'फूल बेचेर युवा पुस्ता कोषबाट लिएको ऋण तिर्ने सोचेकी थिएँ, चक्नाचुर भयो,' नारायणथान बुढानिलकण्ठ-१ की फूल व्यवसायी सुशीला कठायतले दुःख पोखिन्।
कोरोना भाइरस फैलिन नदिन सरकारले करिब दुई सातादेखि लकडाउन गरेपछि उनको फूल खेतबारीमै सुक्न थालेको छ। उनले यही फूल व्यवसायबाटै घर-व्यवहार चलाउँदै, ऋण तिर्दै आएकी थिइन्।
सुशीलाले फूल व्यवसाय गरेको ३ वर्ष पूरा भयो। करिब २० लाख रूपैयाँमा ५ रोपनी क्षेत्रफलमा फूल लगाएकी छिन्। युवा पुस्ता कोषबाट ५ लाख र वडा तथा कृषि ज्ञानकेन्द्रको अनुदानमा उनले व्यवसाय सुरू गरेकी हुन्।
उनका अनुसार अनुदानको ३० प्रतिशत आफूले तिर्नुपर्छ। कोषबाट लिएको ऋणको ब्याज भने तिर्नुपर्दैन।
यो याममा फूल बेचेर कोषको बाँकी साढे २ लाख रूपैयाँ तिर्ने उनको योजना थियो। विश्वव्यापी कोरोना संक्रमणले योजना योजनामै सीमित बनाइदियो।
दुइ हप्तापछि त बेच्न पाइन्छ भन्ने उनमा अलिअलि आशा थियो। अर्को एक साता पनि लकडाउन जारी गर्ने सरकारी तयारी सुनेपछि आशा पनि मरिसकेको उनी बताउँछिन्।
'१४ दिन त हो नि, त्यसपछि त बेचुँला भन्ने आशा थियो। मिडियातिर अर्को एक साता थप्ने भन्ने सुनेपछि त त्यो आशा पनि मर्यो,' उनले सेतोपाटीसँग भनिन्।
सुशीलाका अनुसार फूल बेच्ने मूख्य याम फागुनदेखि असारसम्म हो। फागुन–चैतदेखि नै फूल फूल्न थाल्छ।
'फार्ममा फूल रातै, पहेँलै, सेतै भएर फुलेका छन्। के गर्नु बेच्न पाउनु छैन,' उनले दुखेसो पोखिन्,'ब्याज पर्ने थिएन, ऋण त जसोतसो तिरौंला। तर तीन परिवार कसरी पाल्ने।'
एकै ठाउँमा जग्गा नपाएर उनले दुईतिर फार्म चलाएकी छन्। फार्म हेर्न दुईतिर दुई परिवार राखिएको छ। उनको आफ्नो परिवार पनि यही पेशाले धानिन्छ।
कार्डिनेशन, गुलाफ, सयपत्री, चैते फूल लगायतका फूल बेच्न नपाउँदा झन्डै ५ लाख बढी क्षति भएको उनी बताउँछिन्।
सिजनमा दैनिक गुणस्तरीय फूल होलसेलमा पठाउँथिन् भने छानेर रहेका फूल नारायणथान मन्दिरका लागि जान्थ्यो।
'अहिले त मन्दिर पनि बन्द, होलसेल पनि बन्द। हामी त घाटामा गयौं,' उनले भनिन्।
भक्तपुरकी राधा मतांगी पनि ५ लाख मूल्य बराबरको फूल फ्याँकिसकेको बताउँछिन्। उनले ५ रोपनी क्षेत्रफलमा जरबेरा, कार्डिनेशन र ब्याडुलस जातका फूल लगाएकी छिन्। यी जातको फूल बाह्रै महिना फुल्छ।
'हप्तामा दुई पटक फूल पठाउँथ्यौं, अहिले दुई पटक फ्याँक्नु परेको छ,' उनले गुनासो गरिन्।
मुख्य याममा फूल बेच्न नपाएपछि लकडाउन खुलिहाले पनि फूल व्यवसायीलाई फाइदा नहुने उनी बताउँछिन्।
'फूल जाने क्षेत्र भनेको बिहे, ब्रतबन्ध, होटल–रेस्टुरेन्ट तथा मन्दिर हो। अहिले यी सबै बन्द छन्। महामारी बेला मानिसले शुभकार्य पनि गर्दैनन्। लकडाउन खुले पनि यो वर्ष हामीलाई घाटै भयो।'
भुइँचालोपछि यो दोस्रो ठूलो घाटा भएको उनी बताउँछिन्।
'भुइँचालोमा त आफन्त भेटिन्थ्यो उपहार दिइन्थ्यो, मन्दिरमा चढाइन्थ्यो,' उनले भनिन्, 'अहिले त रोग फैलिन्छ भनेर कोही कसैकोमा गइँदैन, मन्दिर पनि बन्द छ। फूल मल बनाउन परेको छ।'
दैनिक दुईदेखि चार लाखसम्मको फूल बेच्ने गरेकामा अहिले त्यति नै मूल्य बराबरको फूल नष्ट गर्नु परेको काभ्रे जिल्ला, फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष वीरेन्द्र श्रेष्ठ बताउँछन्।
उनका अनुसार काभ्रे जिल्लाको २० देखि २५ घर फूल व्यवसायमा संलग्न छ। त्यहाँका अधिकांशले फूल टिप्दै मल खाल्डोमा हाल्ने गरेका छन्।
'कसैले साँझ पख भएपछि अलिकति टिपेर चौतारामा राखिदिन्छन्,' उनले भने, 'कोही बच्चाहरूले लैजान्छन्। केही छरछिमेकीले पूजा गर्न लैजान्छन्। बाँकी सबै खाल्डोमै हाल्नुपर्छ।'
काभ्रे जिल्लामा २० देखि २५ करोड लगानी फूलमा लगाइएको छ। अधिकांशले बैंकबाट ऋण निकालेर व्यवसाय गरेकाले तिर्ने चिन्ता भएको उनी बताउँछन्।
पर्यटन व्यवसायसँग जोडिएकाले फूल व्यवसाय उकासिन पर्यटन व्यवसायलाई जत्तिकै समय लाग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले बताए।
'यसको प्रभाव दीर्घकालीन पर्छ। पर्यटन व्यवसाय नफस्टाई फूल व्यवसाय फस्टिँदैन,' उनले भने।
अन्य उत्पादन तथा तरकारीको जस्तो प्रशोधन नभएकाले फूल व्यवसायी बढी मारमा परेको उनी बताउँछन्।
'दूध नबिके दही, मोही, पनिर बनाउन मिल्छ। तरकारी नबिके सुकाएर अन्य उत्पादन बनाउन मिल्छ। तर फूल टिप्नेबित्तिकै बेच्नैपर्छ। अरू उपाय छैन,' उनले भने।
कसजुका अनुसार नेपालमा व्यवसायिक रूपमा फूल खेती गर्ने ७ सय हाराहारीमा छन्। यसमा ६ अर्ब रूपैयाँ लगानी छ।
'भ्रमण वर्षका लागि एक अर्ब थप लगानी गरिएको थियो। त्यो सबै नोक्सान भयो,' उनले भने।