प्रशासनले अनलाइन मार्फत् खाद्यान डेलिभरी सेवा रोक्दा उपभोक्ता सरकारकै सहुलियत सेवाबाट बञ्चित भएका छन्।
बिहिबार प्रशासनको धरपकडपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडसँग समन्वय गरेर निशु:ल्क खाद्यन्न ढुवानी गरिरहेको सस्तो डिलले आफ्नो सेवा रोकेको हो।
न्यूरोड, कमल पोखरी लगायतका क्षेत्रमा घन्टौ गाडी होल्ड गरेको कारण आजबाट डेलिभरी रोकिएको सस्तो डिलका संस्थापक अमुन थापाले जानकारी दिए।
‘हामीले डेलिभरी गर्ने ५० देखि ६० प्रतिशत सामान सरकारी सहुलियतको हो। जसबाट हामीले नाफा त लिनै मिलेन, डेलिभरी चार्ज समेत लिँदैनौ,’ थापाले सेतोपाटीसगँ भने ‘ हामीले मार्जिन नराखेर पुर्ण सामाजिक कार्य गर्दा पनि प्रशासनबाटै दु:ख पाउछौं भने कसरी काम गर्ने?’
अहिले कुनैपनि सरकारी निकायको एकआपसमा सहकार्य नमिलेको घानमा अनलाइन डेलिभरी कम्पनी परेको थापाको तर्क।
‘पहिलो कुरो त पसलमा भीडभाड गर्नु राम्रो कि, डेलिभरी गरेको राम्रो? हामी पिपिई लगाएर, गाडीलाई टिप पिच्छे डिस्इन्फेक्सन गरेर, मास्क, ग्लब, सेनिटाइजर प्रयोग गरेर, क्यासलेस वा पैसालाई नछोई कारोवार गरिरहेका छौ। तर प्रहरीले हाम्रा स्टाफलाई कोरोना सार्न हिडेको भनेर अपहेलना गर्नुहुन्छ,’ उनले भने।
हिजो प्रहरीले बिना सूचना अचानक अनलाइन अर्डर लिएर उपभोक्ताका घर–घरमा तरकारी तथा खाद्यान्न आपूर्ति गर्दै आएका ’इ–कमर्स’ कम्पनीका ८० जना सञ्चालक र कर्मचारीहरूलाई धरपकड गरेको थियो।
निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै कोही कर्मचारीलाई सामान पुर्याउँदै गरेका बेला बाटोबाटै त कोही सञ्चालकलाई कार्यालयभित्रै बाट पक्राउ गरेको हो। उनीहरुलाई हिजै राती अब उपरान्त डेलिभरी सेवा नदिने कागज गराएर छाडिएपछि आज बाट त्यस्ता सेवा बन्द छन्।