लकडाउन र निषेधाज्ञा खुकुलो बनाउँदा पनि केही क्षेत्रमा अझै बन्देज छ। त्यसमध्ये एक हो पर्यटन।
भुइँचालोपछाडि विस्तारै गति लिन थालेकाे र पर्यटन वर्ष घोषणासँगै आशाका पालुवा पलाएको पर्यटन क्षेत्रमा कोरोनाले ठूलाे क्षति पुगेकाे छ।
यसमा होटल, रेस्टुरेन्ट, पर्यटकीय स्थान र साहसिक खेल (एड्भेन्चर) प्रत्यक्ष प्रभावित भएका छन्। सञ्चालनको मुखैमा रहँदा लकडाउन मारमा परेका विभिन्न साहसिक खेल आयोजना गर्ने केही कम्पनीसँग हामीले कुराकानी गरेका छौं।
'बन्जी नेपाल एड्भेन्चर्स' कम्पनीले पोखरामा लकडाउनअगाडि नयाँ बन्जी टावर बनाएको थियो। उद्घाटनको मुखैमा कोरोना आइदियो, परीक्षण समेत गर्न नपाई बन्द भयो।
तनहुँ राईपुरका सन्तोष भट्टराईले आठ साथीसँग मिलेर बन्जी बनाएका हुन्। प्रतिव्यक्ति एक/एक करोड गरेर ८ करोड लगानी छ। गत वैशाख १ गतेदेखि सञ्चालन गर्ने योजना थियाे, चैत ११ देखि नै लकडाउन भइदियो।
'त्यतिखेर हाम्रो ९० प्रतिशत काम सकिएको थियो। एक हप्ता त हो नि, केही समयमा खुलिहाल्छ भन्ने ठानेका थियौं,' कम्पनीका अध्यक्ष भट्टराईले भने, 'आधा वर्ष नै बित्यो।'
समयमा खोल्न नपाउँदा आफूहरूले २-३ करोड घाटा व्यहोरेकाे र लगानी समेत बढ्दै गएको उनले बताए।
'आठ करोडमा सक्ने योजना थियो। अब त सञ्चालन खर्च थपिँदै साढे आठ करोड पुगिसक्यो,' उनले भने, 'यस्तै हो भने १० करोड पनि भेट्छ।'
उनका अनुसार महिनामा भाडा, तलब, बत्ती, पानी, इन्टरनेट तथा सुरक्षा गार्ड गरी २० लाख खर्च हुन्छ। त्यो खर्च लागतमै जोडिँदै गएको छ। बन्जीमा कुनै उपकरण चलाए पनि, नचलाए पनि ५/६ महिनामा मिति सकिन्छ। ती सामान कुनै हामफालेको आधारमा, कुनै मौसमको त कुनै उत्पादन भएको मितिका आधारमा काम नलाग्ने हुन्छन्। लगभग ६०-७० लाखको उपकरण अब यसै काम नलाग्ने हुने उनको भनाइ छ।
'बेलैमा खोल्न पाएको भए मासिक खर्च उठ्थ्यो,' भट्टराईले भने, 'कुनै लगानीकर्ताले सुरूमै यति फाइदा हुन्छ भनेर सोचेको हुँदैन। खर्च उठाउने ध्याउन्न हुन्छ। महिनाको २० लाख आउँछ भन्ने थियो, ५ महिना भइसक्यो चलाउनै पाइएको छैन।'
बाहिरबाट प्राविधिक ल्याएर काम गर्नुपर्ने र अन्य क्षेत्रजस्तो कर्मचारी कटौती पनि गर्न नमिल्ने उनले बताए। अमेरिका र जापानका प्राविधिकहरूको मासिक तलब नै एकदेखि डेढ लाखसम्म भएको र महिनामा ५-६ लाख तलबमै खर्च हुने उनी बताउँछन्।
सरकारले पर्यटन क्षेत्र बेवास्ता गरेकाले व्यवसाय थलिएको उनको भनाइ छ।
"खाद्यान्न पसलमा कोरोना नसर्ने तर पर्यटन क्षेत्र खोल्दा सर्ने भन्ने हुन्छ र,' उनले भने, 'रोगबाट बचाउनु मात्र सरकारको दायित्व होइन। देशमा भएका उद्योगधन्दा, व्यवसाय बचाउनु पनि दायित्व नै हो।'
हाम्रो अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिने पर्यटन क्षेत्र खाेल्न नदिँदा अर्थतन्त्र खुम्चँदै उनी बताउँछन्, 'निश्चित पहुँच भएका होटललाई क्वारेन्टाइन बनाएर आम्दानी गर्ने बाटो खोलिदिए, अरूलाई बेवास्ता गर्ने यो राज्यको कस्तो निर्णय हो?'
