कुनै पनि उद्योग वा व्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायमा दर्ता गराउनुपर्छ। नयाँ उद्योगी तथा व्यवसायीलाई कहाँ गएर व्यवसाय दर्ता गर्ने अलमल हुन सक्छ। हामीले यहाँ कस्ता प्रकृतिका उद्योग कहाँ दर्ता गर्ने भनेर उल्लेख गरेका छौं।
उद्योग वा व्यवसाय दर्ता गर्ने तीन निकाय छन्- घरेलु तथा साना उद्योग, उद्योग विभाग र लगानी बोर्ड।
देश संघीयतामा गएसँगै स्थानीय तहमा पनि उद्योग दर्ता गर्न सकिने उद्योग विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले जानकारी दिए।
'स्थानीय तहले उद्योग सम्बन्धी छुट्टै ऐन बनाएका हुन्छन्,' उनले भने, 'त्यो ऐन प्रदेश र केन्द्रसँग नबाझिने गरी बनेको हुनुपर्छ।'
स्थानीय सरकार सञ्चालन ऐनमा लघु, घरेलु र साना उद्योग दर्ता गर्न सकिनेछ। ऐनले १५ करोड कमका स्थिर पूँजि भएका उद्योग सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ।
तर औद्योगिक व्यवसाय ऐनले प्रदेशले कानुन बनाएर स्थानीय तहलाई उद्योग दर्ता गर्न अनुमति दिन सकिने व्यवस्था गरेको छ।
अधिकांश प्रदेशले स्थानीय तहलाई ५ लाखसम्म स्थिर पूँजि भएका उद्योग दर्ता गर्न सक्ने भनेको छ। तर कुनै–कुनै उद्योगले भने २० लाखसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्ने अनुमति दिएको छ।
औद्योगिक व्यवसाय ऐन अनुसार भने १० करोडभन्दा कम स्थिर पुँजि भएको उद्योग प्रदेश दर्ता गराउन सकिने व्यवस्था गरेको छ। १० करोडभन्दा बढीका उद्याेग विभाग र लगानी बाेर्डमा दर्ता हुन्छन्।
‘ती उद्योग प्रदेश मातहतमा रहेका ७ सय ५३ वटा स्थानीय तह, प्रदेश निर्देशनालय मातहतका जिल्ला स्थित ७७ वटा घरेलु तथा साना उद्योगमा गर्न सकिन्छ,’ उनले भने।
तर अनुमति लिनु पर्ने उद्योग र विदेशी लगानी भएका उद्योग भने उद्योग विभागमा दर्ता गर्नु पर्ने उनले बताए।
स्थानीय तहमा दर्ता भएका उद्योगलाई बैंकले ऋण नदिएको उनले बताए।
‘बैंकले घरेलु कार्यलयमै दर्ता हुनुपर्छ भनेर स्थानीयमा दर्ता भएका उद्योगलाई कर्जा दिएका छैनन्। अब हामीले त्यस्ता उद्योगले पनि ऋण तथा अन्य सुविधा पाउने भनेर बजेटमा समावेश गर्ने सोचेका छौं,’ उनले भने।
संविधान संघीय सरकारको विषय क्षेत्र भित्र पर्ने उद्योग पनि उद्योग विभागमा दर्ता हुन्छ।
एक प्रदेशमा रहेको उद्योग अर्को प्रदेशमा स्थानान्तरण पनि उद्योग विभागबाटै हुने उनले जानकारी दिए।
‘प्रदेशमा दर्ता भएका जुनसुकै प्रकृतिका उद्योग एक प्रदेशबाट अर्को प्रदेशमा स्थानान्तरण गर्ने काम उद्योग विभागबाटै हुन्छ,’ उनले भने।
उद्योग स्थानीय तह वा जिल्लास्थित घरेलु तथा साना उद्योगमध्ये एउटामा जहाँ दर्ता गरे पनि हुन्छ।
स्थानीय स्रोतसाधन प्रयोग गरी परम्परागत उद्योग खोल्दै हुनुहुन्छ भने त्यस प्रकारका उद्योग जिल्लास्थित साना तथा घरेलु उद्योगमा दर्ता गर्नुपर्छ।
यस प्रकृतिका उद्योगमा घर, जग्गा बाहेक बढीमा बीस लाख रूपैयाँसम्म स्थिर पुँजी हुन्छ। उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहन्छ। उद्योगमा उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहन्छन्।
यस प्रकृतिका उद्योगको वार्षिक कारोबार एक करोड रूपैयाँभन्दा कम हुन्छ।
