हिजोआज आफ्नो पेसा सम्झिएर मास्टर-सेफ विष्णु मगरलाई आनन्द लाग्छ। आफूले सानैदेखि जानेको कामलाई निरन्तरता दिन पाउँदा ४४ वर्षीय विष्णु सन्तुष्ट छन्।
विष्णु चीनमा मास्टर-सेफका रूपमा १८ वर्ष काम गरेर आएका हुन्। उनले पोहोर मात्र लाजिम्पाटमा आफ्नै रेस्टुरेन्ट खोलेका छन्। र्याडिसन होटल छिर्ने मोडकै देब्रेपट्टि देखिन्छ विष्णुको 'नामनता किचेन'।
परम्परागत इटालियन र नेपाली परिकार पाइनु नामनताको विशेषता हो। धेरैलाई 'नामनता' शब्द नयाँ लाग्ला। विष्णु चीनबाट फर्केका हुनाले उतैको भाषामा नाम राखे कि भनेर पनि सोध्छन्। होइन, यो उनको गाउँको नाम हो। विष्णु भोजपुर जिल्लाको नामनता भन्ने ठाउँमा जन्मेका हुन्।
'गाउँको नाममा रेस्टुरेन्ट खोल्ने कमै हुन्छन्। नामनताको अंग्रेजी हिज्जेमा तीन वटा 'ए' छ, 'ए' राम्रो मानिन्छ,' विदेशीलाई पनि लक्षित गरेर रेस्टुरेन्ट खोलेका विष्णु भन्छन्, 'नमस्ते भन्न जानेका विदेशीलाई नामनता भन्न सहजै हुन्छ भनेर पनि यो नाम छानेको हुँ।'
झन्डै दुई दशक विभिन्न रेस्टुरेन्टमा काम गरिसकेका उनले होटलसम्बन्धी विषय पढेका भने होइनन्। न उनलाई पहिल्यैदेखि पकाउने-खुवाउने काममा सोख थियो।
मेजर नेपालीका विद्यार्थी विष्णुको सेफ यात्रा ठमेलको एक होटलबाट सुरू भएको हो। उनको घरको मुख्य आयस्रोत कृषि हो, पाँच जना छोराछोरीमध्ये कान्छा विष्णु। उनले नामनता गाउँमै ९ कक्षासम्म पढे।
कृषि कर्मले घर व्यवहार चलाउन र पढ्न नसकिने भएपछि विष्णु २०५२ सालमा काठमाडौं हानिए। उमेर भर्खर १५ लागेको थियो। किशोर उमेरमा उनलाई टन्न पैसा कमाउनु थिएन, बस् अध्ययनलाई निरन्तरता दिन चाहन्थे।
काठमाडौंमा उनका दाइ थिए। दुई-चार दिन काठमाडौं घुमेपछि उनलाई यहाँ काम नगरी पढ्न सकिन्न भन्ने लाग्यो। खोज्दै जाँदा उनले ठमेलको वेस्टर्न रेस्टुरेन्टमा काम पाए।
'काठमाडौं पढ्नै भनेर आएँ, तर पढ्न पैसा चाहियो। अनि काम त गर्नैपर्यो,' उनले भने, 'मलाई काम जे भए पनि मतलब थिएन, पैसा कमाएर पढ्न पाए हुन्थ्यो भन्ने थियो।'
ठमेलमा दाइसँगै बसेका उनी टंगाल स्कुलमा दस कक्षा भर्ना भए। टंगालमा रात्री र बिहानी सत्रमा पढाइ हुन्थ्यो। राती होटलमा काम गर्ने भएपछि उनी बिहानी सत्रमा पढ्न थाले। दिउँसोको समय पनि उनले भरपुर सदुपयोग गरे, जापानी र अंग्रेजी भाषा सिक्न जान्थे।
'ठमेलमा धेरै विदेशी आउँथे। होटल साहुनी र मुख्य सेफ जापानी भएकाले मलाई जापानी भाषा आउँथ्यो,' उनले भने, 'सिक्दै पनि गएँ।'
