बालाजु, रानीवनमा रहेको लड्केश्वर मेटल उद्योगका सञ्चालक दीलिप लामाले राजेश हार्डवेयरबाट सामान ल्याउन थालेको १३ वर्षभन्दा बढी भयो।
ठूला हार्डवेयर कम्पनीमध्ये राजेश हार्डवेयर एक हो। देशभर यसका धेरै शाखा छन्। डण्डी व्यवसायी दीलिप लामाले मात्र होइन सानो भर्याङ-ठूलो भर्याङ इकाइ समितिमा आवद्ध सबै व्यापारीले राजेश हार्डवेयरबाटै सामान ल्याउँछन्।
नागार्जुन नगरपालिका वडा १, २, ३ र बालाजुदेखि स्वयम्भूसम्मका व्यापारी समितिमा आवद्ध छन्। पहिलेदेखि त्यहीँबाट कारोबार गर्ने भएकाले सामानमा ठगी गर्दैन भन्नेमा उनीहरू विश्वस्त थिए। माग गरिएको सामानले अनुमान गरेअनुसार नयाँ सामान बनाउन नपुगेपछि ग्राहकलाई तौलमा ठगिएको हो कि शंका लाग्न थालेको थियो।
'धेरै वर्षअघिदेखि काम गरिरहेका छौं। कति परिमाणले कति काम गर्न पुग्छ भन्ने सजिलै अनुमान गर्न सक्छौं,' डण्डी व्यवसायी दीलिप लामाले भने, 'केही महिनायता आफूले अनुमान गरेअनुसार सामान बनाउन नपुगेपछि हामीले क्रस चेक गर्ने योजना बनाएका थियौं।'
उनले आफूलाई मात्रै यस्तो हो कि अन्य साथीलाई त्यस्तै समस्या छ भनेर साथीसँग छलफल गरे। साथीहरूले पनि समस्या भएको बताएपछि तौल कम आएको शंकामा उनीहरूले एकै पटक सामान मगाए।
'हामीले तीनजनालाई एकैपटक सामान अर्डर गर्न लगायौं,' उनले भने, 'तीन वटै गाडी बाटैबाट फर्काएर उनीहरूकै अगाडि तौलिन लगायौं। सबै सामानमा तौल कम देखियो।'
उनले अगाडि थपे, 'सामान मगाउँदा धेरै वटा आइटम मगाएका हुन्छौं। सबैमा कम भेटियो। सय किलोको भ्याट बिल छ भने ९० किलोको सामान पायौं। किनेको प्रत्येक सामानको तौल फरक आयो।'
तौल कम भेटिएपछि ठगी गरेको भन्दै व्यवसायीहरू महानगरीय प्रहरी वृत्त, बालाजु पुगेका थिए। ठगी गरेको पाएपछि राजेश हार्डवेयर बालाजु शाखा प्रमुख कमल शर्मालाई प्रहरी नियन्त्रणमा लियो। उनी भारतीय नागरिक हुन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बालाजुको हार्डवेयरमा शिलबन्दी गरी बिक्री-वितरणमा रोक्का गरेको छ। छानबिनका लागि विभागले २४ घण्टाभित्र कागजातसहित विभागमा उपस्थित हुन शनिबार निर्देशन दिएको थियो।
निर्देशनअनुसार आइतबार कागजपत्र लिएर बालाजु शाखाका म्यानेजर उपस्थित भएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए। उनका अनुसार कम्पनीलाई जरिवाना गरिएको छ।
'अपुरो कागजात लिएर शाखाका म्यानेजर हिजो आएका थिए। पूरा कागजपत्र लिएर आउनु भनेका छौं,' प्रवक्ता सेढाईले भने, 'हामीले पनि चेक गर्यौं। बिलमा उल्लेख गरिएभन्दा कम तौलको फलामजन्य सामग्री बिक्री गरेको पाइएकोले जरिवाना गरिएको छ।'
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ क बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप भएकोमा उक्त हार्डवेयरलाई तत्कालका लागि दफा ३८ ङ बमोजिमको कसुरमा दफा ३९ ख बमोजिम तीन लाख रूपैयाँ जरिवाना गरिएको छ।
'ठगी हुन सक्ने संकेत पाइसकेका छौं। अरू आउटलेट पनि अनुसन्धान गर्छौं। ठगी गरेको पाइए कानुन बमोजिम कारबाही हुन्छ,' उनले भने।
राजेश हार्डवेयरको अन्य शाखा अनुसन्धान गर्दा ठगी भएको नपाइएको ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी दिए।
'हामीले त्यहाँ कम तौल भएको पाइएपछि अन्य शाखामा पनि अनुसन्धान गर्यौं। साथीहरूलाई सोध्यौं। तौल कम नभएकाे बताए,' उनले भने, 'मेरोमा पनि अहिलेसम्म तौल कम भएको पाएको छैन।'