देशभर होटल तथा रेष्टुरेन्ट क्षेत्रमा निजी लगानी आकर्षित भइरहेको छ। अन्य व्यवसायमा जमिरहेका घरानाहरुले पनि होटल क्षेत्रमा लगानी बढाएका छन्।
कुनै समयमा गार्मेन्ट उद्योगमा आएको लहडजस्तै अहिले होटलमा आएको छ। अहिले काठमाडौंमा पाँचतारे स्तरका मात्रै आधा दर्जन होटल निर्माणाधीन छन्।
यस्तोमा मोबाइल, गाडी, अनलाइन बजार, हाइड्रोपावर लगायतका २० भन्दा बढी क्षेत्रमा लगानी गरेको आइएमएस समूहले पनि होटलमा लगानी बढाएको छ। समूहले धापासीमा रहेको शेहेन्शाह होटल किनेर पाँचतारेमा स्तराेन्नति गर्न लागेको हो।
पाँचतारे होटल बनाए पनि तुरून्तै पाँचतारे होटलको सर्टिफिकेट भने नलिने समूहका अध्यक्ष दीपक मल्होत्राले बताए।
‘होटल पाँचतारेको मापदण्डमै बन्छ। अहिले पर्यटन व्यवसाय नफस्टाएको हुनाले तुरून्तै सर्टिफिकेट लिदिनँ,’ उनले भने।
पाँचतारे सर्टिफिकेट लिँदा खर्च बढी हुनाले सुरूआती समयमा नलिने उनको भनाई छ। होटल राम्रो चल्यो भने दुई वर्षपछि मात्र पाँचतारेको सर्टिफिकेट लिने उनको योजना छ। अहिले उक्त होटलका लागि केही पुराना भवन भत्काएर नयाँ भवनको तयारी भइरहेको छ।
‘पुरानो दुई–चार वटा विल्डिङ भत्काएर नयाँ बनाउँदै छौं। मुख्य भवन नभत्काई डिजाइन परिवर्तन गछौँ,’ उनले भने।
अन्य पाँचतारे होटलभन्दा यो भिन्न खालको होटल हुने मल्होत्राले बताए।
कस्तो बन्दैछ होटल?
अब बन्ने नयाँ संरचना होटलमा मात्र सीमित हुने छैन। होटलभित्र हेल्थ क्लब, विदेशी रेष्टुरेन्ट तथा अन्य सुविधा समेत राख्ने उनको योजना छ। होटल मात्र बनाउँदा पर्यटकको संख्या घट्दै गएकाले अन्य सुविधालाई पनि सँगसँगै लिएर गएको मल्होत्रा बताउँछन्।
‘कुनै व्यवसाय गर्दा ब्याकअप राखेर काम गर्न पर्छ। नत्र धोका हुन्छ,’ उनले भने, ‘सधैं होटल चल्छ भन्ने छैन, त्यसैले होटल भित्र फरकपन ल्याउन खोजेका छौँ।’
मल्होत्राका अनुसार होटलमा अन्य पाँचतारे होटलले दिएको सुविधाभन्दा बढी सुविधा राखिने छ। होटलमा ६–६ तलाको दुई वटा भवन रहने छन्। एउटा भवनमा हेल्थ क्लब राखिने छ भने अर्को हलमा ब्यांक्वेट लगायत अन्य सुविधा रहने छन्।
होटलमा स्वीमिङपुल, हेल्थ क्लब, स्पा, जिम, ब्यांक्वेट हल, मिटिङरुम लगायत सबै सुविधा हुनेछ। ब्यांक्वेट अहिले बनेका मध्ये सबैभन्दा ठूलो हुने मल्होत्राको दावी छ।
उनका अनुसार ब्यांक्वेट हलको क्षमता १५ सय भन्दा बढी रहने छ। होटलमा १ सय १५ वटा बेड रहनेछन्।
होटलको मुख्य आकर्षण हेल्थ क्लब हो। क्लबमा दुई प्रकारका सदस्य रहनेछन्– प्रिमियम र नर्मल।
समूहको धनकुटाको राजारानीमा करिब ६० करोडको लगानीमा रिसोर्ट बन्दैछ। हेल्थ क्लबका सम्पूर्ण सदस्यले उक्त रिसोर्टमा प्याकेज टुरको सुविधा पाउने छन्।
‘हाम्रो क्लबका सम्पूर्ण सदस्य रिसोर्टमा परिवारसहित वा पार्टनर जुन साधन (गाडी बस, प्लेन)मा जान चाहन्छन्, त्यसैमा लैजान्छौँ,’ उनले भने।
त्यस्तै प्रिमियम लेबलको सदस्यले भने ट्राभल गर्दा एयरपोर्टमा विजनेश लाउन्जमा बस्न पाउने तथा कल सेन्टरलगायतका विशेष सुविधा पाउनेछन्।
‘प्रिमियम लेबलका सदस्यलाई होटलभित्रै कल सेन्टरको सुविधा हुन्छ,’ उनले भने, ‘उनीहरूले विदेशबाट पाहुना आउँदा गाडी चाहिएमा, फिल्मका लागि टिकट र बाहिर जान प्लेन टिकट लगायत सबै सुविधा कल सेन्टरबाट लिन सक्छन्।’
‘विजनेश लाउञ्जको सुविधा निशुल्क दिएका छौं, अन्य सुविधाको भने शुल्क लाग्छ। हामीले त्यसमा छुट दिन्छौं,’ उनले थपे।
होटलको विशेषता पाँचतारेको जस्तो भएपनि शुल्क भने महँगो नहुने मल्होत्रा बताउँछन्। उनका अनुसार छ महिनामा संरचना निर्माणको काम सकिन्छ। त्यसको एक वर्षमा डिजाइन।
भिजिट नेपाल २०२२ जनवरी १ मा होटलको उद्घाटन गरिने तयारी भएको उनले बताए। होटलको लगानी २ सय करोड अनुमान गरिएको छ।
राजारानीमा बन्दैछ पाँचतारे रिसोर्ट
भेँडेटारबाट २० किमी पर पनि पाँचतारे रिसोर्ट बन्दैछ। त्यस क्षेत्रमा स्ट्याण्डर्ड होटल नभएकाले, त्यसलाई मध्यनजर गरी रिसार्ट बनाएको मल्होत्राले बताए।
रिसोर्टमा दुई/तीन दिनसम्म भुल्न सकिने गरी खेलकुद, गाडीमा घुम्ने, स्वीमिङ पुल, मिनी क्यासिनो, जिम, रेसिङ कार लगायत राखिने उनले बताए।
उनका अनुसार अहिले रिसोर्टको ग्राउण्ड लेबलिङदेखि वाल लगाउने काम भइरहेको छ। भवन निर्माण सुरू भएको दुई वर्षपछि रिसोर्ट तयार हुनेछ।
रिसाेर्टको कुल लगानी ६० करोड रूपैयाँ अनुमान गरिएको छ। आन्तरिक पर्यटन पनि बढेकाले रिसोर्ट राम्रो चल्छ भन्नेमा उनी विश्वस्त छन्।
‘रिसोर्ट चल्छ, यसमा विश्वस्त छु। भिजिट नेपाल २०२२ मा घोषणा गरिएको छ। साथै निजगढ विमानस्थल पनि बन्ने हो भने होटल पुग्दैन,’ उनले भने।