उनी होटलमा किचन हेल्परका रूपमा काम गर्थे। उनका अनुसार भाँडा माझ्ने, तरकारी केलाउने, खाना पस्किने, सफा गर्ने लगायत उनका मुख्य जिम्मेवारी थिए। जे अह्रायो, त्यही गर्थे। त्यो बेला उनको तलब मासिक ११ सय रूपैयाँ थियो। वरपरका होटलले ६ सय रूपैयाँ मात्र दिन्थे रे।
विष्णुले आफ्नो कामलाई यतिमै सीमित भने गरेनन्। फुर्सद मिल्नासाथ सेफसँग बर्गर, पास्ता, इटालियन सलाद लगायत परिकार बनाउन सिक्थे।
'त्यहाँ पहिलो पटक बर्गर बनाउँदा धेरै खुसी लागेको थियो। हेड सेफले एकदमै राम्रो छ, किप इट अप भनेपछि झन् हौसिएँ,' उनी हाँस्दै सुनाउँछन्, 'त्यतिखेर सेफहरू बाहिर निस्केका बेला पकाइरहेको प्यान छुन-हल्लाउन मात्र पाउँदा पनि धेरै खुसी भइन्थ्यो।'
काम गर्दागर्दै उनले सेफको सामान्य ज्ञानका लागि तालिम लिने अवसर पाए। नौ महिने सरकारी तालिमको शुल्क होटलले तिरिदियो। राती-राती काम गर्दै, बिहान-बिहान पढ्ने उनले एसएलसी पास गरे। थप पढ्न सरस्वती क्याम्पस भर्ना भए।
यसपछि उनी नयाँ होटलमा काम गर्ने थाले, किचनमा सघाउन होइन, पकाउन। तर सिकेजस्तो सजिलो भयो र काम गर्न! अझ घरमा समेत कहिल्यै केही नपकाएका उनलाई सुरूमा निकै अलमल भयो।
'घरमा त कहिल्यै कसरी पकाइन्छ भनेर हेरिएन, बासना मात्र लिइथ्यो,' उनी पकाउने कामको पहिलो अनुभव सुनाउँछन्, 'तर मेन सेफले राम्रोसँग सिकाउनु हुन्थ्यो।'
त्यो होटलमा उनले दुई वर्ष काम गर्दा ग्रील, रोस्ट तथा पिज्जा बनाउन सिके।
'त्यहाँ खानाका बारेमा धेरे ज्ञान लिएँ। इटालियन खाना बनाउन त्यहीँ सिकेको हुँ,' उनले भने।
त्यसपछि उनले बानेश्वरको होटल सनसिनमा काम गरे जहाँ नान, तन्दुरी बनाए। घर आएर उनी सेफले कसरी बनाएका थिए भनेर आफैं सामान ल्याएर अभ्यास पनि गर्थे। सँगै अरू होटलमा पार्ट-टाइम काम थाले, 'आफूले काम गर्ने होटलमा सिकेका कुरा अरू होटलमा सिकाउने काम गर्थेँ,' उनले भने।
बानेश्वरमा पाँच वर्ष काम गर्दाको अवधिमा उनको सँगै पढ्ने साथीसँग बिहे भयो। एक सन्तानका बुवा पनि भए। घर-परिवार र कामको गाडी जेनतेन दौडिँदै थियो। एकदिन साथीले बीचमै रोकेर भने, 'चाइनाको सांघाईमा नयाँ होटल खुलेको रहेछ, मान्छे खोजेको छ, जाने?'
परिवार बढेपछि उनलाई यहाँको कमाइले घर चलाउन मुश्किल पर्दै थियो। आफूले जानेको काम गर्दा बढी तलब पाइन्छ भने किने नजाने?
