नेपालको पर्यटनलाई ‘मौसमी पर्यटन’ पनि भन्ने गरिन्छ। पछिल्लो १ वर्षको तथ्यांक छाड्ने हो भने अक्सर दुई सिजन नेपाली पर्यटन क्षेत्रका लागि स्वर्णिम मानिन्छ।
'स्प्रिङ र अटम’ सिजन- अर्थात् नेपाली क्यालेन्डरअनुसार भन्ने हो भने फागुन-चैत-वैशाख महिनाको एउटा सिजन र असोज-कात्तिक-मंसिर महिनाको अर्को सिजन।
त्यसैले नेपालका पर्यटन व्यवसायीलाई वर्षमा ६ महिना कमाउने ६ महिना हिसाब गरेर बस्ने उद्यमी भनेर भनिन्छ। यस्तो अभ्यास सायद विस्तारै तोडिँदै जान्छ होला। व्यवासायीहरूले पछिल्लो समय आफ्नो लगानी विविधिकरण पनि गर्दै गएका छन्।
तर अहिले पनि कोर पर्यटन र त्योसँगै जोडिएका कतिपय व्यवसायको प्रकृति ‘सिजनल'नै हो। अर्थात् ६ महिना कमाउने ६ महिना हिसाब गरेर बस्ने।
पर्यटनको यही अर्थशास्त्रसँगै मिलेर विकास भएको एउटा व्यवसाय हो: हेलिकप्टर।
पर्वतीय पर्यटनसँग जोडिएको हेलिकप्टर कम्पनीले कमाउने समय भनेको मार्चदेखि मे वर्षको सबैभन्दा लामो सिजन हो। उनीहरूले अहिले नै कमाएको पैसाले अगष्टसम्मको ऋणको किस्तादेखि बीमाको प्रिमियम तिर्नेमात्र होइन लगानीको नाफा पनि निकाल्ने योजना बनाएका हुन्छन्।
नेपालमा हेलिकप्टर व्यवसायको मुख्य समय मार्च १५ देखि सुरू हुन्छ। अर्थात् ठ्याक्कै हिजोदेखि नेपाली हेलिकप्टर अपरेटरहरू दौडधुपमा हुनु पर्ने थियो। उडानको सेड्युल मिलाउन हम्मे पर्नुपर्ने थियो।
यो वर्ष भने अपरेटरहरू आजका दिनमा उडानको सेड्युल होइन ऋणको किस्ताको हिसाब गरेर बसिरहेका छन्। कसरी ऋण तिर्ने? रकमको जोहो गर्न र हिसाब मिलाउनै उनीहरूलाई हम्मे छ।
नेपालमा १० कम्पनीसँग ३३ ओटा हेलिकप्टर छन्। मार्च १५ देखि यी प्राय: सबै उड्नुपर्थ्यो। सामान्य समय भएको भए अहिले यी हेलिकप्टर प्रतिदिन कम्तिमा २ घन्टाको औसत उडान गरिरहेका हुन्थे।
हेली एभरेष्टका प्रमुख कार्यकारी तथा नेपाल वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेलका अनुसार आजका दिनमा ९५ प्रतिशत बढी हेलिकप्टर ग्राउन्डेड छन्।
‘हिजो दुइटा र आज तीनवटा उडेका छन्। त्यो पनि पहिलै हिमालतिर गएकालाई उद्धार गर्न र मेडिकल उद्धारमा गएका हुन्,’ उनले भने।
हेलिकप्टर उड्ने अवस्था नभएपछि अधिकांश कम्पनीले कर्मचारीलाई बेतलबी बिदा दिने, बीमा कम्पनीलाई ग्राउन्डेड कभरेजका लागि लविङ गर्ने तथा सरकारसँग ऋण सम्बन्धित नीतिमा सहुलितको वातावरण बनाउनका लागि लविङमा लागि परेका छन्।
मार्चको सुरूदेखि नै पर्वतीय क्षेत्रमा जाने टिमका लागि आवश्यक सामान आपूर्तिमा हेलिकप्टर प्रयोग हुन्थे। मार्च १५ देखि त पर्यटकको हिमाल तथा पहाडको यात्रा सुरू हुन्थ्यो। त्यसको एक हप्तापछि हेलिकप्टर उद्धारमा प्रयोग हुन्थे। अन्तिमसम्म उद्धारमै रहँदा धेरैको डलर आम्दानी पनि यही स्रोतबाट हुनेगरेको थियो।
हेलिकप्टर कम्पनीले पछिल्लो समय पाउँदै आएको अर्को व्यापार थियो- कैलाश मानसरोवरको यात्रा। यो यात्रामा जाने भारतीयहरू कम्तिमा पनि २० हजारको संख्यामा हुन्थे। यसपालि सरकारले सगरमाथाको आरोहण बन्द गरिदिएको छ भने तिब्बतले मानसरोवरको यात्रा खोलेको छैन।
यसले गर्दा हेलिकप्टर कम्पनीको यो सिजनमै कम्तिमा पनि २अर्बको आम्दानी गुमाउने व्यवसायी बताउँछन्।
‘मैले यी तीन महिनामा १५ करोड आम्दानी गर्ने लक्ष्य लिएको थिएँ। तर यो सिजनमात्र होइन अर्को सिजन पनि हुने सम्भावना छैन,' कँडेलले भने।
कँडेलको कम्पनी हेली एभरेष्टसँग २ हेलिकप्टर छन्।
हेलिकप्टर कम्पनीले यही सिजनका लागि भन्दै ल्याएका १६ जना पाइलटलाई विदाइ गरिसकेका छन्। यीमध्ये केहीले नेपाल छाडिसकेका छन् भने केही छाड्ने क्रममा छन्।
कमाइको मुख्य सिजनमै धक्का लागेपछि अफिस चलाउनै नसक्नेगरी ढाड सेकिएको व्यवासयीहरूको भनाइ छ।
‘८० प्रतिशत आम्दानी गुम्ने हाम्रो अनुमान छ। आन्तरिक मागबाट हुने २० प्रतिशत आम्दानीले हाम्रो लागत पनि उठ्दैन,’ नेपालकै ठूलोमध्ये सिम्रिक एयरका निर्देशक प्रेम थापाले भने।
पाँचओटा हेलिकप्टर भएको सिम्रिकले नेपाल ल्याउने तयारी गरेका २ हेलिकप्टर रोकेको छ। अफिस चलाउने लागत नै नउठ्ने अवस्थामा हेलिकप्टर थप्न सोच्न सजिलो नभएको उनको भनाइ छ।
हेली एभरेष्ट र कैलासले पनि हेलिकप्टर थप्ने योजना पछि सारेका छन्। सञ्चालनमा आउनै लागेको मुस्ताङ एयर पनि रोकिएको छ।