चाबहिल चोकबाट दाँयातर्फ हिमाल डेन्टल हस्पिटलको तलपट्टि देखिन्छ 'सुप्रिम सुटल्यान्ड एन्ड टेलरिङ सेन्टर'। भित्र दौरा–सुरूवाल, सुट–प्यान्ट डमीमा लगाएर राखिएको बाहिर सिसाबाटै प्रस्ट देखिन्छ।
ग्राहक भित्र पस्छन्। लुगा सिलाउन नाप दिन्छन्। अन्तिममा पसलेले भिजिटिङ कार्ड हातमा दिन्छन्।
कार्ड हेरेपछि अधिकांश ग्राहकले भनिहाल्छन्- ओहो मैले त मुस्लिम पो भन्ठानेको! तपाईं त बाहुन पो हुनुहुँदो रहेछ। कसरी आउनुभयो यो काममा?
३२ वर्षीय सुजन खतिवडाका सामु यो प्रश्न नआएको दिनै हुँदैन।
'टेलरको काम मुस्लिम वा भारतीयहरूले गर्ने भन्ने छ। म दारी पालेर बसेका बेला मुस्लिम ठान्छन्। पछि कुरा गर्दै जाँदा क्षेत्री/बाहुन* रहेछ भन्छन्,' उनी पेसामा जातवाद हावी हुने चलनको अनुभव सुनाउँछन्, 'भिजिटिङ कार्ड दिएपछि त झन् ओहो बाहुन भएर कसरी यो काम सिक्यौ भनेर सोध्छन्।'
उनी सधैं सबैलाई एउटै उत्तर फर्काउँछन्- यही काम जानियो, अनि आफैंले सुरू गरियो।
पेसालाई जातसँग तुलना गर्न हुन्न भन्ने चेत उनमा छ।
सुजनले चाबहिलमा सिलाइ काम थालेको पाँच वर्ष भयो। यो यात्रामा उनले एक व्यवसायीले भोग्नुपर्ने धेरैजसो चुनौती सामना गरिसके।
सुजनको घर सुनसरीको इटहरीमा हो। उनकी आमा किसान, बुवा सैनिक। बुवाको जागिरकै कारण उनले कक्षा १ देखि ८ सम्म काठमाडौं सैनिक स्कुलमा पढे। यसपछि बिदामा घर गएका उनलाई गाउँमै मज्जा लाग्यो। साथीभाइसँग फुक्काफाल खेल्न, घुम्न पाउँथे।
'गाउँमा स्वतन्त्र भएर हिँड्ने बानी परेपछि मलाई काठमाडौंको स्कुल आउन मनै लागेन,' उनी हाँस्दै सुनाउँछन्, 'सैनिक स्कुल कडा पनि थियो। घरमा रूवाबासी गरेर उतै पढ्ने भनेँ।'
यसपछि उनी इटहरीमै कक्षा ९ मा भर्ना भए, २०६३ सालमा एसएलसी दिए।
गाउँमा उनले चिनेजानेका दाइहरू पढ्न र सरकारी जागिर खान भन्दै काठमाडौं हानिन्थे। उनको पनि उमेरसँगै हुर्केका सपनाले काठमाडौंका अवसर देखायो, गाउँमा अडिन मन मानेन। परिवारको सल्लाहमा कलेज पढ्दै लोकसेवा तयारी गर्न फेरि काठमाडौं आउने निधो भयो।
'त्यतिखेर जागिर भनेकै सरकारी हो भन्ने थियो। त्यसैका लागि यहाँ आएको थिएँ,' आमाले बाटो खर्च दिएर काठमाडौं पढ्न पठाएको सम्झना अझै ताजा छ उनलाई।
एसएलसी दिएलगत्तै घरबाट आफूभन्दा ठूलाका साथ लागेर आएकाले उनलाई कहाँ जाने, बस्ने, के खाने, चिन्ता थिएन। बानेश्वरमा कोठा लिएर दाइहरूसँगै बसे। चिनेजानकासँग लोकसेवा किताब ल्याएर हेर्न थाले।
दोस्रो श्रेणीमा एसएलसी पास भएपछि उनी चाबहिलकै पशुपति कलेज भर्ना भए। बिहान कलेज जाने, दिउँसो लोकसेवा पढ्ने दैनिकी बन्यो। कक्षा-१२ को अन्तिम परीक्षा सकिएपछि सुजनका बिहान पनि फुर्सदिला भए।
उनीहरू सबै बेलुका जम्मा भएर एकअर्कालाई दिनभरिका कुरा सुनाउँथे।
'एक जना दाइले स्कुल पढाउँथे। स्कुलमा ड्रेस राख्ने कुरा रहेछ। त्यो पोशाकको काम हामी गरौं न भनेर सुझाए,' सुजनले व्यवसायको बीउ छरिएको दिन सम्झिए।
त्यसै बस्नुभन्दा काम गर्दा राम्रो भनेर उनले पनि सहमति जनाए। ती शिक्षक दाइ, अर्का एक साथी र उनी मिलेर काम गर्ने कुरा भयो। न उनीहरूसँग यो कामको आइडिया थियो, न काम थाल्न पैसा। न उनीहरू कसैलाई लुगा सिलाउन आउने। तर कसैले चिन्ता लिएनन्।
'सके गरौंला, नसके नगरौंला भन्ने सोचियो,' उनले भने, 'हामीले प्यान्ट घटाउने टेलर नजिकै थियो। त्यहाँका साहुजीसँग दिनकै भेट हुने भएकाले राम्रो चिनजान थियो। उनैलाई हामीले स्कुलको पोशाक बनाउने काम लिन लागेका छौं, तपाईंले सहयोग गर्न पर्यो भन्यौं।'
ज्यालामा काम गर्ने सहमति भयो। लगानीका लागि भने उनले दिदीसँग २५ हजार र आमाबुवासँग २५ हजार रूपैयाँ मागे।
'हामीले कामबारे बताएर पैसा माग्यौं, दिदीले दिए पनि घरबाट सुरूमा मान्नुभएन। धरै कर गरेपछि बल्ल गाउँमा ऋण गरेर दिएको छु, छिट्टै तिर् भन्दै दिनुभयो,' सुजनले हाँस्दै भने, 'डुबाइदिन्छ भनेर होला!'