'मसँग लगभग सात वर्षको काम अनुभव थियो। होटल कसरी चलाउने, सेटअप गर्ने, खाना बनाउनेबारे जानकार थिएँ,' विष्णु भन्छन्।
आजभन्दा १८ वर्षअघि विष्णु सांघाईमा नयाँ खुलेको होटलमा हेड सेफका रूपमा गए। यहाँ दुईतिर काम गर्दा १५ हजार कमाउने उनले चीनमा २० हजार कमाउँथे।
हेड सेफ भएकाले उनले किचेन हेल्परका लागि यतैबाट एक जना नेपाली लिएर गएका थिए। तर विदेशको होटलमा विष्णुलाई कुराकानी गर्न भने असहज थियो।
'चिनियाँहरूले अंग्रेजी राम्रोसँग बुझ्थेनन्। काम सिकाउनै गाह्रो हुन्थ्यो। कुराकानी गर्न हातका हाउभाउ प्रयोग गर्थ्यौं,' उनी विदेशमा काम गर्दाका परिस्थिति सुनाउँछन्, 'बाहिर गएर सामान किन्नुपर्यो भने क्यालकुलेटर बोकेर जान्थेँ। बढी भयो यति घटाइदिनू भन्न पनि क्यालकुलेटर नै थिचेर देखाउन पर्थ्यो।'
विस्तारै फुर्सदमा एक-एक शब्द गर्दै चिनियाँ भाषा सिक्दै पनि गए। करिब तीन वर्ष त्यहाँ काम गरेपछि उनी अर्को होटल गए जहाँ स्पेस्यालिटी सेफका रूपमा काम गरे। त्यहाँ उनी भारतीय खाना बनाउँथे। ठूलो होटल भएकाले त्यहाँ दुई वर्ष नेतृत्व भूमिकामा रहेर कसरी काम गर्न सकिन्छ भन्नेबारे सिकेको उनी बताउँछन्।
अर्को होटलमा किचन म्यानेजरका रूपमा तीन वर्ष काम गरेका उनी भन्छन्, 'त्यहाँ तालिम गराउने, खानाको गुणस्तर हेर्ने, हाइजिन नियन्त्रण गर्ने लगायत काम गरेँ।'
नयाँ स्वादका खाना बनाउनेसँगै उनले होटलक्षेत्र सम्बन्धी अरू काम सिक्ने अवसर पनि खोजिरहे। उनी नयाँ खुलेको ठूलो होटलसँग जोडिए। त्यही कम्पनीले अरू ठाउँमा पनि होटल खोल्दै जान थाल्यो। जहाँ-जहाँ नयाँ होटल खुल्यो, त्यहाँ-त्यहाँ विष्णु हेड सेफ भएर गए। त्यस बीचमा उनले कतै एक, कतै दुई वर्ष गर्दै पाँच वटा होटलमा काम गरे।
सन् २०१९ को जनवरीसम्म आइपुग्दा उनी चीनको जेडब्ल्यु म्यारियट होटलमा काम गर्न थालेका थिए। सोही वर्ष डिसेम्बरमा कोरोना देखियो। चीनमा सबै ठप्प भयो, होटल पनि बन्द। अनि २०२०, फेब्रुअरीमा उनी एक महिना छुट्टी लिएर नेपाल आए।
'धेरै समयपछि परिवार भेट हुँदा दंग थिएँ,' उनी सुनाउँछन्, 'बिहान मर्निङवाक गयो, कहिले मद्रासी फिल्म हेर्यो, कहिले घरमा नयाँ नयाँ परिकार परिकार पकायो। लामो समय बिदामा कहिल्यै नबसेकाले त्यो समय असाध्यै रमाइलो थियो।'
यो रमाइलो समय परिवारसँग एक पलमै बित्यो। उनी अब फर्किने बेला भयो भन्ने सोच्दै थिए। तर कोरोनाले चीनलाई ढपक्कै पारिसकेको थियो। कोरोनाका कारण बाहिरका कामदार नलाने निधो चीनले गरिदियो।
अनि भने विष्णुले नेपालै बसेर काम गर्ने निधो गरे। यति बेलासम्म कोरोना नेपाल आइपुगेर लकडाउन गराउन भ्याइसकेको थियो।
'लकडाउनका बेला धेरै ठाउँ हिँडेरै जान्थेँ,' उनले भने, 'आफूले जानेको काम होटलमै हो। त्यसका लागि स्थानीय बजारको अवस्था कस्तो छ भनेर नियालेँ।'
