लकडाउनले गर्दा ३ महिनापछि खुलेको बजारमा केही वस्तुको व्यापार चम्किएको छ। व्यवसायीहरूका अनुसार समग्र क्षेत्रको अवस्था शिथिल भए पनि केही क्षेत्रको व्यापार सन्तोषजनक रहेको छ।
तीन महिना बढी समयसम्म बन्द रहेको बजार खुल्नेबित्तिकै मोबाइल, मदिरा र मोटरसाइकल तथा स्कुटरको व्यापार चम्किएको छ।
बजार खुलेपछि सबभन्दा राम्रो व्यापार मोबाइलको भएको छ। अघिल्ला वर्षहरूको दसैंमा हुने जस्तो व्यापार यो वर्ष साउनमै भएको छ।
मोबाइलको व्यापार राम्रो हुनुमा विभिन्न कारकले काम गरेका छन्। सामान्यतया नेपाली बजारमा मोबाइलका नयाँ उपभोक्ता सिर्जना हुने समय जेठ असार हो।
विद्यालय तहको औपचारिक शिक्षा पूरा गरेपछि उच्च माध्यमिक तहमा जाने धेरै विद्यार्थीले पहिलोपटक मोबाइल किन्ने गरेका थिए। तर यो वर्ष भने लकडाउनका कारण उनीहरूले त्यस्तो अवसर एकैपटक साउनमै पाए।
अर्को कारण भनेको लकडाउनका कारण विद्यालयहरूले पनि अनलाइनबाट सिकाइ गतिविधि अगाडि बढाए।
ल्यापटपभन्दा सस्तो पर्ने र काम पनि चल्ने भएकाले धेरै अभिभावकको रोजाइ मोबाइलमा पर्यो।
'यस्तै कारणले पनि धेरै मोबाइलको माग सिर्जना हुन गयो,' न्यूरोड मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले भने।
अवैध व्यापार रोकिएकाले मोबाइलको माग बढेको मोबाइल आयातकर्ताहरू बताउँछन्।
सामान्य अवस्थामा नेपालको दक्षिणी सीमामा नेपाली बजारमा मोबाइलको कारोबार धेरै हुँदैन थियो।
धेरैजसोले भारतीय बजारबाटै मोबाइल खरिद गर्ने गरेका थिए। तर पछिल्लो समय लकडाउनका कारण भारतीय बजारमा पहुँच भएन। यही कारण नेपाली बजारमा माग एकाएक बढ्यो।
'नेपालको ४० प्रतिशत चोरी–पैठारी मोबाइलले पाउँथ्यो। त्यो बजार लकडाउनले बन्द छ, अहिले हामीले पाएका छौं,यसले पनि नेपाली बजारमा मोबाइलको विक्री बढेको छ,’ मोबाइल आयातकर्ता संघका अध्यक्ष तथा सामसङको आधिकारिक विक्रेता आइएमएस समूहका अध्यक्ष दीपक मल्होत्राले भने।
बजार खुलेपछि समग्र अटोमोबाइल क्षेत्रको व्यापार खासै नबढे पनि दुई पांग्रेको व्यापारमा भने उछाल आएको छ।
लकडाउन पछिको अवस्थामा सार्वजनिक यातायात नखुलेको, खुले पनि मान्छेहरू सार्वजनिक यातायातमा यात्रा गर्न डराएका कारण सम्भव हुने जतिले मोटरसाइकल तथा स्कुटर खरिद गरिरहेको व्यवसायीहरूले बताएका छन्।
मोटरसाइकल र स्कुटरका नयाँ ग्राहकहरू अप्रत्यासित रूपमा बढेको टिभिएसका मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल बताए।
‘रोकिएर बसेका ग्राहक सकिएपछि सेल्स ग्रोथ कम हुन्थ्यो भन्ने आकलन थियो। तर सेल्सको ग्रोथ रोकिएको छैन,’ उनले भने।
हाल टिभिएसको मात्रै ३० देखि ४० प्रतिशत सेल्स बढेको अग्रवालको दाबी छ।
लकडाउनपछि होण्डाको मोटरसाइकल र स्कुटरको विक्री ५० प्रतिशत वृद्धि भएको होण्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिमा महाप्रबन्धक सोहन श्रेष्ठले जानकारी दिए।
