विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसले सबैभन्दा बढी असर होटल तथा रेष्टुरेन्ट क्षेत्रमा पारेको छ। लकडाउनले गर्दा ३ महिनापछि खुलेको बजारमा होटल तथा रेष्टुरेन्ट क्षेत्र भने शिथिल छ।
कोरोनाको त्रासले मानिसले बजारमा गएर अझै निर्धक्क साथ खाना तथा खाजा खान सकेका छैनन्। पहिले जस्तो होटलमा आएर मानिसले मजा लिएर नखाने गरेको एवन क्याफेका म्यानेजर जगदिश खड्काले बताए।
रेष्टुरेन्टमा आएर खाने ग्राहकहरुको स्वभावमै परिवर्तन भएको छ। अहिले बाध्यताबस आउनेहरु धेरै भएको व्यवसायीहरुको अनुभव छ।
‘बाहिर निस्केर पहिले जस्तो जति मजा लिएर ग्राहकले खान्थे अहिले त्यसरी खाँदैनन्, अहिले डराएर खाए जस्तो लाग्छ,’ उनले भने।
पहिले रेष्टुरेन्टमा आएपछि ग्राहकहरु लामो समय बस्थे। गफ गरेर समय बिताउनेहरु पनि हुन्थे तर अहिले त्यस्तो नभएको उनको अनुभव छ।
लकडाउनपछि खुलेका रेष्टुरेन्टका सञ्चालकहरुले अनुभव गरेको अर्को कुरा हो ग्राहकको ट्रेन्डमा परिवर्तन। एक त मान्छे नै थोरै आइरहेका छन्। अर्को पहिलेजस्तो परिवारसहित ठूलो समूहमा एकैपटक आउँदैनन्।
बालबच्चा तथा परिवार लिएर आउने ग्राहकको संख्या घटेको बोता म:मका अप्रेसन इञ्चार्ज जुनेश प्रधान बताउँछन्।
‘कोरोनाको बेला बाहिर गएर खान हुँदैन भन्न्ने खालको ग्राहकको व्यवहार त छैन तर बालबच्चा लिएर आउने भने घटेका छन्,’ उनले भने।
अहिले होटल तथा रेष्टुरेन्ट खोल्नका लागि सरकारले नियम बनाइदिएको छ। यस्तै नियमका कारणले गर्दा व्यवसायको शैली नै परिवर्तन भएको छ।
कतिपय रेष्टुरेन्टहरुले टेवलैपिच्छे स्यानिटाइजर राखिदिएका हुन्छन्। भने कतिले गेट र काउन्टरमा। त्यस्तै प्रत्येक पटक टेवल खाली हुँदा स्यानिटाइज गर्ने, छिटोछिटो शौचालयको स्यानिटाइज गर्नेजस्ता कामहरु भइरहेको व्यवसायीहरुले बताएका छन्।
एवन क्याफेका सञ्चालक खड्काअनुसार भित्र पस्नका लागि अनिवार्य मास्क लगाउनैपर्ने व्यवस्था गरिएको छ।
पछिल्लो समय रेष्टुरेन्टको व्यापारको शैली अर्को तरिकाले पनि फेरिएको छ। लकडाउनको बीचमै कतिपय रेष्टुरेन्टले होम डेलिभरीको सुविधा दिंदै आएका थिए।
फुड डेलिभरी प्लेटफर्मसँगको साझेदारीमा सुरु गरेको यस्तो काम अहिले पनि जारी छ। कतिपयको भने पछिल्लो समय घटेको पनि छ।
स्यान्को रोलका सञ्चालक एन प्रकाश राईकाअनुसार ग्राहकहरु आएपनि होम डेलिभरीलाई पनि निरन्तरता दिइएको छ।
आजभोलि व्यवसाय घाटामा चलेको उनले बताए।
'रेष्टुरेन्टमा आएर खाने कम भएपनि मगाएर खाने बढेका थिए तर पछिल्लो समय दिन प्रतिदिन कोरोनाको संख्या बढेकोले मगाएर खानेको संख्या पनि घटेको छ।प्राथमिकता त होम डेलिभरीलाई नै दिएका छौं। यहाँ आउने ग्राहकको लागि पनि एउटा रूममा एउटा मात्र टेबल राखिएको छ' उनले भने।
पूर्ण रुपमा रेष्टुरेन्ट खुला गर्नुभन्दा पहिला सरकारले टेकवे सेवामात्र दिन मिल्ने भनेको थियो। जुन सेवा रेष्टुरेन्टमा अहिले पनि जारी छ। संक्रमणको संख्या काठमाडौंमा बढेपछि यस्तै सेवामा ग्राहकहरु बढेका छन्।
रेष्टुरेन्टमै बसेर खानेभन्दा ग्राहकको चाहना घरमै लिएर खाने,मगाएर खानेप्रति बढी भएपछि व्यवसायीहरुले पनि त्यहीअनुसार सेवा दिइरहेका छन्।
पछिल्लो समय होम प्याकिङ सेवालाई बढी प्राथमिकता दिइएको रातो भाले रेष्टुरेन्टका म्यानेजर प्रेम बहादुर श्रेष्ठले बताए। सामान्य अवस्थामा पनि यस्तै सेवा दिइरहेको भएपनि मूल सेवा नै भएपछि खाना पउकानेदेखि मेन्यु निर्धारणसम्म परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
‘रेष्टुरेन्टमा होम प्याकिङ, त्यहीँ बसेर खाने दुवै सेवा छ। तर हामीलेभने होम प्याकिङलाई नै बढी जोड दिएका छौ' श्रेष्ठले भने।
पछिल्लो समय रेष्टुरेन्टहरुमा बदलिएको अर्को शैली हो भुक्तानी। ग्राहकहरुले उपलब्ध भएसम्म नगदमा भुक्तानी धेरै गर्दैनन्। व्यवसायीहरुकाअनुसार अनलाइन बैंकिङ तथा अन्य भुक्तानीका माध्यम बढी रुचाउने गरेका छन्। त्यहीअनुसाार व्यवस्थापन गरिएको उनीहरुले बताएका छन्।