बसन्त पौडेललाई कहिलेकाहीँ लाग्छ- धेरै व्यवसायमा हात हालेर कतै गल्ती त गरिनँ?
उनी आफैंलाई चित्त बुझाउँछन्- यो त 'चेन बिजनेस' हो नि!
तनहुँ बन्दीपुर- १ का बसन्त रेस्टुरेन्ट-होटल सञ्चालक हुन्। कुखुरा, बट्टाइ, टर्की, कालिज जस्ता पशुपंक्षी पालन पनि गरिरहेका छन्।
निषेधाज्ञाले पर्यटकीय बजार बन्दीपुर ठप्प हुँदा उनलाई भने फुर्सद छैन। रेस्टुरेन्ट-होटल बन्द भए पनि उनी दिनभर फार्ममा खट्छन्। अण्डा-मासु किन्न ग्राहक आउँछन्। सबेरै फार्म पुग्ने बसन्त फर्किँदा रात पर्छ।
२९ वर्षीय बसन्त आफ्ना उत्पादन बेच्न व्यापारीको मुख ताक्दैनन्। फार्मबाट उत्पादित मासु बेच्न उनले आफैं पसल खोलेका छन्। केही उनको रेस्टुरेन्ट-होटलमा पनि खपत हुन्छ।
'मासु खुद्रा बेच्दिनँ। होलसेल रूपमा होटलहरूमै डेलिभरी गर्छु,' उनले भने।
कोरोना महामारीपछिको लकडाउनले धेरै व्यवसाय धरासायी बनायो। मान्छेहरूको लगानी घाटामा गयो, नयाँ लगानी गर्ने आँट विगत डेढ वर्षमा थोरैले मात्र गरेका छन्। यस्तै थोरैमध्येका हुन् बसन्त। होटल-रेस्टुरेन्ट बन्द भएपछि वैकल्पिक आय स्रोत खोज्ने क्रममा उनी पहिलो लकडाउनताका कृषि कर्ममा लागेका हुन्।
त्यसो त बसन्तले न कृषि पढेका हुन्, न होटल सम्बन्धी कुनै विषय। उनी सिभिल इञ्जिनियर हुन्।
कसरी मोडियो त बसन्तको बाटो?
बसन्तलाई सानैदेखि पर्यटन क्षेत्र र सञ्चार क्षेत्रमा रूचि थियो। २०६४ सालमा दमौलीबाट एसएलसी दिएपछि उनलाई आफ्नो रहर पूरा गर्ने समय मिल्यो। परीक्षा दिएपछि खाली समयमा उनले 'आरजे 'तालिम लिए। इच्छा र सिकाइ राम्रो भएकाले तुरून्तै स्थानीय रेडियो 'भानुभक्त' मा काम पनि पाए।
'म रेडियोमा कार्यक्रम चलाउँथेँ। कहिलेकाहीँ समाचार पनि लेख्थेँ,' उनले सुनाए।
दोस्रो श्रेणीमा एसएसली पास भएपछि उनी काठमाडौं आउने भए। उनका बुवा काठमाडौं, सितापाइलामा एक निर्माण कम्पनीमा काम गर्थे। आमा पनि काठमाडौंमै बस्थिन्। उनलाई बुवाले इञ्जिनियर पढ्नुपर्छ भनेर जिद्दी गरे। बुवाको इच्छालाई आफ्नै रूचि जस्तो मानिदिएर उनी सजिलै पढ्न तयार भए। सितापाइलास्थित एक्मी इञ्जिनियरिङ क्याम्पसमा आवेदन दिए।
'दोस्रो श्रेणीमा पास भएकाले इञ्जिनियरिङमा नाम निस्किँदैन भन्नेमा ढुक्क थिएँ। त्यसैले बुवा खुसी भइहाल्नुहुन्छ भनेर इन्ट्रान्स दिएँ,' बसन्त सम्झिन्छन्, 'तर मैले सोचेजस्तो भएन। नाम निस्किएछ।'
सिभिल इञ्जिनियरिङमा नाम निस्किएपछि उनले रेडियोको काम छाड्नुपर्यो। तीन वर्षे पढाइसकेपछि उनी बुवाले काम गर्ने निर्माण कम्पनीमै काम गर्न थाले। ०७२ सालको भुइँचालोपछि भने परिवारै घर फर्किए। उनी त्यहाँबाट सितापाइलाकै कम्पनी मार्फत नारायणगढ–मुग्लिन सडकखण्डमा काम गर्न गए।
