साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार मेट्रिक टन चिनी आयात अनुमतिका लागि वाणिज्य मन्त्रालयमा निवेदन दिएको छ। दशैं तिहारलाई चिनी अपुग हुने देखिएपछि आयात गर्न अनुमति मागिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए।
उनका अनुसार कम्पनीमा ३५ सय टन चिनी मौज्दात रहेको छ। उक्त परिमाणको चिनीले ४५ दिनको माग धान्न सकिने छ।
‘समयमै चिनी आयात नगरे दशैं तिहारलाई चिनी न्यून हुन्छ, मन्त्रालयबाट स्वीकृत हुने बित्तिक्कै हामी आयात प्रक्रिया अघि बढाउँछौ,’ उनले भने।
त्यस्तै स्वदेशी चिनी उद्योगसँग भने ६३ हजार मेट्रिक टन चिनी मौज्दात छ। उक्त परिमाणको चिनीले ४ महिनाको माग धान्न सकिने चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए।
उनका अनुसार लकडाउनले गर्दा बिस्कुट उद्योग तथा पार्टी प्यालेस बन्द हुँदा चिनी खपत घटेको छ। पहिला मासिक २० हजार टन चिनी खपत हुन्थ्यो, अहिले ८ देखि १० हजार टन चिनी खपत भइरहेको छ।
चिनीको खपत घट्दै गएकाले ठूलो परिमाणमा चिनी अपुग नहुने उनी बताउँछन्।
‘पहिले जस्तो बढी चिनी खपत हुने उद्योग बन्द छन्, त्यो भएर पनि हामीलाई धेरै चिनी अपुग हुँदैन,’ उनले भने।
साल्ट ट्रेडिङले स्वदेशी उद्योगलाई समस्या नहुने गरी चिनी आयात गर्नुपर्ने उनी बताउँछन्। भारतीय चिनी सस्तो हुने भएकाले आयातमा भन्सार छुट दिन नहुने उनको तर्क छ। आयात गरिएको चिनी दशैं–तिहारमा मात्र बेचिनु पर्ने उनले बताए।
साल्ट ट्रेडिङले १ लाख ३ हजार टन नून गोदाममा मौज्दात रहेको बताएको छ। त्यस्तै, ४५ हजार टन आउने क्रममा रहेको छ। संस्थाका अनुसार नुन दुई तिन दिन भित्रमा नेपाल आइपुग्ने छ। उक्त परिमाणको नुनले ९ महिनाको माग धान्न सकिन्छ।