उनले बेकरी क्याफे चलाउने पनि सोचेका थिए। तर आफ्ना लागि होटलभन्दा राम्रो विकल्प देखेनन्। सबै रोकिएका बेला होटलमा लगानी आँट्नु ठूलो चुनौती थियो। तर सदाझैं उनले सामना गर्दै यसमै आफ्नो कमाइ पोखे।
उनले रेस्टुरेन्ट खोल्न सुरूमा तीन ठाउँ सोचेका थिए, लाजिम्पाट, झम्सिखेल र ठमेल। लाजिम्पाट रोज्नुको कारण खुलाउँदै भन्छन्, 'यहाँ दूतावास धेरै छन्, विदेशी आउँछन् र विदेशी नआए पनि स्थानीयबाटै चल्छ भन्ने भयो।'
लाजिम्पाटमा खाली ठाउँ पाउन मुश्किल छ। उनले अरूले चलाइरहेको पुरानो रेस्टुरेन्ट ५० लाख रूपैयाँमा किने। लामो समय विदेशमा काम गरेकाले लगानीमा समस्या भएन। पुरानो रेस्टुरेन्ट किने पनि उनले त्यसलाई आफ्नै तरिकाले डिजाइन गरे। डिजाइनमै ३५ लाख खर्च भएको उनी बताउँछन्।
रेस्टुरेन्ट खोलेर मात्र हुँदैन, चलाउन सकिन्छ कि सकिँदैन, त्यो ठूलो कुरा हो।
'अरूभन्दा राम्रो कसरी बनाउने भनेर अध्ययन गरेँ,' उनी भन्छन्, 'कस्तो खानेकुरा ग्राहकले रूचाउँछन् भनेर बुझ्न मैले चालीस वटा होटलका खानेकुरा खाएँ, वातावरण हेरेँ। कुन होटल कति नम्बरमा परेको छ भनेर गुगलमा खोजेँ।'
यताउति चाखेपछि उनले सोचे- धेरै मसला हालेका भन्दा प्राकृतिक स्वाद दिने होटल खोल्छु।
उनी आफ्नो रेस्टुरेन्टमा अलि बेग्लै स्वाद दिने कुरामा भन्छन्, 'मान्छेहरू मेनु बनाउँदा त्यो रेस्टुरेन्टमा यो रहेछ, त्यो मैले पनि राख्नुपर्छ भनेर राख्छन्। तर मैले आफूले के जानेको छु, त्यसमा नेचुरल स्वाद दिन सकिने खाने कुरा राखेको छु।'
विष्णुका अनुसार नामनता किचनमा प्रायः सबै कर्मचारी होटल व्यवस्थापन पढेका नयाँ विद्यार्थी छन्। यी कर्मचारीलाई होटल सुरू गर्नुअघि उनले करिब तीन महिना तालिम दिएका थिए।
'सुरूको लकडाउन चलिरहेको थियो। हामीले सामान किन्ने, ल्याउने, बनाउने, चाख्ने, सर्भिसमा परीक्षण गर्ने, फोटो खिच्नेजस्ता काम गर्यौं,' उनले भने, 'अहिले पनि हामी हप्तामा दुई दिन तालिम दिन्छौं। आज के समस्या भयो, भोलि त्यसलाई कसरी सच्याउने भनेर ब्रिफिङ गर्छौं।'
विष्णु आफ्नो कामलाई पनि यसरी नै ब्रिफ्रिङ गर्छन्- आज कोरोना महामारी भएर समस्या छ, महामारीपछि पर्यटक आइहाल्छन्। स्थानीय ग्राहक त अहिल्यै उनको नामनताको स्वाद चाख्न पुग्छन्।
उनले होटल म्याजमेन्ट कल्सटिङ कम्पनी पनि खोलेका छन्। त्यसले रेस्टुरेन्ट चलाउन नसक्नेलाई चलाइदिने, नयाँ खोल्नेलाई कन्सेप्ट डिजाइन, सेटअप गरिदिने लगायत होटल क्षेत्रका सबै काम गर्ने उनले बताए। नामनता किचेन अहिले राम्रै चलेको बताउने विष्णु महामारी थामिएर गति समातेपछि शाखा विस्तार गर्ने योजनामा छन्।
देश र विदेशका हजारौं मान्छेलाई विभिन्न परिकारको स्वाद चखाइसकेका विष्णुलाई एउटा कुरा भने अझै अपूरो लाग्छ। आफूले एउटा विशेष स्वाद भने अझै बनाउन नसक्ने उनी बताउँछन्, 'म धेरै स्वादका परिकार बनाउन सक्छु। तर मेरी आमाले पकाएजस्तो खानाको स्वाद ग्राहकलाई दिन सकेको छुइनँ।'
सबै तस्बिर सौजन्यः विष्णु मगर