हात वा खुट्टाले चलाउने र अर्धस्वचालित तान, परम्परागत प्रविधिबाट गरिने रंगाइ, छपाइ, सिलाइ र बुनाइ, ऊन र रेशममा आधारित हाते बुनाइका राडी, पाखी, गलैंचा, पश्मिना, पोशाक, हाते कागज, परम्परागत कलामा आधारित वस्तु, मूर्तिकला, तामा, पित्तल, ढलौट, काँस जस्ता धातुबाट हस्तनिर्मित भाँडा तथा हस्तकलाका सामान लघु, घरेलु तथा साना उद्योग हुन्।
फलामबाट बनाइने घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालो तथा परम्परागत औजार उद्योग पनि यसैअन्तर्गत पर्छन्।
त्यस्तै सुन वा चाँदीबाट हस्तनिर्मित गरगहना तथा भाँडा, छालाबाट हस्तनिर्मित वस्तु, जुट, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित, ढुंगामा कुँदेर बनाइएको सामान, थांका चित्र र अन्य परम्परागत चित्रकला, पुतली, खेलौना, परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु, हातले छाप्ने इँटा उद्योग र माटाका भाँडाकुँडा उद्योग पनि यसै प्रकृतिका उद्योग अन्तर्गत पर्छन्।
यस प्रकृतिका उद्योगको स्थिर पुँजी दस करोडभन्दा कम हुन्छ।
तपाईंको उद्योगको दस करोडदेखि छ अर्बसम्म स्थिर पुँजी छ भने उद्योग विभागमा दर्ता गर्नुपर्छ। ठूला उद्योग दर्ता गर्नु पहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर दर्ता गरेको हुनुपर्छ।
वातावरणीय प्रभाव पर्ने उद्योग भएमा वन वा वातावरण मन्त्रालयबाट अनुमति लिएर मात्र उद्योग विभाग या कार्यालयमा निवेदन दिनुपर्छ।
पर्यटन, स्वास्थ्य, औषधि, सञ्चार, वन र श्रमसँग सम्बन्धित उद्योग भएमा सम्बन्धित मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट अनुमति लिएको हुनुपर्छ। अन्य सामान्य उद्योग चाहिँ उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयमा सोझै दर्ता गर्न सकिन्छ।
साथै औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसूची १ मा उल्लेख भएबमोजि अनुमति लिनुपर्ने उद्योग पनि विभागमै दर्ता गर्नुपर्छ।
हातहतियार, गोलीगठ्ठा, बारूद वा विस्फोटक पदार्थ, सुरक्षात्मक छपाइ (सेक्युरिटी प्रिन्टिङ), मुद्रा तथा सिक्का उत्पादन गर्ने, चुरोट, बिँडी, खैनी, सिगार तथा सूर्तीजन्य पदार्थ मुख्य कच्चा पदार्थ हुने वस्तु उत्पादन गर्ने उद्योग, माइक्रोब्रुअरी, बियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने, ढुंगा, गिट्टी, बालुवा उत्खनन, प्रशोधन गर्ने उद्योग, रेडियो सञ्चारसम्बन्धी उपकरण उत्पादन गर्ने उद्योग, बहुमूल्य खनिज तथा पेट्रोलियम पदार्थ, उत्खनन गर्ने उद्योग, लिक्वीफाइड पेट्रोलियम ग्यास रिफिलिङ गर्ने उद्योग, ड्रोन उत्पादन वा ड्रोनको माध्यमबाट सेवा प्रवाह गर्ने उद्योग सञ्चालन गर्न अनुमति लिनुपर्छ।
उद्योग विभागको शाखा कार्यालय नभएकाले जुनसुकै ठाउँमा उद्योग सञ्चालन गरिए पनि दर्ता गर्न भने काठमाडौं नै आउन पर्ने उनी बताउँछन्। निवेदन भने विद्युतीय माध्यबाट दिन सकिने छ।
लघु, घरेलु बाहेकका १५ करोड रूपैयाँसम्म स्थिर पुँजी भएका उद्योग साना उद्योग अन्तर्गत पर्छन्। १५ करोड रूपैयाँदेखि ५० करोड रूपैयाँसम्म स्थिर पुँजी भएका उद्योग मझौला उद्योग हुन्।
पचास करोड बढी स्थिर पुँजी भएका ठूला उद्योग हुन्।
यदि तपाईंको उद्योगको स्थिर पुँजी छ अर्ब बढी छ भने लगानी बोर्डमा दर्ता गर्नुपर्छ। तपाईंले उत्पादन नगरी विदेश आयात वा निर्यात मात्र गर्न चाहनुभएको छ भने त्यस्तो व्यवसायिक फर्म वाणिज्य विभागमा दर्ता गर्नुपर्ने छ।