चितवनका किशोर बगाले पहिले दैनिक एक सय पचास लिटर दूध बेच्थे। रत्ननगर नगरपालिका, पर्सौनी गाउँमा उनको फार्म छ जहाँ ३० वटा गाई छन्। गाईले जात अनुसार एकपटकमा १२ लिटरसम्म दूध दिन्छन्।
दूध बेचेरै घर खर्च टार्दै आएका उनलाई निषेधाज्ञापछि भने दैनिकी चलाउन गाह्रो परेको छ। आम्दानी ठप्प, खर्च भने भइरहेकाले मुश्किल परेको उनी बताउँछन्, 'पहिले महिनामा एक लाख रूपैयाँसम्म कमाइ हुन्थ्यो। अहिले आम्दानी त परको कुरा, खर्च समेत जुटाउन सकिएको छैन।'
किशोरका अनुसार निषेधाज्ञापछि २५ प्रतिशत दूध पनि बेच्न सकिएको छैन। अघिल्लो लकडाउनभन्दा पनि यो वर्ष दूध बेच्न नसकिएको उनको अनुभव छ।
पहिले लकडाउनमा अहिलेजस्तो कोरोना संक्रमण भयावह नभएकाले उनले संकलन भएमध्ये ५० प्रतिशत दूध बजार पठाउन सकेका थिए। यसपालि त खर्च उकास्नै मुश्किल परेको छ। भन्छन्, 'उता व्यापारीहरू धूलो दूध घोलेर बेचिरहेका छन्। हामीले दूध बेच्न नसकेको कसले देख्छ र?'
एकातिर दूध बिक्री नहुनु र अर्कोतिर दाना-चोकरको मूल्य बढ्नाले किशोरजस्ता धेरै किसान झन् मर्कामा परेका छन्। उनका अनुसार पहिले प्रतिबोरा १४ सय रूपैयाँमा ल्याइएको दाना अहिले १८ सय तिर्नुपर्छ। त्यस्तै डेरी उद्योगीले पहिले दूध लगेको पैसा पनि नदिएको गुनासो उनले गरे।
'एकातिर दूध बिकेको छैन। अर्कोतिर बेचेको पैसा पाउन सकेका छैनौं,' उनले भने, 'अझै दुई/तीन महिना यस्तै हो भने गोठबाट दाम्लो खोलेर गाईवस्तु धपाउनु बाहेक अरू उपाय छैन।'
करिब तीन महिनादेखि पैसा नपाएकाले उनलाई बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले गलाएको छ। तीन वर्षअघि उनले कृषि विकास बैंकबाट पाँच प्रतिशत अनुदान ब्याजमा बीस लाख ऋण झिकेका थिए।
'ब्याज मासिक तिर्नुपर्छ, नसके अनुदानमा ब्याज पाइँदैन,' उनले भने, 'बैंकले तोकेको ब्याज तिर्नुपर्छ।'
देशमा काम गरेर खाने वातावरण नभएको देख्दा उनलाई कहिलेकाहीँ विदेश जाऊँ कि झैं लाग्छ। उनी सन् २००४ मा खाडी मुलुक अजमान गएका थिए। त्यहाँ स्टोर सुपरभाइजरका रूपमा काम गर्थे। एकदिन घुम्दै जाँदा केही साथीहरूलाई गाईफार्ममा काम गरेको देखे।
'विदेशका गाईफार्ममा काम गर्न नेपालबाट कामदार लगिने रहेछ। बरू आफैं नेपालमै किन फार्म नखोल्ने भनेर फर्किएँ,' सन् २०१३ मा नेपाल फर्किएका उनले भने, 'गाई पालेर गोबर नै सोहोर्न किन विदेश जानपर्यो र? नेपालमै गर्दा भइहाल्छ भनेर आएँ।'
