सरकारले गत बिहीबारबाट काठमाडौं उपत्यका लगायत कोरोना संक्रमण धेरै फैलिएका जिल्लामा निषेधाज्ञा गरेको छ। यो समयमा धेरै उद्योगधन्दा बन्द रहे पनि खाद्यान्न उद्योग निरन्तर सञ्चालनमा रहेको नेपाल चामल, तेल, दाल उत्पादक संघले जनाएको छ। संघका अनुसार हाल खाद्यान्नका सय बढी ठूला उद्योग छन्।
पहिलो लकडाउनको तुलनामा अहिले उद्योगधन्दा सञ्चालन गर्न केही सहज भएको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जानकारी दिए।
'पहिले र अहिलेको कोरोनामा धेरै फरक छ, अहिले धेरै मान्छे मरिरहेका छन्,' उनले भने, 'यसले मनोबल घटाए पनि उद्योगधन्दा सञ्चालन गरिरहेकै छौं।'
कोरोनाको पहिलो लहर र लकडाउनबाट अहिले उद्योगधन्दा कसरी सञ्चालन गर्ने भन्ने सिकेको उनी बताउँछन्। सरकारले उद्योगधन्दा सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिएको उनले जानकारी दिए।
'पहिलेको लकडाउनमा हामीसँग कुनै अनुभव थिएन, डराएर सबै उद्योगधन्दा बन्द गर्यौं। सरकार पनि सबै बन्दै गर्नुपर्छ भन्ने पक्षमा गयो,' उनी काम गर्दाको अनुभव सुनाउँछन्, 'अहिले सरकार पनि सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छ।'
क्वारेन्टाइन र बस्ने व्यवस्था नहुँदा कर्मचारी सबै घर गएकाले पहिलो लकडाउन खुलेपछि उद्योगधन्दा चलाउन समस्या परेको उनले बताए। अहिले केही ठूला उद्योगले उद्योग परिसरमै क्वारेन्टाइन र आवास व्यवस्था गरेका छन्। लकडाउन भइहाले पनि उद्योग सञ्चालन गर्न समस्या नपर्नेमा अध्यक्ष गुप्ता ढुक्क छन्।
पहिलो लकडाउन विभिन्न चरणमा खुलेसँगै उद्योग सामान्य अवस्थामा आइसकेका थिए। खाद्यान्न उद्योग त अत्यावश्यक भएकाले तंग्रिन समयै लागेन। पछिल्लो समय उद्योग मात्र होइन, मानिसको दैनिक जीवनयापन नै सामान्य भइसकेको थियो। मानिसहरू बिहे, भोज, पार्टीमा खुलेर हिँड्थे।
'लकडाउन खुकुलो हुँदै गएपछि स्वाभाविक रूपमा मानिसको मनोबल बढ्दै गयो,' गुप्ताले भने, 'बजारमा बिक्री वितरण सहज भएपछि हामीलाई पहिलेको अवस्थामा फर्कन समय लागेन।'
कोरोनाको दोस्रो लहर सुरू भएपनि खाद्यान्नका उद्योग पूर्ण क्षमतामा चलेको उनले जानकारी दिए।
'अहिले केही समस्या छैन, तर महामारी फैलिँदै जाने हो भने आगामी दिनमा केही भन्न सक्ने अवस्था छैन,' उनले भने।
सुरक्षाको मापदण्ड अपनाएर कर्मचारीलाई काममै लगाएकाले तत्काल बिदामा राख्ने योजना नभएको उनले बताए, 'खाद्यान्न उद्योग पूर्ण क्षमतामा चलाउनुपर्ने बेलामा कर्मचारीलाई बिदामा राख्ने कुरै हुँदैन।'
अध्यक्ष गुप्ताका अनुसार खाद्यान्न उत्पादनका लागि अधिकांश वस्तु यहाँकै किसानले गरेको उत्पादन प्रयोग हुन्छ। यहाँ नभएका र नपुगेको अवस्थामा भारत लगायत तेस्रो मलुकबाट आयात हुँदै आएको छ। आयात निरन्तरता दिएकाले खाद्यान्न आपूर्तिमा पनि समस्या नरहेको उनले बताए।
उनका अनुसार केही आयातित सामान बाटामै भएकाले ल्याउने प्रक्रियामा छ।
'केही सामान ड्राइपोर्टमा छ, केही बाटोमा, केही व्यापारीकहाँ छ। यो बिजनेसको चेन नै हो। यो चेन टुटेन भने आपूर्तिमा समस्या हुँदैन,' उनले भने, 'तर सरकारले अत्यावश्यक मालसामान बोक्ने ढुवानीका साधनलाई सहजै आवतजावत गर्न दिनुपर्छ।'
श्रमिकलाई पनि उद्योगको परिचयपत्रको आधारमा आवतजावत गर्न दिनुपर्ने उनको भनाइ छ।
'ठूलै महामारी आइहाले पनि हाम्रो आफ्नै उत्पादनले ३ देखि ६ महिना पुग्ने खाद्यान्न मौज्दात छ,' उनले भने।
उद्योग बन्द हुने स्थिति आउन नदिन सरकारले ढुवानीमा सहज वातावरण गराइदिनु पर्ने उनले बताए।
'भन्सारमा सामान छुटाउन सहज हुनुपर्छ। त्यसैगरी बैंकिक कारोबारलाई कुनै अवरोध बिना चल्न दिइयो भने हामीलाई काम गर्न सहज हुन्छ,' उनले भने।
उद्योगधन्दा बन्द भयो भने देशको अर्थतन्त्र नै धरासायी हुने उनी बताउँछन्।
'उद्योग बन्द हुँदा सबभन्दा ठूलो कुरा रोजगारी गुम्छ। रोजगारी नभएपछि देशले कसरी धान्ला,' उनले भने।