विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण चैत ११ देखि भएको लकडाउन अहिले विस्तारै खुकुलो हुँदै गएको छ।
सरकारले खाद्यान्न, अत्यावश्यक उद्योगधन्दा खोल्न दिएको छ। यसले गर्दा बजारमा मानिसको आवत जावत हुन थालेको छ। बजारमा चहल पहल सुरू भएसँगै कुखुराको मासुको मूल्य बढेको छ।
लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको थियो। अहिले ३ सय ६० देखि ७० रूपैयाँसम्म पुगेको छ।
बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की बताउँछन्।
‘सरकाले कुखुराको मासुको पसल खोल्न दिएपछि कुखुराको मासुको खपत बढेको छ। त्योसँगै मूल्य पनि बढेको छ,’ उनले भने, ‘लकडाउनले गर्दा किसानले चल्ला हालेनन्, अहिले बजारमा ज्युँदो कुखुरा अभाव छ।’
कुखुराको मासुको मूल्य अझै बढ्न सक्ने उनी बताउँछन्।
‘लकडाउन अलि खुकुलो भएपनि तत्कालै किसानले चल्ला हाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘दाना, पानी पुर्याउन किसानसँग अहिले लगानी गर्ने पैसा छैन।’
ऋण गरेर चल्ला हालेपनि अवस्था के हुने हो भन्ने डरले किसानले कुखुरा पाल्न नसकेको काभ्रेस्थलीका कुखुरा पालक किसान राजन अधिकारी बताउँछन्।
‘चल्ला, दाना तथा आवश्यक औषधि त किसानले डिलरबाट उधारोमा ल्याउन सक्छन्,’ उनले भने, ‘तर पछि अवस्था भयावह भएर कुखुरा नबिक्ने हो की भन्ने डरले किसानले चल्ला हाल्न सकेका छैनन्।’
बजारमा कुखुराको माग बढेकाले कुखुरा खोज्न कोल्ड स्टोरहरू गाउँगाउँमा आएको उनले बताए।
अहिले भने किसाले पनि कुखुराको मूल्य पाएको उनी बताउँछन्।
‘लकडाउनभन्दा पहिले हालेको कुखुराले मूल्य पाएन, घाटा लाग्यो,’ उनी भन्छन्, ‘पछि लकडाउनकै बिचमा आँट गरेर कुखुरा हाले ४ लाख फाइदा भयो।’
उनकाअनुसार उक्त समयमा प्रतिकिलो २ सय २० देखि २ सय ४० रूपैयाँ मूल्य पाइएको थियो। त्यतिखेर दाना र चल्लाको मूल्य घटेकाले पनि आफूलाई राम्रो आम्दानी भएको उनी बताउँछन्।
‘त्यतिखेर दाना ५० किलोको बोरामा २ सय रूपैयाँ घटेको थियो, चल्ला पनि प्रतिगोटा ३० रूपैयाँले हालेकाले फाइदा भयो,’ उनले भने, ‘अहिले चल्लाको मूल्य बढेकोले राम्रो आम्दानी हुँदैन, चल्ला हाल्ने की नहाल्ने दोधारमा छु।’
कुखुराको मूल्य बढेकाले चल्लाको मूल्य पनि बढ्दै गएको छ। लकडाउनको दोस्रोसाता प्रतिगोटा ३० रूपैयाँमा भएको चल्ला अहिले ७० रूपैयाँ पुगेको छ।
बजारमा कुखुराको मूल्य बढेपछि चल्लाको मूल्य पनि क्रमशः बढ्दै गएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए।
‘अहिले कुखुराको मासुको मूल्य बढेको छ,’ उनले भने, ‘त्यसले चल्लाको मूल्य पनि बढाएको छ।अस्ति हामीले जिल्लासँग मिटिङ राखेका थियौं, बजारमा कुखुराको अभावले कतिपय मासु पसलनै बन्द भएको बताउँदै थिए' उनले भने।
उनकाअनुसार लकडाउनको अवधिमा ६० दिनसम्म किसानले कुखुरा नहाल्दा अहिले बजारमा कुखुराको अभाव भएको छ।
लकडाउन अवधिमा किसाले चल्ला नहाल्दा पोल्ट्री व्यवसायीले १४–१५ अर्ब घाटा खाएको गुनासो गरेका छन्।
किसानले चल्ला नलिँदाखेरी व्यवसायीहरुले ठूलो संख्यामा नष्ट गरेकाे पोखरेलले जानकारी दिए। सामान्यतया १ हप्तामा ४२ लाख चल्ला उत्पादन हुने उनको भनाइ छ। ८ हप्तामा ३ करोड ३६ लाख चल्ला नष्ट गरिएको उनले बताए।
तर भ्याली कोल्ड स्टोरका हरिकृष्ण रावल भने मासुको माग धेरै बढेकै कारण तत्काल मूल्य आकाशिने सम्भावना देख्दैनन्। मागअनुसारको उत्पादन नभएमा आउने समस्यालाई छाड्ने हो भने खपत पनि न्यून भएकाले धेरै माथि नजाने उनको भनाइ छ।
‘अहिले बढी मासु खपत हुने होटल, रेष्टुरेन्ट बन्द छन्। घरायासी खतपकै लागि उत्पादन नपुग्ने अवस्था आएको छैन’ रावलले भने।