किशोरको पुर्ख्यौली घर गोरखा हो। गाउँको पेसा कृषि। घरमा गाईवस्तु पालेका थिए। बुबाले गरेको र विदेशमा देखेको गाईपालन परिमार्जन गरी व्यवसाय गरको उनी बताउँछन्। उनले सुरूमा दस वटा गाई अटाउने फार्म बनाए र चितवनबाटै दुइटा गाई ल्याए। विदेशमा काम गरेर आएकाले व्यवसाय सुरू गर्न चाहिने खर्च जुटाउन उनलाई खास गाह्रो भएन।
'विदेश बसेर पैसा जोगाएको थिएँ। सुरूमै यति पैसाले गोठ, यति वटा गाई भनेर योजना बनाएको थिएँ। त्यसैले सुरूमा ऋण परेन,' उनले भने, 'तर व्यवसायिक रूपमा कसरी र के गर्ने भन्ने थाहा थिएन। जस्तो जानेँ, त्यस्तै गर्दै आएँ। समयले सबै कुरा सिकायो।'
अहिले अधिकांश गाईफार्ममा मेसिनबाट दूध दुहुने, गोबर फ्याँक्ने काम हुन्छ। किशोर भने हातैले गर्दै आएको बताउँछन्। यसलाई विस्तारै आधुनिक बनाउँदै लैजाने योजना छ। २५ विघा जग्गा भाडामा लिएर घाँस खेती पनि गरेका छन् उनले। स्वस्थ दूध उत्पादन गर्न गाईलाई घाँसै खुवाउनु पर्छ भन्ने उनको मान्यता छ।
विस्तारै व्यवसाय अझै बढाउने योजनामा रहेका किशोर गत लकडाउनदेखि जाँगर मरेको बताउँछन्।
'मैले संक्रमणको वास्ता नगरी बजार चल्न दिनुपर्छ, निषेधाज्ञा गर्नु हुँदैन भनेको होइन,' तर दैनिक अत्यावश्यक वस्तु सरकारले व्यवस्थापन गरेर बिक्री-वितरण गर्ने वातावरण मिलाइदिनु पर्छ,' उनले दुखेसो पोखे, 'सरकारले दस रूपैयाँ अनुदान देओस्, हामी दस रूपैयाँ दिन्छौं। सस्तोमा दूध दिएपछि बिक्री बढ्छ। नभए दूध नदुहे पशु पनि बिग्रिन्छन्।'
उनी मात्र होइनन्, चितवनका करिब ५० हजार मानिस गाईपालनमा आश्रित छन्। जिल्लाबाट दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने दूग्ध उत्पादक सहकारी संघ, चितवनका सचिव समेत रहेका किशोरले बताए। उक्त दूध काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, हेटौंडा लगायत जिल्लामा जान्थ्यो। तर अहिले निषेधाज्ञाका कारण स्थानीय बजारमा समेत दूध बिक्री नभएको उनी बताउँछन्।
जिल्ला दूग्ध उत्पादक सहकारी संघ, वर्दाघाट सुस्त पूर्व नवलपरासीका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार पचास प्रतिशत दूधको पाउडर बनाइने गरेको छ। तर अहिले यो पनि कम भएको छ। दूध बिक्री नहुँदाको घाटा त छँदैछ, त्यसलाई व्यवस्थापन गर्न थप खर्च लाग्छ। पशुका लागि चाहिने पराल, घाँस, लगायत आहार पनि गाडी नभएकाले ल्याउन समस्या भइरहेको उनले बताए।
'नीतिसहित राज्यबाट सम्बोधन भए पशुपालन फस्टाउन सक्ला। नभए दाम्लोमै गाइवस्तु मर्ने अवस्था आउँछ,' उनले भने। अधिकांश किसानले ऋण लिएर पशुपालन गरेकाले ब्याज मिनाहा र किस्ता अवधि लम्ब्याइदिए आफूहरूलाई केही राहत हुने उनको भनाइ छ।