पहिला पहिला पोखरा घुम्ने पर्यटकहरूका लागि लेकसाइडमा मात्रै स्तरीय होटलहरू हुन्थे। तर अहिले विस्तारै पोखरा आसपासका डाँडामा पनि स्तरीय होटल सञ्चालनमा आउँदै छन्।
आँखै अगाडि सुन्दर हिमाल, फेवाताल, हरियाली डाँडा, पोखरा सहरको दृश्यावलोकन गर्दै बस्न कसलाई पो मन नलाग्ला र!
पर्यटक पनि सहरमा भन्दा डाँडाकाँडा घुम्न र बस्न मन पराउँछन्। पर्यटकको यही चाहनालाई मध्यनजर गरी होटल व्यवसायीले डाँडामा होटल बनाउन ठूलो लगानी गर्दै गएका छन्।
पोखरा आसपासका डाँडामा स्तरीय होटल खोल्ने प्रतिस्पर्धा नै चल्न थालेको छ।
अहिले पोखराको सराङकोट, बेगनास ताल आसपास, रुपाकोट, मर्टिखान, नौ डाँडा, पुम्दीभुम्दी, विश्व शान्ति स्तुपा आसपासमा होटल खुल्ने क्रम बढिरहेको छ।
करिब एक दर्जन स्तरीय होटल सञ्चालनमा आइसकेका छन्। केही दिन पहिले पोखराको सराङकोटमा स्तरीय होटल सञ्चालनमा आएको छ।
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सराङकोट माउन्टेन लज सञ्चालन आएको हो।
होटलमा २ वटा स्विट र २८ वटा डिलक्स रूम छन्। ८० जना क्षमताको सभाहल समेत रहेको रिसोर्टमा रेस्टुरेन्ट, बार, स्पा, मसाज रूमको पनि व्यवस्था छ।
प्रत्येक कोठाका बाल्कोनीबाट हिमालसहित फेवाताल, पोखरा, हेम्जा सहर र पहाडको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।
८ रोपनी जग्गामा निर्माण गरिएको लजमा ३५ करोड रुपैयाँ लगानी भएको होटलका सिस्टम एण्ड डेभलपमेन्ट म्यानेजर प्रदीप न्यौपाने जानकारी दिए।
नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्यधिक प्रयोग गरी बनाइएको लज बाराही गुरु अन्तर्गत सञ्चालनमा आएको हो। पोखराका युवा व्यवसायी विप्लव पौडेल र नारायण पहारीको लगानीमा रहेको ‘सराङकोट माउन्टेल लज’मा स्विमिङ पुलमा पनि माछापुच्छ्रे र अन्नपूर्ण सहितका हिमालको छायाले पर्यटकलाई आकर्षित गरेको छ।
५ तले होटलको टपमा रहेको स्विमिङ पुलमा हिमालय रेन्जसहित वरपरका हरियाली डाँडाहरूको प्रतिछाया देख्न सकिन्छ। पोखराको लेकसाइडबाट विन्ध्यवासिनी मन्दिर हुँदै करिब १४ किलोमिटर दूरीमा लज पुग्न सकिन्छ।
सर्ट हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बञ्जीजम्प, फरेस्ट वाल्कबाट सराङकोट पर्यटक पुग्न सक्छन्।
नेपाली पर्यटकका लागि एउटा कोठाको १० हजार रुपैयाँ र विदेशीलाई १२० डलर शुल्क निर्धारण गरिएको छ।
सेवा शुभारम्भका छुटको समेत व्यवस्था गरेको न्यौपानेले बताए।
अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका र औपचारीक संचालनपछि ४५ जनाले रोजगारी पाउने उनले बताए।
बाराही ग्रुप अन्तर्गत पोखराको लेकसाइडमा होटल बाराही, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालनमा छन् भने काठमाडौंको कान्तिपथमा पाँचतारे होटल बाराही प्लाजा निमार्णको अन्तिम तयारीमा छ ।