सबै जुटेपछि उनीहरूले काम थाल्ने भए। तर शिक्षक दाइले आफूले नभ्याउने बताए। अर्का साथी र सुजनले एक लाख जम्मा गरे। स्कुलका प्रधानाध्यापकसँग पोशाक हेर्न त्रिपुरेश्वर गए।
'त्यतिखेर स्कुलको पोशाक त्रिपुरेश्वरमा पाउँथ्यो। पछि असन, इन्द्रचोकतिर सर्यो,' उनले भने।
लुगा सिलाइदिनेका सल्लाहमा उनीहरूले भनेजति कपडा ल्याए। करिब एक महिनामा सिलाएर सकियो। एक लाख लगानी गरेका थिए, सबै कटाएर ३५ हजार नाफा भयो। घरबाट मागेको पैसा पनि पठाइदिए।
पोशाकको काम गर्न थालेपछि उनी ती साथीसँगै बस्न थाले। पहिलो कामबाट फाइदा भएपछि अझै काम गर्ने प्रेरणा मिल्यो। उनीहरू आफैं कामको प्रचार गर्न स्कुल, कलेज, नयाँ अफिस तथा हस्पिटल धाउँथे।
'नयाँ भर्ना सुरू हुने बेला हामी दुवै प्रायः सबै कलेज गएर ड्रेसको काम अरूभन्दा सस्तो गरिदिन्छौं भन्थ्यौं। कतिले हुन्छ भनेर दिए, कतिले हामीलाई केटाकेटी देखेर होला, पत्याएनन्।'
उनीहरूले कति ड्रेस बनाए, गनेनन्। काम गर्दागर्दै कपडा कटिङ चाहिँ सिके। काम त्यही भएपछि उनीहरू जतिखेरै टेलरमै हुन्थे। एक सिजनमा ४/५ सय विद्यार्थीका कपडा सिलाउन पर्थ्यो। सुजन भन्छन्, 'मान्छे धेरै नभएकाले आफैं सिकियो। मास्टरले सँगै बसेर सिकाउने भएर होला कटिङ कहिल्यै बिग्रेन। लुगा सिलाउन भने मैले अहिलेसम्म सिकिनँ।'
त्यसैगरी उनले तीन वर्ष बिताए।
पढाइ सकेपछि सरकारी जागिर खाने सपना छँदै थियो। एकाध पटक लोकसेवा परीक्षा दिए पनि, तर नाम निकाल्ने भन्दा अनुभवका लागि दिएको उनी बताउँछन्।
२०६९ सालमा उनले स्नातक सके। साथीहरू कोही जागिर खाने, कोही विदेश जाने भए। उनको मन पनि त्यही काम गरेर बस्न मानेन, विदेश जान रहर गर्यो। त्यहीबेला उनलाई एक साथीले सुनाए, 'दुबईको ग्यास प्लान्ट प्रोजेक्टमा काम छ, जाऔं।'
सात महिना दुबईमा काम गरेर फर्केपछि उनलाई अब कहाँ, के काम गर्ने भन्ने भयो। उनको धेरैथोर सीप कपडाकै काममा भएकाले टेलर नै खोल्ने योजना बनाए।
पहिला सँगै काम गरेका साथीले बानेश्वरमा टेलर खोलिसकेका थिए। सुजनले साथीसँगै कामको आइडिया लिए। विदेश गएर कमाएको दुई लाख रूपैयाँ उनीसँग थियो। त्यतिले सटरको अग्रिम भाडा र डिजाइन गर्दै ठिक्क हुन्थ्यो।
घरमा माग्न आँटेनन्। पहिलाको कामको आडमा साथीहरूबाट तीन लाख जम्मा गरे।
'हामीले ड्रेसको काम पाएका छौं, सामान ल्याउन पैसा पुगेन भनेर साथीसँग मागेँ। पछि उनीहरू पसलमै हेर्न आए। पैसा दिन सक्छ भनेर होला, खुसी नै भए,' उनले लगानी जुटाउँदाको अनुभव सुनाए।
पाँच लाख लगानी भएपछि उनले चाबहिलमा सटर खोजे। ज्यालादारीमा सिलाइका लागि दुई कामदार राखे। कटिङ आफैं गर्थे। काम गर्दै जाँदा पैसा नपुगेर बैंकबाट तीन लाख ऋण लिए। काम पाउन भने पहिलेको अनुभव र चिनजानले धेरै समस्या भएन।
