उद्योगीलाई सबै काम एकै थलोबाट गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आए पनि विभिन्न निकाय धाउनुपर्ने बाध्यता हट्न सकेको छैन। उक्त सेवा केन्द्र पूर्ण रूपमा चल्न नसक्दा उद्योगीले सम्बन्धित निकाय धाएरै काम गर्नुपर्ने समस्या हट्न नसकेको हो।
उद्योग दर्तादेखि लगानी झिक्नेसम्मको सेवा एकै थलोबाट दिने गरी सञ्चालनमा ल्याइएको एकल विन्दु सेवा केन्द्रमा सबै निकायका इकाईहरू सञ्चालनमा नआएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जानकारी दिए।
उनका अनुसार केन्द्रभित्र १३ निकायका दस वटा इकाई छन्। त्यसमध्ये सातवटाले पूर्ण रूपमा सेवा दिएका छन् भने बाँकी तीनवटाले सेवा दिन सकेका छैनन्।
उद्योग विभाग अन्तर्गतका चार इकाई- उद्योग दर्ता, विदेशी लगानी सहजीकरण, कानुन तथा प्रशासन र प्रविधि हस्तान्तरण तथा वातावरण इकाईले उद्योगीलाई एकैथलोबाट पूर्ण सेवा दिएका छन्। त्यस्तै राष्ट्र बैंकको विदेशी विनिमय सहजीकरण, भूमि व्यवस्था अन्तर्गत जग्गा सहजीकरण र अध्यागमन विभागको भिसा सहजीकरण इकाईले पनि केन्द्रमै बसेर उद्योगीलाई सेवा दिएका छन्।
केन्द्रभित्र कम्पनी रजिष्ट्रार, श्रम तथा व्यवसायजन्य सुरक्षा र राजश्व इकाई भने सञ्चालन आएका छैनन्। यस कारण उद्योगी–व्यवसायीले सम्बन्धित निकायमै धाउन परेको महानिर्देशक भुसालले बताए।
'राजश्वमा दुई जना अफिसर बसेर प्यान र भ्याटको मात्र काम गर्छन्। त्यतिले उद्योगीको माग पूरा हुँदैन। उनीहरूको मुख्य काम भनेको कर तिर्न, अनुमति लिन पर्ने उद्योगले अन्तशुल्क कर बुझाउन सोही कार्यालय जानु पर्छ। त्यो काम पनि यहीँबाट भए उद्योगीलाई अन्त धाउन पर्दैन थियो,' उनले भने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कोही आएका छैनन्।
'श्रमबाट कोही आएका छैनन्। यहाँ पठाउने कर्मचारीलाई पुग्ने गरी काम दिनुपर्छ। पूर्ण अधिकार प्रत्यायोजन नगरेकाले आएको कर्मचारीले पनि काम गर्न सकेनन्। त्यो ठूलो समस्या छ,' उनले भने।
कम्पनी रजिष्ट्रारको कार्यालय विभागबाट नजिकै भएकाले त्यहाँबाट कर्मचारी नपठाएको कार्यालयले बताएको उनले जानकारी दिए।
'विभागमा आठ हजार तीन सय उद्योग दर्ता छन्। तिनको प्रशासनको काम गर्न यहीँ अधिकार प्रत्यायोजन दिएर कर्मचारी पठाउन पर्ने हो। तर हामी नजिकै एउटै परिसरमा छौं भन्छन्,' उनले भने।
उनले अगाडि थपे, 'हुन पनि विभागबाट ४/५ मिनेटमै कम्पनी रजिष्ट्रार कार्यालय पुगिन्छ। त्यसले केही समस्या त पारेको छैन,' उनले भने, 'तर जसरी केन्द्रभित्रै बसेर सेवा दिनुपर्छ भन्ने उद्देश्य थियो, त्यो हुन सकेको छैन।'
एकल बिन्दु सेवा केन्द्रलाई पूर्णरूपमा चलाउन उद्योग विभागलाई नै अधिकार दिन पर्ने महानिर्देशक भुसालले बताए।
'कुनै निकायको इकाई भन्दा पनि त्यो विभागकै इकाई रह्यो भने काम गर्न सहज हुन्छ। त्यसको कानुन बनाउनु पर्छ,' उनले भने, 'कानुन नबनेसम्म उनीहरूले पठाएका कर्मचारी अधिकार प्रत्यायोजन गरेर पठाउनु पर्छ। यहीँबाट सबै काम भयो भने केन्द्रको उद्देश्य पूरा हुन्छ।'
उद्योग विभाग परिसर भित्र नयाँ बनेको चार तले भवनको भुइँतलामा एकल विन्दु सेवा केन्द्र छ। उक्त केन्द्र उद्योग व्यवसायलाई सहज वातावरण दिन सरकारले ०७६ साल, जेठ १ देखि सञ्चालनमा ल्याइएको हो।
उद्योग दर्ता उद्योग विभागमा हुने भए पनि सबै काम यहाँबाट हुन्थेन। उद्योगीलाई कागजपत्र लिएर ठाउँ-ठाउँ धाउनु पर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।