साहसिक खेलमा विशेषगरी सुरक्षामै ध्यान दिइनाले काेराेनाको सुरक्षा पनि अपनाएर खौल्छौं भन्दा पनि पर्यटन मन्त्रालयबाट कुराको सुनुवाई नभएको उनको गुनासो छ।
'बन्जीमा लगानी सुरक्षित छ। केही सामान खेर जाने हुने हो। बढी लगानी भएका भौतिक संरचनामा समस्या छैन,' उनले भने, 'लकडाउन खोलिदिए केही समयमा लगानी उठाउन सकिएला।'
सरकारले अनुमति दिए तिहारमा बन्जी सञ्चालन गर्ने उनको योजना छ।
यो बन्जी यो पोखरा-१७, महतगौंडा (माउन्टेन म्युजियमको आडैमा) छ, लेकसाइडबाट तीन किलोमिटर दुरीमा। सेती नदीको खोंचमा बनिरहेको बन्जीको प्लाटफर्म नदीदेखि १२१ र १२५ मिटरमा छन्। साधारण बन्जी १२१ मिटर अग्लो प्लाटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत चाहिँ १२५ मिटर अग्लो प्लाटफर्मबाट गराइने भट्टराईले बताए।
त्यस्तै, द क्लिफ प्रालिका अनुसार उसले पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमूना पिङ बनाएको छ। ती साहसिक खेल वैशाख १ गते नै सञ्चालन गर्ने योजना थियो।
यसमा हालसम्म २८ करोड खर्चेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए, 'कोरोनाले बर्बाद पार्यो।'
तोकिएको मितिमा खोल्न नपाउँदा महिनामा २० लाख लगानी बढ्दै गएको उनी पनि बताउँछन्। कम्पनीमा २३ कर्मचारी छन्, तलबमा मात्रै मासिक ४ लाख खर्च भएको कार्की बताउँछन्। समयमा खोल्न पाएको भए मासिक एक हजार ग्राहक आउने र ४० देखि ५० लाख आम्दानी हुने अनुमान उनको छ।
अहिले बैंकबाट ऋण लिएर खर्च गरिरहेको कार्कीले बताए। पर्यटन व्यवसाय कोरोनाअघिको अवस्थामा आउन अझै २ देखि ५ वर्ष लाग्ने भएकाले सञ्चालनै मात्र गर्न दिए पनि ठूलो राहत हुने उनले बताए।
'कहिले सिडिओ कार्यालय, कहिले केन्द्रले बन्द गर्छन्। यसले हामीलाई व्यवसाय माथि उठाउन गाह्रो हुन्छ,' उनले भने, 'अरू केही राहत दिन पर्दैन, सरकाले खोल्न दिए हुन्छ।'
कम्पनीले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ बनाएको दाबी गरेको छ।
कार्कीका अनुसार बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोंचमा निर्माण गरिएको स्काइ साइक्लिङको उचाइ दुई सय २८ मिटर छ भने लम्बाई तीन सय मिटर छ। बन्जी पनि यही उचाइमा छ।
दुईतर्फी तीन सय मिटर लम्बाई रहेको रूटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइएको उनकाे दावी छ।
साइक्लिङमा साइकल र यात्री दुपैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्यान्डल भएको साइकल डोरीमा कुदाइन्छ।
जमिनबाट १२ मिटर अग्लो पिङ गुलेली शैलीमा बनेको छ। सामान्यतया पिङमा अरूले हल्लाइदिनु पर्ने हुन्छ। यसमा मान्छे बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ, अनि पिङ मच्चिन्छ। पिङ खेल्न प्रतिव्यक्ति दुई सय रुपैयाँ लाग्ने कार्कीले बताए। यस क्षेत्रमा अन्य गतिविधि थप गरेर एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको कार्की बताउँछन्।
बनेपाको 'क्यानोपी जिपलाइन' पनि वैशाख १ गते नै सञ्चालन गर्ने योजना थियो। त्यो पनि लकडाउनले हुन सकेको छैन। कहिलेबाट सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको जिपलाइनका निर्माता विश्व बजगाईंले जानकारी दिए।
'हामीलाई लागेको घाटाको हिसाब नै निकाल्न सकेका छैन,' उनले भने, 'सरकारले एक/एक हप्ता गरेर लकडाउन थपिदिँदा झनै समस्या परेको छ। बरू एकै पटक भएको भए हामी त्यहीअनुसार खर्च कटाउँथ्यौं।'
तलब तथा अन्य खर्च बढ्दै गएकाले खोल्न दिए ठूलो राहत हुने उनको भनाइ छ। बनेपाको गौतम भिलेज रिसोर्टभित्र रहेको जिपलाइनमा करिब १ करोड खर्च हुने अनुमान छ।
'हामीले ८० लाख खर्च गरिसकेका छौं,' उनले भने, 'थप काम बाँकी छ। त्यसका लागि १५/२० लाख जति लाग्छ।'
यहाँ कंक्रिट टावर बनाइ रिसोर्टको छत जोडेर तीन चरणको जिपलाइन बनाइएको छ।