तर अरूले नै सिलाइदिएर पैसा कमाएजस्तो सबै काम आफूले गर्दा कहाँ सजिलो भयो र! कम भाउमा कपडा खोज्दै खोज्दै उनी सामान लिन वीरगञ्जसम्म पुगे। 'सामान अर्डर गर्ने प्रक्रिया गाह्रो छ। भन्सारमा समस्या छ भन्छन्। आगामी मौसमका लागि अहिले नै अर्डर गर्नुपर्छ।'
काम जेनतेन अगाडि बढ्दै गयो। तर घरको कचकच पनि थपियो।
'घरमा मैले टेलरको काम गरेँ भनेर खबर पुगेपछि यति धेरै पढाएको यही टेलर खोल्न हो भनेर धेरै गाली गर्नुभयो,' उनले भने, 'अझै पनि गाउँघरमा यो काम दलितले गर्ने भन्ने छ। घर गएका बेला किन यस्तो काम गरेको, अरू गर्दा हुँदैन भनेर गाउँकाले समेत भन्छन्। साथीभाइमाझ ए...यसले त टेलर पो खोलेछ भन्नेको कमी छैन।'
सुरूसुरूमा उनी जे गरे पनि हुन्छ, काम सानो ठूलो हुँदैन भनेर सम्झाउन खोज्थे। आजभोलि भने सबैलाई बुझाएर नसकिने रहेछ भन्ने लाग्छ।
त्यसैले एक लाइनको उत्तर फर्काउँछन्, 'यही जानेँ, यही गरेँ।'
व्यवहार सबै हेर्ने भएपछि घरको गुनासो भने कम हुँदै जाने उनको विश्वास छ।
दुई कामदार र पाँच लाखबाट सुरू उनको कामले फड्को मारिसकेको छ। पसलमा अहिले ३५ लाख हाराहारीको लगानी छ, पाँच कर्मचारी छन्। कमाएको पैसा पसलमै थप्दै गएको उनले बताए।
पहिलेको तुलनामा अचेल यो व्यवसायमा मन्दी आएको उनको अनुभव छ।
'पहिले जिन्स धेरै थिएन, सिलाइका लुगा चल्थ्यो। अहिले सिलाइका लुगा मौसमी भयो। बिहे, ब्रतबन्ध वा त्यस्तै शुभकार्यमा मात्र सर्टिङ-सुटिङ हाल्छन्,' उनले भने। अझ पछिल्लो समय रेडिमेड कपडाले बजार लिएको छ, सस्तो पनि हुनाले उपभोक्ता त्यसमै आकर्षित भएको उनको अनुमान छ।
सिलाइका लागि बाहिरबाट कपडा ल्याउँदा, कामदारलाई ज्याला दिँदा, अरू खर्च जोड्दा तयारी सामानसँग प्रतिस्पर्धा गर्न नसकिने उनी बताउँछन्। नेपालमै कपडा उत्पादन गरेर बेच्न पनि सम्भव नहुने उनको भनाइ छ।
'भारतले संसारभरका ग्राहक लक्षित गरेर उत्पादन गर्छ, हामीले दुई करोडलाई गर्नुपर्छ। अनि सस्तोमा दिने प्रतिस्पर्धा हुनै सक्दैन,' उनी भन्छन्।
अझ कोरोनाले ८० प्रतिशत व्यापार घटेको छ। तर आम्दानी कम भयो भनेर उनले अर्को व्यवसाय सोचेका छैनन्। बरू नेपाली ढाकाका साँस्कृतिक लुगा बनाएर पसल विस्तार गर्ने योजना बनाएका छन्। पास्नी र बेहुलाबेहुलीका लागि सेट लुगा, सल, जुत्ता, सारी, अल्लोका दौरा-सुरूवाल, जातजातिका साँस्कृतिक कपडाका नमूना राखिसके। ग्राहकले के-के खोज्छन्, टिपेर राख्छन्। त्यहीअनुसार सामान थप्दै जाने उनको योजना हो।
सुजनलाई सरकारी जागिर नखाएकाेमा पनि कुनै पछुतो छैन। जागिरभन्दा आफ्नै व्यवसायमा रमेका छन्, कमाएका पनि। ठूलो व्यवसायी बन्ने सपना पनि छैन उनको। भन्छन्, 'आफ्नो र आफूमा आश्रित कर्मचारीको परिवार राम्ररी पाल्न सकेँ भने पुग्छ।'
* सच्याइएको