के तपाईं आफ्नो उत्पादन निर्यात गर्न चाहनुहुन्छ? अन्तर्राष्ट्रिय बजारसामु आफ्नो वस्तु चिनाउन खोजिरहनुभएको छ? कि वस्तु निर्यात गर्न अपनाउनुपर्ने प्रावधानबारे अलमल भइरहेको छ?
यी सबै समस्या समाधान गर्न व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले 'नेपाल ट्रेड इन्फर्मेसन' पोर्टल सुरू गरेको छ। नेपालको निर्यात व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न यो पोर्टल सुरूआत गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत उक्त पोर्टल सञ्चालनमा ल्याइएको छ। पोर्टल विश्व बैंकको लगानीमा बनेको हो।
व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी संघसंस्था र सरकारी निकायलाई व्यवसाय सम्बन्धी सम्पूर्ण सूचना सहज र सरल रूपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले पोर्टल सञ्चालन गरिएको केन्द्रका निर्देशक सुरेन्द्र गोंगालले जानकारी दिए।
उनका अनुसार पोर्टलमा निर्यातकर्ता एवम् सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचना, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिका तथ्यांक राखिएको छ।
पोर्टलको मुख्य विशेषत व्यापार, व्यवसाय तथा निर्यात-आयात गर्न अपनाउनुपर्ने विधि र प्रक्रियाबारे जानकारी दिनु हो।
'कोही नयाँ हुनुहुन्छ? व्यवसाय दर्ता कसरी गर्ने, कहाँ जाने, आवश्यक कागजपत्र के–के चाहिन्छ, ती सबै जानकारी पोर्टलमा पाइन्छ,' गोंगालले भने।
हाम्रो आयात-निर्यात नियन्त्रण गर्ने धेरै निकाय छन्। जस्तै, प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन, वाणिज्य विभाग तथा भन्सार विभाग। यी निकायले बनाएका नीतिनियम पनि यहीँबाट हेर्न सकिने उनी बताउँछन्।
अर्को विशेषता भनेको नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुर्याउनु हो।
उद्यमीले पोर्टलमार्फत् आफूले उत्पादन गर्ने वस्तुको निःशुल्क विज्ञापन गर्न सक्छन्। यसले नेपालबाट के-के निर्यात हुने रहेछ भन्ने जानकारी हुन्छ। व्यवसायी, सेवा प्रदायक कम्पनी, आयातकर्ता-निर्यातकर्ताले आफ्नो कम्पनीको प्रोफाइल आफैं राख्न सक्छन्।
'एक्जिम कोड' भएका र कम्पनी दर्ता गरेका सबै (ठूला, साना, मझौला, घरेलु तथा लघु) उद्यमीले यो सेवा लिन पाउने उनले जानकारी दिए।
'उद्यमीले अहिले प्रमुख दस वस्तुसम्मको विवरण राख्न मिल्ने बनाएका छौं। यसको कुनै शुल्क लाग्दैन,' निर्देशक गोंगालले भने, 'पोर्टल हेरेर विदेशी आयातकर्ताले सामान माग गर्न सक्छन्।'
उनी थप भन्छन्, 'कुनै बैंकले व्यवसायीलाई व्यवसाय गर्दा आफूले दिने सुविधाबारे जानकारी पोर्टलमै राखिदियो भने बुझ्न बैंकसम्म जानै पर्दैन।'
पोर्टलको अर्को विशेषता यसमा भएका तथ्यांक हुन्। यसले नीति-निर्माणकर्ता, विद्यार्थी, पत्रकार वा अनुसन्धानकर्तालाई सहज हुने गोंगाल बताउँछन्।
देशको वैदेशिक व्यापारको स्थिति के छ, कुन-कुन देशबाट के वस्तु कति परिमाणमा आयात वा निर्यात भइरहेको छ, तथ्यांक पोर्टलमा हेर्न सकिन्छ। सबै व्यापारिक तथ्यांक एकमुष्ट राखिएकाले सम्बन्धित निकायलाई पोर्टल आवश्यक हुने उनको भनाइ छ।
'हामीले विगत ११ वर्षदेखिको वैदेशिक व्यापारको तथ्यांक राखेका छौं। त्यो तथ्यांक हेरेर नीति बनाउन सहज हुन्छ,' उनले भने।
निर्यात प्रवर्द्धन गर्नु पनि यो पोर्टलको विशेषता हो।
पोर्टलमा नेपालको मात्र नभएर अन्य देशका निर्यातयोग्य वस्तुको विवरण पनि राखिएको छ। कुन-कुन देशले के-के निर्यात गरिरहेका छन्, अध्ययन गरेर त्यसको सूचना पोर्टलमा राखिने गोंगालले जानकारी दिए। भने, 'हामीले पनि त्यो वस्तु उत्पादन गरेर निर्यात गर्न सक्छौं।'
पोर्टल बेला-बेला अध्ययन गरेर अपडेट गरिरहनुपर्छ। वैदेशिक स्थिति अध्ययन गरेर, त्यसको सूचना यसमा अपडेट गरिरहने पनि उनले बताए।
'नेपालको ट्रेड सम्बन्धी कुनै जानकारी चाहिए संसारभरिका मान्छेले यही पोर्टल हेर्नेछन्। उद्योगी वा कम्पनीको पोर्टल हेर्न धेरै खोज्नुपर्छ। राष्ट्रिय पोर्टलमा को-को व्यावसायी छन् भनेर हेर्नेबित्तिकै कम्पनीको विवरण राख्ने व्यापारीलाई देख्छन्,' उनी पोर्टलको फाइदाबारे सुनाउँछन्, 'यो व्यापारी राम्रो रहेछ, सरकारी पोर्टलमा पनि रहेछ भन्छन् र सम्पर्क गर्न सक्छन्।'
पोर्टल सञ्चालनबारे सातवटै प्रदेशमा चेतनामूलक कार्यक्रम गरिरहेको पनि उनले जानकारी दिए। विश्वको कुनै पनि कुनामा बसेर सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा भएका वस्तु एवम् व्यवसायिक प्रोफाइल सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले नीति-निर्माता, सरकारी एवम् निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन एवम् अध्यापन गर्नेलाई सहयोग पुर्याउने केन्द्रको विश्वास छ।
पोर्टलको वेबसाइटमा गएर लगइन र दर्ता गरी यसमा जोडिन सकिन्छ।