तपाईं व्यावसायिक रूपमा चल्ला उत्पादन गर्ने सोचमा हुनुहुन्छ? वा कुखुरा फार्मका लागि गुणस्तरीय मेसिन कहाँ पाइन्छ भनेर खोज्दै हुनुहुन्छ?
त्यसो हो भने भरतपुरका दुई साथी मिलेर बनाएको 'इन्कुबेटर' (अण्डाबाट चल्ला कोरल्ने मेसिन) तपाईंका लागि उपयोगी हुन सक्छ। नेपालमै बनेको मेसिन भएकाले विदेशबाट आयात गरेर लामो समय कुर्नु पनि पर्दैन।
दुई युवा सुरेन्द्र कमली र विधान कोइराला आधुनिक कृषि तथा पोल्ट्री क्षेत्रमा प्रयोग हुने उपकरण बनाउँछन्। तीन वर्षअघि स्थापित आयोटा एग्रो इलेक्ट्रो मेसिनरी हब नामक कम्पनीमार्फत् उनीहरूले ६० जिल्लामा दुई सय बढी इन्कुबेटर बेचिसके। कम्पनीले ड्रायर हाउस, कोल्ड स्टोर, फ्रोजन रूम तथा पोल्ट्री सेट पनि उत्पादन गर्छ।
सुरेन्द्र र विधान इञ्जिनियर तथा सूचना-प्रविधि क्षेत्रका विद्यार्थी भने होइनन्। २६ वर्षीय सुरेन्द्रले व्यवस्थापनमा स्नातक सकाएका छन् भने २४ वर्षीय विधान स्नातक पढिरहेका छन्।
न सम्बन्धित विषय पढेको, न घरपरिवारले त्यो काम गरेको, उनीहरूलाई यस्तो मेसिन बनाउने आइडिया कसरी आयो त?
उनीहरूका अनुसार यी छिमेकी साथी सानैदेखि प्रविधिमा जिज्ञासु थिए। गाउँघरमा कसैका रिमोटवाला गाडी, रेडियो वा टिभी बिग्रियो भने आपसमा सल्लाह गरेर बनाइदिन्थे।
'हामी पहिल्यैदेखि गाउँमा कसैका विद्युतीय सामान बिग्रियो भने बनाइदिन्थ्यौं,' सुरेन्द्र सुनाउँछन्, 'घरमा नयाँ सामान आयो भने कसरी बनेको रहेछ भनेर खोलखाल पारेर हेर्थ्यौं। पछि जस्ताको त्यस्तै बनाइदिन्थ्यौं पनि।'
२०७३ सालको कुरा हो। सुरेन्द्र कक्षा १२ को परीक्षा दिएर बसेका थिए, विधान एसइई। रगरगे स्वाभावका उनीहरूलाई फुर्सदमा यत्तिकै बस्न मन लागेन। उमेर कलिलो भए पनि केही काम गर्ने हुटहुटीले अडिन सकेनन्।
चितवन पोल्ट्री व्यवसायका लागि 'हब' मानिन्छ। उनीहरूले पनि कुखुरा फार्म खोल्ने योजना बनाए।
'छोराहरूले काम गर्छु भन्दा घरमा पैसा नदिने कुरा भएन। दुई मिलेर ७५ हजार रूपैयाँ लगानी गरी कुखुरा फार्म खोल्यौं,' सुरेन्द्रले सुनाए, 'जग्गा भाडामा लियौं र सुरूमा पाँच सय चल्ला हाल्यौं।'
कुखुराबाट राम्रै आम्दानी भयो। तर उनीहरू कमाइमा मात्र सन्तुष्ट भएनन्, नयाँ फड्को कसरी मार्न सकिन्छ भनेर घोत्लिन थाले।
धेरै सोचेपछि उनीहरूले कुखरा पाल्नेसँगै चाहिने चल्ला आफैं उत्पादन गर्ने योजना बनाए।
'अण्डा किनेर हामी ह्याचरीमा दिन्थ्यौं। तर अण्डा राम्रो थिएन भन्दै उनीहरू थोरै मात्र चल्ला दिन्थे। दस रूपैयाँको अण्डाबाट निस्केको चल्ला बजारमा ८० देखि ९० रूपैयाँ लिन्छन्। चल्ला निकाल्न धेरै खर्च नहुने रहेछ। ३० देखि ३५ रूपैयाँमै तयार हुन्छ,' उनले भने।