‘कोरोना भाइरसको महामारीले दुई पांग्रे सवारी साधन नेपालीको अभिन्न अंग हो भन्ने प्रमाणित गरिसकेको छ। सवारी साधन हुनेले निर्धक्क आफ्नो काममा जान पाए, नहुनेले सार्वजनिक यातायात खुला भनेर पर्खनुको विकल्प भएन,’ श्रेष्ठले सेतोपाटीसँग भने।
लकडाउन पछिको विक्री सन्तोषजनक रहेको एचएच बजाजकी महाप्रबन्धक पुनम सिंहले जानकारी दिइन्।
‘अगाडिको ३ महिना सेल्स रोकिएको कारण यो अवस्थामा १ महिनाको सेल्स हेरेर हामी बोल्न मिल्दैन। मोटरसाइकल खरिद गर्न सामान्यतया ग्राहकले नयाँ वर्ष वा दसैं पर्खनुहुन्छ। नयाँ वर्ष अघिदेखि मोटरसाइकल खरिद गर्न खोजेका ग्राहकको कारण पनि सबैको सेल्स बढेको जस्तो देखिएको हो,’ उनले सेतोपाटीसँग भनिन्।
बजार खुलेपछि मदिराको व्यापारमा पनि खासै गिरावट नआएको व्यवसायीहरू बताउँछन्। समग्र मदिराको व्यापारमा गिरावट आए पनि रिटेल व्यापारमा भने उत्साह नै रहेको व्यवसायीहरूले बताएका छन्।
होटल,रिसोर्ट तथा रेष्टुरेन्टमा खपत हुने मदिराको व्यापारमा कमी आए पनि पसलबाट विक्री हुने व्यापारमा भने खासै कमी आएको छैन।
तनाव खुसी, रमाइलो र केही साँस्कृतिक कार्यक्रममा पनि मदिरा प्रयोग गर्ने भएकाले व्यवसायमा ठूलो असर नगरेको मदिरा व्यवसायी सविन उप्रेतीले बताए।
‘लकडाउनले असर नगरेको क्षेत्र त कुन होला र तर मदिरा तनाव, खुसी र फुर्सदमा खाने भएकाले व्यापार नै शून्य भने भएको छैन,’ उनले भने।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्ट खोल्न अनुमति दिएको छ। यद्यपी रेष्टुराँ भने यसअघि नै खुलिसकेका थिए। सीमित क्षमतामा खोल्न पाउने र त्यसका लागि निश्चित मापदण्ड अपनाउनुपर्ने सरकारले नियम बनाएको थियो।
त्यही नियम पालना गर्दै खुलेका रेष्टुराँ व्यापारमा खासै उत्साह छैन। सरकारले पूर्ण रूपमा खोल्नका लागि अनुमति दिए पनि मागअनुसारको क्षमतामा खुल्दै आएका छन्।
'बिहान उठेर १० जना कामदारलाई भ्याइनभ्याइ हुन्थ्यो। अहिले ४ जनालाई पनि काम छैन,’ स्वीटस् सञ्चालक सुनिल गुप्ताले भने, ‘पहिले दैनिक २ सय समोसा बनाउने ठाउँमा अहिले ४० पिस बनाउँछौं, १० किलो जेरी बनाउने ठाउँमा १ किलो बनाउँछौं।’
उनका अनुसार लकडाउन पहिले उनको रेष्टुराँमा १० जना कामदार थिए। अहिले ४ जना छन्। गाउँबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने झन्झट व्यर्होनुभन्दा त आफैं खटिन बेस भएको उनी बताउँछन्।
असार १ गतेदेखि पसल खोलेका उनको व्यापार सामान्य अवस्थाको तुलनामा ८० प्रतिशत न्यून छ।
‘विश्वनै कोरोनाको मारमा छ। आज घाटा भए पनि भोलि फाइदा होला भन्ने आशमा छौं,’उनले भने।
चाबहिलको जुम क्याफेकी सरू तिमिल्सिना पनि लकडाउन पछि व्यापार व्यापार २० प्रतिशतमा झरेको बताउँछिन्।
उनले लकडाउनपछि क्याफे खोलेको एक महिना भयो।
गौरीघाटको एवन क्याफेको पनि अवस्था उस्तै छ। पहिलेको तुलनामा अहिले व्यापार आधा पनि नहुने क्याफेका म्यानेजर जगदिश खड्का बताउँछन्।
उनले लकडाउनपछि दुई हप्ता जति भयो क्याफे खोलेको।
