भारतले भर्खरै ‘रोक’ लगाएको पाम आयलको निर्यात खुलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लागि परेको छ। पछिल्लो समय नेपालबाट उच्च रूपमा निर्यात भएको पाम आयलकाे निर्यात अवरोध हटाउन मन्त्रालय लागि परेको हो।
वनस्पती घ्यु उत्पादन गर्ने नेपाली उद्योगीहरूले इन्डोनेसीया र मलेसियाबाट पाम आयल आयात गरेर प्रशोधन भारत निर्यात गर्दै आएका थिए।
जनवरी ८ मा भारतीय सरकारले कुनै पनि प्रकारका रिफाईन्ड पाम आयलको आयात नगर्ने भनी आन्तरिक सूचना जारी गरी गर्यो।
जनवरी ९ अर्थात् पुस २४ देखि नेपालबाट पाम आयल भारत निर्यात भएको छैन।
त्यसको भोलिपल्टै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही सरकारी निकाय तथा उद्योगी ब्यापारीसँग छलफल गर्यो। छलफल अनुसार मन्त्रालयले पाम आयलको निर्यात पहिले जस्तै निर्वाध रूपमा खुलाउन भारतीय पक्षलाई पत्र समेत पठायो।
भारत सरकारबाट केही जवाफ नआएपछि केही हप्ता अघि मन्त्रालयले नयाँदिल्ली स्थित नेपाली राजदुतावासलाई समेत निकासीको बाटो खुलाउन परिचालन गरेको छ।
निर्यात खुलाउन भारतीय पक्षसँग औपचारिक तथा अनौपचारिक कुरा गसिक्दा पनि भारतबाट केही जबाफ नआएको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।
नेपालमा प्रशोधन हुने पाम आयलको प्रशोधन गुणस्तर हुनुका साथै उपभोक्ताले उपभोग गर्ने २ केजि, ५ केजि र १५ केजि लगायतको प्याकमा जाने भएकाले यसको आयात खोलिदिन उनले भारतसँग आग्रह गरे।
‘नेपालबाट निर्यात हुने पाम आयलको प्रशोधन राम्रो छ। यसमा उद्योगीले ३० प्रतिशतभन्दा बढी भ्यालु याडिसन (मूल्य अभिवृद्धि कर) गरेका छन्’, उनले भने।
यति अनुरोध गर्दा पनि केही समय भित्रमा भारतले नेपालबाट हुने पाम आयलकाे नियार्तकाे बाटाे खाेलेन भने मन्त्रालयले चुप नबस्ने उनको दावी छ।
‘हामीले पहिलेजस्तै निर्वाध रूपमा पाम आयलको निर्यात खुलाउन भारतसँग औपचारिक तथा अनौपचारिक कुरा गरिसक्यौं’, उनले भने, ‘केही समयमा पनि जवाफ आएन भने अर्को विकल्प सोच्नुपर्छ।’
कुनै पनि देशले निर्यातमा प्रतिबन्ध लगाउँदा द्विपक्षीय सन्धी–सम्झौता, क्षेत्रीय तथा उप क्षेत्रीय सम्झौता रर विश्व व्यापार सङ्गठनले तोकेका व्यापारिक नीतिलाई हेर्नुपर्ने उनी बताउँछन्।
‘हामी सार्क राष्ट तथा विमिस्टेकका पनि सदस्य हौं। त्यसको पनि बैठक हुँदैछ कुरा उठाउँन सकिन्छ,’ उनल भने, तर हामीले अहिले त्यहाँसम्म सोचेका छैनौं। भारतसँगको ब्यापारिक सम्बन्ध अनौठो खालको छ, त्यसैले छलफलमै यसलाई टुङ्ग्याउँछौँ।’
पुस २४ बाट भारतले पाम आयल आयातमा रोक लगाएपछि नेपाली उद्योगीको कलकत्तामा करिब २९ हजार, मेटरियल इन पाइपलाइनमा ५४ हजार ७ सय र उद्योगमा करिब १३ हजार मेट्रिक टन पाम आयल पाइपलाइनमा रहेको छ।
नेपालमा शिवशक्ति घ्यु उद्योग, स्वस्तिक आयल, श्रीकृष्ण आयल, शुसिल वनस्पति उद्योग, गणपति वनस्पति, सिद्धार्थ आयल, नन्दन घि यण्ड आयल, अन्नपूर्ण भेजिटेवल, पशुपति खाद्य तेल उद्योग, बाबा भेजिटेवल आयल, नारायणी आयल रिफाईनरी उद्योग, कुसुम आयल, बाग्मति आयल, श्रीराम रिफाईण्ड आयल, प्रोवायोटिक, ओसिवी फुड्स एण्ड फिड्स र महालक्ष्मी सोल्भेन्ट पाम आयल प्रशोधनगरि भारत निर्यात गर्दै आएका छन्।