मन र दिमागले नै आँटेपछि नपुग्ने हुन्छ र? सुरेन्द्र र विधानले फार्मबाट अलि-अलि कमाएकै थिए, केही पैसा घरमा मागे। अनि चीनबाट एक हजार ५६ वटा अण्डा अट्ने क्षमताको ह्याचरी मेसिन मगाए।
मगाएको केही दिनपछि उनीहरूको हातमा मेसिन आइपुग्यो। सानैदेखि सरसामान खोलखाल पार्ने बानी परिसकेका उनीहरू यसलाई पनि नखोली बस्न सकेनन्। त्यसको बनावट देखेर उनीहरू दंग परे, सजिलै बनाउन सकिन्छ भन्ने भयो।
'मेसिन बनाउन गाह्रो रहेनछ। पहिलेदेखि सामान खोलखाल पार्ने भएकाले होला, नयाँ मेसिन खोल्न डर पनि लागेन,' उनी सुनाउँछन्, 'नयाँ बनाउन नसके पनि पछि जस्ताको त्यस्तै जोड्न सक्छौं भन्ने विश्वास थियो।'
मेसिन खोलखाल र जोडजाड पारेपछि सुरेन्द्र र विधानलाई लाग्यो- हामी आफैं यस्तो मेसिन बनाउन पाए हुन्थ्यो।
उनीहरूले मेसिनै बनाउने योजना बुने। त्यसका पार्टपुर्जा कहाँ पाइन्छ भन्ने लगायत कुरा इन्टरनेटमा खोजे। मेसिनका लागि ८० प्रतिशत सामान नेपालमै पाइने रहेछ। २० प्रतिशत बाहिरबाट ल्याउनुपर्ने देखियो।
'मेसिनमा प्रयोग हुने स्वीच, कन्ट्रोल प्यानल र विद्युतीय उपकरण चाहिँ आयात गर्नुपर्छ,' सुरेन्द्रले भने।
उनीहरूले पार्टपुर्जा मगाउन पहिला मेसिन ल्याइदिने चिनियाँ कम्पनीसँग सहकार्य गरे। चीनबाट ल्याएको डिजाइनमै आफूहरूले नयाँ मेसिन बनाउने सुनाए। कम्पनी पनि सहयोग गर्न तयार भयो।
सोही अनुरूप सुरेन्द्र र विधानले २०७५ सालमा 'आयोटा एग्रो इलेक्ट्रो मेसिनरी हब' नामक कम्पनी दर्ता गरे र काम थाले। पार्टपुर्जा जोडेको मिल्यो कि मिलेन, कसरी जोड्ने भन्ने कुरा चिनियाँ कम्पनीका मान्छेले भिडिओ कलमा देखाइदिन्थे।
'हामीलाई सजिलै भयो, केही बिग्रियो भने सुझाव दिन्थे,' सुरेन्द्र चिनियाँसँगको सहकार्य अनुभव सुनाउँछन्, 'भाषा नबुझे पनि भिडिओ हेरेर बुझ्न सकियो।'
यसरी उनीहरूले नेपालमै इन्कुबेटर तयार गरे। नेपाली जनशक्तिबाट उत्पादित 'आयोटा इन्कुबेटर'को गुणस्तर आयातितभन्दा धेरै उच्च रहेको उनीहरूको दावी छ।
कम्पनीले साना किसान र ठूला व्यवसायी दुवै वर्गलाई लक्षित गरेर मेसिन बनाउँदै आएको छ। धेरैजसो ठूला फार्ममा बढी क्षमताका मेसिन चाहिन्छ, जो भारतबाट आयात हुन्थे, हुन्छन्। साना मेसिन यहीँका अन्य कम्पनीले बनाउँछन्, तर ठूला मेसिन बनाउन भने आफूहरूले नै सुरू गरेको सुरेन्द्र दाबी गर्छन्।
