देशमै सबभन्दा धेरै फूल खपत हुने ठाउँ बाग्मती प्रदेश हो। त्यसमा पनि आधाभन्दा बढी हिस्सा काठमाडौंले ओगटेको तथ्यांकले देखाउँछ।
नेपालका प्रायः सबै भू–भागमा सयपत्री फूल खेती हुन्छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र सिन्धुली लगायत केही जिल्लामा व्यवसायिक फूल खेती हुँदै आएको छ।
यसका बाबजुद तिहार र अन्य समयमा सयपत्री भारतबाट पनि आउँछ। यसपालि कोरोना महामारीका कारण देशकै फूल उत्पादनमा असर परेको छ। आयात पनि छैन। यस कारण तिहारमा फूल अभाव हुने हो कि अनुमान धेरैको छ।
तर यसमा कुनै चिन्ता गर्न नपर्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन्। उनका अनुसार नेपालमा फुलेकाे सयपत्रीले नै यसपालिको तिहार ढकमक्क हुनेछ।
'हाम्रो वार्षिक माग २२ देखि २५ लाख माला हो। यति मालाका लागि आवश्यक फूल नेपालमै उत्पादन हुँदै आएको छ,' श्रेष्ठले भने, 'पोहोर बजारमा २२ लाख स्वदेशी माला गएको थियो।'
अहिले कोरोनाका कारण फूलको माग र उत्पादन दुवै घटेको छ। एसोसिएसनकै अध्ययन अनुसार यो वर्ष तिहारमा १२ लाख सयपत्री र ३ लाख मखमली मालाको माग छ। माग कम भएपछि उत्पादन पनि घटेको श्रेष्ठले जानकारी दिए।
सयपत्रीमा हामी आत्मनिर्भर भइसके पनि भारतबाट ठूलो मात्रामा फूल आयात हुन्छ। आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशी फूलको लागत कम गर्ने कार्यक्रम ल्याउनु पर्ने उनी बताउँछन्।
'बाह्रै महिना उत्पादन हुने टनेल बनाउन सहयोग गर्ने, बिउ उत्पादन गर्ने, सरकारी खाली जमिन किसानलाई भाडामा दिने लगायत कार्यक्रमले आयात प्रतिस्थापनमा सघाउँछ,' उनले भने।
आयातित मालाभन्दा यहीँ उत्पादित फूल ताजा र सुन्दर हुने पनि श्रेष्ठ दावी गर्छन्।
'बाहिरबाट आउने माला धेरै अगाडि तयार पारिएको हुन्छ। ताजा देखिँदैन। स्वदेशी माला ताजा देखिन्छ,' उनले भने।
साथै सरकारले फूलको अध्ययन, अनुसन्धान र प्रविधि प्रयोगमा जोड दिनु पर्ने उनको भनाइ छ।
एसोसिएसनको अनुसन्धानले काठमाडौं उपत्यकामा बाह्रै महिना सयपत्री फूल उत्पादन सम्भव देखाएकाले सोहीअनुसार उत्पादनमा जोड दिँदै गए आयात क्रमशः कम हुने उनी बताउँछन्।
श्रेष्ठका अनुसार भारतबाट खासगरी 'कलकत्ते' (सुन्तले) प्रजातिको सयपत्री आउँथ्यो। यसको पनि अचेल नेपालमै खेती सुरू भइसकेको छ। सातै थाइल्यान्डको सयपत्रीको पनि खेती सुरू भएकाले यस वर्ष स्वेदेशी फूल नै बजारमा बढी देखिने छ।
माग कम भएकाले यस वर्ष बजारमा एउटा मालाको ६० देखि ७० रुपैयाँ पर्ने अनुमान एसोसिएसनले गरेको छ।
यो वर्ष बजार कम भएकाले फूल प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी बताउँछन्, 'उत्पादन र वितरण व्यवसायीले गरिहाल्छन्। हामीले उत्पादन बढाउन विभिन्न कार्यक्रम राखेका छौं।'
उनका अनुसार प्लाष्टिकको घर बनाउन दिइने अनुदान छनोटको क्रममा छ। पकेट कार्यक्रम भने स्थानीय सरकारलाई दिइएको छ। उपत्यकाका गोदावरी र नागार्जुन नगरपालिकामा फूलको कार्यक्रम छ। त्यसको लागि २५ लाख रूपैयाँ विनियोजन हुने छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले किसान, व्यवसायी र सरकार तीनै निकायको प्रयासबाट सयपत्री फूलमा नेपाल आत्मनिर्भर हुँदै गएको बताए।
'फूल प्रवर्द्धन नीति, पुष्प महोत्सवमा सहयोग, सयपत्री फूल खेती प्रवर्द्धन जस्ता कार्यक्रमले पनि उत्पादनमा धेरै टेवा पुगेको छ,' उनले भने।
साना किसानमार्फत देशैभरी सयपत्री फूल खेती विस्तार गर्न सकिने उनको भनाइ छ। फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) सँग सहकार्य गर्न उनले सुझाए।
सरकारले आयातित फूल निरूत्साहित तथा स्वदेशी फूल प्रवर्द्धन गर्न फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत अतिरिक्त शुल्क गरी १० प्रतिशत राजश्व लिने गरेको पनि उनले जानकारी दिए।
पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार फूल क्षेत्र प्रवर्द्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थासँग सहकार्यमा अध्ययन अनुसन्धान सुरू गरेको छ। आयात निरुत्साहित गर्न फूललाई 'प्लान्ट क्वारेन्टाइन'मा समावेश गरे अझ प्रभावकारी हुने उनको तर्क छ।
अवैधानिक रूपमा हुने आयात रोक्ने प्रयास पनि भइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईं बताउँछन्।
'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति पालना गर्दै अवैधानिक रूपमा भित्रिएको फूल रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्र्याउन खोज्नेलाई कारबाही समेत गर्दै आएका छौं,' उनले भने।
विगतमा गरिएको यो कामले यस वर्ष अवैधानिक फूल भित्रिने क्रम केही कम भएको उनले दावी गरे। वैधानिक रूपमा आएका वस्तु भित्रिन दिनुपर्ने बाध्यता रहेकाले उत्पादन दायरा बढाएर भारतीय फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न सके आयात घट्ने उनको भनाइ छ।
'भन्सार मूल्य, कृषि सुधार मूल्य कम भएर मात्र आयात बढेको होइन। यसलाई बढाउँदैमा आयात घट्ने पनि होइन,' उनले भने, 'आयात कम गर्न उत्पादन बढाएर स्वदेशी फूलको मूल्य आयातित जत्तिकै सस्तो बनाउनुपर्छ।'
शनिबार एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) ले 'आसन्न तिहार र सयपत्री फूलमा आत्मनिर्भरताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो।
कार्यक्रममा सराकारवालाहरूले पनि अध्ययन, अनुसन्धान र प्रविधिमा जोड दिई फूल उत्पादन बढाउँदै लैजान जोड दिएका थिए।
यसवर्ष कोरोनाले ठूलो संख्यामा मानिसहरू काठमाडौंबाट बाहिरिएका कारण माग कम छ। त्यसैले यसपालि सयपत्री फूल पुग्दो देखिन्छ। तर सामान्य समयका लागि पनि पुग्ने हुन अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ।