएको छ। उक्त बेसन मिति सकिएको पाइएको उनले बताए।
त्यस्तै घुन मिसिएको बेसन २६ किलो पनि नस्ट गरिएको छ।
व्यक्तिगत सरसफाई र मिठाईमा प्रयोग गरिने रङमा सुधार गर्न निर्देशन दिइएको छ।
बाग्मती स्वीट्समा भुसुना भन्केका चमचम १० केजी र फोहोर प्लाष्टिकका क्यारेटमा राखिएका मिठाई नस्ट गरिएको छ।
दुवै मिठाई भण्डारलाई खाद्य ऐन अनुसार कारबाही समेत गरिने उनले बताए।
उनका अनुसार चाडपर्वका बेला मिठाई पसल बन्द गर्दा उपभोक्ताले विरोध गर्ने भएकाले पसल बन्द गरिएको छैन। मिति सकिएका अखाद्य बस्तु भने नस्ट गरिएको छ।