नेपाल आयल निगमलले विभिन्न ठाउँमा २० वटा अत्याधुनिक पेट्रोल पम्प बनाउने भएको छ। कहाँ-कहाँ पेट्रोल पम्प बनाउने भनेर अध्ययन गर्न निगमले आपूर्ति तथा वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
पेट्रोल पम्प बनाउनका लागि अध्ययन सुरू भइसकेको कार्यदलका संयोजक तथा निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।
उनकाअनुसार पूर्व-पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, फास्ट ट्रयाक, मदन भण्डारी राजमार्ग लगायतका ठाउँमा बनाउनेबारे अध्ययन भइरहेको छ।
अन्य क्षेत्रमा सरकारको प्रतिनिधित्व भएजस्तै पेट्रोल पम्पमा पनि सरकारको प्रतिनिधित्व आवश्यक रहेकोले निगम आफैंले पेट्रोल पम्प बनाउन लागेको उनले बताए।
‘निगमको पेट्रोल पम्पमा धेरैको जनचासो छ। निजी पेट्रोल पम्पबाट सर्वसाधारणको धेरै गुनासो आउँछ। त्यही भएर पनि निगम आफैंले पेट्रोल पम्प बनाउने योजना बनाएको हो,’ उनले भने।
उनकाअनुसार निगमको पेट्राल पम्प जस्तोसुकै अवस्थामा पनि २४सै घण्टा खुल्ला हुने छ।
निगमले पेट्रोल पम्प सरकारी जग्गामै बनाउने योजना बनाएको छ। त्यसको लागि आफ्नो कार्यलय भएको स्थानीय तहमा कहाँ खाली जग्गा छ अध्ययन गरिदिन निगमको प्रादेशिक कार्यलयलाई चिठी पठाएको उपाध्यायले जानकारी दिए।
‘स्थानीय तहमा कहाँ सरकारी खाली जग्गा छ। अध्ययन गरेर हामीलाई जानकारी दिन पत्र पठाइसकेका छौं,’ उनले भने।
पेट्रोल पम्प विनियमावलीमा भएको व्यवस्था अनुरूप ठाउँ हेरेर ६ देखि १० कठ्ठामा बनाइने छ।
एउटा पेट्रोल पम्प बनाउ कम्तीमा ५ करोड रूपैयाँ लाग्ने निगमको अनुमान छ। सो अनुरूप २० वटा पेट्रोल पम्प बनाउन १ अर्ब रूपैयाँ लाग्ने छ।
उक्त पेट्राल पम्प सोलारको सुविधासहित आगलागी नुहनेगरी निर्माण गरिने छ। पम्प अटोमेटिक सञ्चालन हुन्छ।
अध्ययन प्रतिवेदन चालू आव भित्रै बुझाइसक्ने उपाध्यायले जानकारी दिए।
निगमले भर्खरै भैरहवामा अत्याधुनिक पेट्रोल पम्प बनाएको छ। सो पेट्रोल पम्प सञ्चालनमा समेत आइसकेको छ।
नेपालगञ्जमा पेट्रोलपम्प बनाउन टेण्डर आह्वान भइसकेको निगमले बताएको छ।