उनीहरू साना किसानका लागि पाँच सयदेखि १५ सयसम्म र ठूला व्यवसायिक फर्मका लागि दस हजारदेखि एक लाख बढी चल्ला निकाल्न मिल्ने मेसिन तयार पार्छन्। मेसिनको मूल्य क्षमता हेरी ६५ हजारदेखि २० लाख रूपैयाँसम्म पर्छ। कुनै मेसिन निश्चित यति उत्पादन गर्न सक्ने क्षमताको भन्ने हुँदैन, अर्डरअनुसार बनाइदिन्छन्।
'गत वर्ष दुई सय मेसिन उत्पादन भयो,' सुरेन्द्र भन्छन्, 'मागअनुसार जस्तो सुकै र जुनसुकै देशकाजस्ता मेसिन बनाइदिन सक्छौं हामी।'
सुरेन्द्र र विधानले काठमाडौंमा पनि बिक्री स्थल खोलका छन्। जुनसुकै स्थानका किसानले मेसिन किन्न चाहे कम्पनीले पुर्याइदिने व्यवस्था गरेको छ। मेसिन कसरी चलाउने, बिग्रियो भने के गर्ने भन्नेबारे केही चिन्ता लिन नपर्ने सुरेन्द्र बताउँछन्।
'हामी मेसिन सेट गरिदिएर चलाउने तरिका पनि सिकाइदिन्छौं,' उनले भने।
उनका अनुसार मेसिनको पार्टपुर्जामा ६ महिना ग्यारेन्टी दिइएको छ भने दुई वर्षको निःशुल्क सर्भिस छ।
'छ महिनासम्म केही पार्टपुर्जा बिग्रियो भने पैसा लाग्दैन। दुई वर्षसम्म सर्भिस चार्ज पनि लिँदैनौं,' उनले भने, 'त्यसपछि पार्टपुर्जा बिग्रिए किसानले सक्ने पार्टपुर्जा आफैं फेर्न सुझाउँछौं। नसक्ने कम्पनीबाटै प्राविधिक गएर बनाइदिन्छन्।'
किसानले मेसिन कसरी चलाइरहेका छन्, मेसिनले काम गरेको छ वा छैन भनेर कम्पनीले सजिलै सर्भरबाट हेर्न मिल्ने गरी बनाइएको उनी बताउँछन्। सुरेन्द्रका अनुसार मेसिन चलाउन मेसिन भएकै ठाउँमा बसिरहनु पनि पर्दैन। मोबाइल तथा कम्प्युटरको सहायताले किसानले जुनसुकै ठाउँबाट सञ्चालन गर्न सक्छन्।
अहिले वितरण भएका मेसिनबाट सबै ठाउँ गरी प्रतिसाता पाँच लाख बढी चल्ला निस्किने गरेको उनले बताए।
सुरेन्द्र र विधानले ठूला व्यावसायिक मेसिन उत्पादनका लागि धेरै ठूलो लगानी भने गरेका छैनन्। कसैले अर्डर गर्दा दिएको अग्रिम भुक्तानी रकमकै भरमा काम गरिरहेका छन्। २० जना उनीहरूको कम्पनीमा प्रत्यक्ष रोजगारमा रहेको उनी बताउँछन्।
अब भने विधान र सुरेन्द्र 'पास रिर्फम टेक्नोलोजी' (ठूलो क्षमता) को मेसिन बनाउने तयारी गर्दैछन्।
सुरेन्द्र भन्छन्, 'यो मेसिनमा अण्डा खेर जाँदैन, अझै उत्पादन बढाउँछ। यो प्रकारको मेसिन भारतमा पनि बन्दैन। चीनले बनाउँछ तर नेपाल ल्याउँदा धेरै महँगो पर्छ। यहीँ उत्पादन भए व्यवसायीलाई लागत कम पर्छ।'
नेपालमै ठूला क्षमताका मेसिन बन्न थालेपछि अण्डा र मासुको लागत कम गर्नमा पनि मद्दत पुग्ने विश्वास छ उनीहरूको। हालै सरकारले अण्डा र मासुमा देश आत्मनिर्भर भएको घोषणा पनि गरिसकेको छ।
(आयोटा एग्रो इलेक्ट्रो मेसिनरी हबको सम्पर्कः ९८५११३२१५७/९८४५५६६१६२)