विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को असर प्रत्यक्ष वैदेशिक लगानीमा परेको छ। महामारीले लगानी संकटमा पर्ने देखिएपछि वैदेशिक लगानी प्रतिबद्धता घटेको हो।
नेपालमा सबभन्दा बढी लगानी गर्ने चिनियाँ लगानीकर्ता हुन्। सबभन्दा पहिला चीनमै कोरोना भाइरस देखिएकाले नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष असर परेको छ।
महामारीले आम्दानीको स्रोत बन्द हुँदा आर्थिक स्थिति कमजोर भएपछि लगानीकर्ताले नयाँ लगानी गर्न सकेका छैनन्।
चालु आर्थिक वर्ष ०७७/०७८ को ११ महिना (साउनदेखि जेठ) सम्ममा २७ अर्ब ३१ करोड मूल्य बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्ष ०७६/०७७ को सोही अवधि (साउनदेखि जेठसम्म) को तुलनामा यो १२ प्रतिशतले कम हो।
आर्थिक वर्ष ०७६/०७७ साउनदेखि जेठसम्म १ सय ८७ वटा परियोजनामा ३० अर्ब ९३ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो।
कोभिड–१९ का कारण विदेशी लगानी गत वर्षको तुलनामा केही घटेको विभागका वैदेशिक लगानी शाखा प्रमुख रूपेश खनाल स्वीकार्छन्।
कोभिड प्रभाव हट्दै गएपछि लगानीकर्ता आउँछन् कि भन्ने आस भने अझै रहेको उनले बताए।
‘गत वर्षको तुलनामा केही घटेको हो। तर अझै एक महिना छ। बाँकी रहेका आउँछन् कि भन्ने आस छ,' उनले भने, ‘कोभिडको खोप पनि आइसक्यो। अब लगानी गर्न डराउनु पर्ने अवस्था छैन।’
चालू आबको साउनदेखि जेठसम्म विभागमा दर्ता भएका १ सय ५१ उद्योगमध्ये सबभन्दा बढी लगानीको आकर्षण क्षेत्र पर्यटन बनेको छ। पर्यटनमूलक उद्योगका लागि ८३ वटा उद्योग दर्ता भएका छन्।
विगतका वर्षमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो।
अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्र छाडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएको सो क्षेत्रमा आएको प्रतिबद्धताले देखाउँछ।
दोस्रोमा सेवामूलक ३५, उत्पादनमूलक १६, सूचना प्रविधिमा १२, कृषि तथा वनमा आधारित ३ र ऊर्जामूलकमा २ वटा परियोजनामा प्रतिबद्धता आएको छ।
विभागमा प्रतिबद्धता गरिएको परियोजनामध्ये ठूला ३, मझौला ३ र साना १ सय ४५ वटा परियोजना छन्।
विभागको तथ्यांक हेर्दा सबभन्दा बढी होटल सञ्चालन गर्ने भनिएको छ। केही लगानीकर्ताले निर्माण, मासु प्रशोधन, सफ्टवेयर डेभलपमेन्ट तथा कार्गो लगायत परियोजनामा प्रतिबद्धता जनाएका छन्।
यी उद्योग सञ्चालनमा आए ४ हजार ५ सय ३५ जनाले रोजगारी पाउने छन्।
विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्ममा १५ वटा देशबाट लगानी प्रस्ताव आएको छ।
सबभन्दा बढी चिनियाँ लगानीकर्ताले १ सय १५ परियोजनामा १९ अर्ब २० करोड ७२ लाख लगानी गर्ने प्रतिबद्धता गरेका छन्।
दोस्रोमा भारतीय लगानीकर्ताले ८ परियोजनामा ६३ लाख ६० करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, अमेरिकाले ६ परियोजनामा १ अर्ब ६२ करोड ८९ लाख, बेलायतले ५ परियोजनामा २१ करोड, नेदरल्यान्ड्स र दक्षिण कोरियाले तीन/तीन वटा परियोजनामा क्रमशः १५ करोड ६५ लाख र ९ करोड रूपैयाँ लगानी गर्ने बताएको छ।
बेल्जियम, मेक्सिको र सिंगापुरले दुई/दुई वटा परियोजना क्रमशः ६ करोड २५ लाख, १५ करोड र १ अर्ब ७३ करोड ८८ लाख लगानी गर्ने बताएका छन्।
त्यस्तै, ब्रिटिस भर्जिन आइल्यान्ड, इजरायल, मलेसिया, पोल्यान्ड र कतारले एउटा/एउटा परियोजनामा क्रमशः ३ अर्ब, ५ करोड, ५ करोड, १३ लाख र ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।