साउने संक्रान्तिदेखि नेपालीको चाडपर्व सुरू हुन्छ। साउन महिना विशेष गरी मेहन्दी, हरियो पोते, चुरा लगाउने महिना हो। तर पनि यसप्रति महिला दिदीबहिनी आकर्षण नभएको एसएस कस्मेटिक्स् बानियाँटारकी जमुना धनकोटी बताउँछिन्।
उनले लकडाउनपछि पसल खोलेको एक महिना जति भयो। गत वर्षको तुलनामा व्यापार घटको उनको अनुभव छ।
‘पहिले साउनकै लागि भनेर कति नयाँ सामान हालिन्थ्यो, मेहन्दी, हरिया चुरा पोतेको राम्रो व्यापार हुन्थ्यो, अहिले छैन,’ उनले भनिन्।
गत वर्षको तुलनामा आधा पनि व्यापार नभएको उनले बताइन्।
उनले कोभिड–१९ को त्रासले ग्राहकलाई स्यानिटाइजर लगाएरमात्र भित्र छिराउने गरेकी छिन्।
धनकोटीको मात्र होइन सँगै रहेको अस्मिता कँडेलको कस्मेटिक्स् एण्ड ब्युटी पार्लरको अवस्था पनि उस्तै छ। लकडाउनले व्यापारमा धेरै असर पारेको उनी बताउँछिन्।
उनले कोभिड–१९ को त्रासले मेकअप, थ्रेडिङ लगायतको काम भने बन्द नै गरेकी छन्। कोही चिनेजानेका आएकालाई मात्र पार्लरको सेवा दिइने उनले बताइन्।
त्यस्तै, रेडिमेड गार्मेन्टको व्यापार पनि अहिले खासै नभएको कलर्स फेसन बानियाँटारकी विनिता श्रेष्ठ बताउँछिन्।
‘बजारमा सामान पनि आएको छैन, नयाँ सामान आए व्यापार हुने हो,’ उनले भनिन्।
त्यस्तै, कपडाको व्यापार गर्ने सपना पराजुलीको पनि अवस्था उस्तै छ।
उनले पसल खोलको दुई महिना जति भयो तर कति दिन बोनी नै नगरी पसल बन्द गर्नु परेको उनी बताउँछिन्।
‘पहिलेको तुलनामा अहिले व्यापार ठप्पै छ, बोनी गर्न पनि गाह्रो छ। यसो चिनेजानेका मान्छे आएर सामान लिएर जान्छन्,’ उनले भनिन्।
कपडामात्र होइन। अत्यावश्यक वस्तु खाद्यान्नको व्यापार पनि खासै बढेको छैन। लकडाउनपछि काठमाडौं छाडेर गाउँ गएकाहरू सबै फर्किएका छैनन्।
अर्कोतिर भने लकडाउनको समयमा धेरैले घरमै स्टक बढाउँदै लिएका थिए।
यही कारण पछिल्लो समय खाद्यान्नको व्यापारमा पनि खासै वृद्धि नभएको व्यवसायीहरू बताउँछन्।
बजार खुलेपछि पनि व्यापार बढ्न नसकेको छहरा ट्रेडिङ इन्टरप्राइजेजका रामेश्वर अधिकारीले जानकारी दिए।
'खाद्यान्नको व्यापार लकडाउन अघि राम्रै थियो। बीचमा धेरै मानिसहरू घर गए आउन पाएका छैनन्, अहिले त व्यापार नै छैन,’ उलने भने।
स्कुल कलेज नखोली खाद्यान्नको व्यापार नबढ्ने उनले भनाइ छ।
लकडाउन र बाटोको कारणले सामान ल्याउन गाह्रो भएको उनको बुझाइ छ।
घर निर्माण तथा फिनिसिङको काम नहुँदा निर्माणसँग सम्बन्धित सामग्रीको व्यापारमा वृद्धि हुन सकेको छैन।
सिमेन्ट,छड जस्ता निर्माको क्रममा चाहिने सामग्रीको व्यापार थोरै हुने सिजन भए पनि फिनिसिङका लागि राम्रो समय मानिने साउनपछिको अवस्था यो पालि खासै बढ्न सकेको छैन।
पहिलेको तुलनामा अहिले व्यपार शून्य भएको शिवशक्ति कार्पेटका किशोर कार्कीले बताए।
‘मान्छेको लकडाउनका कारण आर्थिक अवस्था कम भएको छ, घरमा खाद्यान्न किन्न छोडेर कसले कार्पेट हाल्छ र!,’उनले भने, ‘हाम्रो त पसल खोल्ने र बन्द गर्ने मात्र काम भएको छ।’