काम गर्न जान नपाउँदै फेरि नाकाबन्दी भयो। कहिले भूकम्प, कहिले नाकाबन्दीले उनलाई यहाँ बसरे काम गर्नै मन लागेन। विदेश जाने हुटहुटी चल्यो।
'खास अरू त केही थिएन। तर एकपटक विदेश जानुपर्छ भन्ने सोच आयो,' उनले भने।
बसन्तलाई परिवारले रोक्न सकेन। २०७३ साल असारमा उनी दुबई हानिए। त्यहाँ खाद्य कम्पनीमा काम गर्थे। दुई वर्ष काम गरेपछि भिसा सकियो। फेरि जाने अवसर त थियो, तर विदेशमा निकै समय काममा खटिएका उनलाई आफ्नै देशमा यत्तिको खटे धेरै राम्रो हुन्छ भन्ने अनुभव भइसकेको थियो।
'विदेश कस्तो रहेछ भन्ने अनुभव भइहाल्यो। नयाँ सीप र ज्ञान पनि पाएँ,' उनी सुनाउँछन्, 'अब यहीँ काम गर्छु, विदेश आउँदिनँ भनेरै फर्किएँ।'
भुइँचालोले पुरानो घर भत्केपछि उनीहरूले दुइटा सटर राखेर नयाँ घर बनाएका थिए। बसन्तले त्यो सटर आफैं प्रयोग गर्ने सोचे, 'आमाबुवालाई अब मैले चाहेको काम गर्न दिनुस् भनेँ, उहाँहरूले पनि सहयोग गर्नुभयो।'
पर्यटकीय स्थल भएकाले उनलाई होटल-रेस्टुरेन्ट व्यवसाय नै चल्छ भन्ने लाग्यो। लगानी गर्ने पैसा भने थिएन। दुबईमा कमाएको पैसा केही घरमै पठाए, केही साथीभाइलाई दिएका थिए। तर आँट गरेपछि पूरा नहुने के छ र, लगानी जुट्यो।
उनले सहकारीबाट तीन लाख ऋण लिए, सात लाख रूपैयाँ बुवाले दिए। लगानी बन्दोबस्त भएपछि घरका दुइटा सटरमा उनको रेस्टुरेन्ट खुल्यो- एपिज रेस्ट प्वाइन्ट।
विभिन्न सपना पालेका उनलाई बल्ल आफ्नो इच्छा पूरा भएझैं लाग्यो। रूचिको काम भएर होला उनले खानेकुरा मिठो पकाउँथे, ग्राहकको भिडै हुन्थ्यो। काममा विस्तारै सफलता मिल्दै गयो। त्यही बीचमा उनले बिहे पनि गरे।
जीवन र काममा साथ दिने सहयात्री पाएपछि उनलाई त्यही एउटा रेस्टुरेन्टमा रूमलिन मन लागेन। एक वर्षपछि रेस्टुरेन्ट श्रीमतीलाई जिम्मा दिए। उनी भने होटल खोल्न घर खोज्न थाले।
'एक लाख भाडाको एउटा घर खाली भेटेँ। तर एक्लै खोल्न आँट आएन,' उनी भन्छन्, 'रेस्टुरेन्ट राम्रै चलाएको देखेकाले साथीहरूले साथ दिए।'
चार जना साथीले पाँच/पाँच लाख लगानी गरेर ०७६ साउनमा नयाँ होटल खोले- हिमालय एक्सेस।
लगानीकर्ता चार जनामध्ये दुई जना होटल क्षेत्रमै काम गरेकोले उनीहरूलाई होटल चलाउन गाह्रो भएन। सात महिना हुँदासम्म राम्रो चल्न थालेपछि उनीहरूलाई होटलमा लगानी थप्ने उत्साह बढेको थियो। तर त्यही बेला कोरोना भाइरसले उनीहरूको उत्साहलाई अंकुराउन दिएन।
'अन्य होटलभन्दा राम्रो चल्थ्यो, अर्को खोल्ने सोचिसकेका थियौं,' उनी सुनाउँछन्, 'तर नयाँ होटल खोल्न त परको कुरा, भएको पनि बन्द गर्नुपर्यो।'
आम्दानीको स्रोत होटल र रेस्टुरेन्ट दुवै बन्द भएपछि उनको दिमागमा जुक्ति फुर्यो- बाहिरबाट महँगोमा किनेर ल्याउने मासु व्यवस्थापन आफैं गर्ने। अनि त्यही बेला सुरू गरे कुखुरा बेच्ने बेलासम्म रेस्टुरेन्ट-होटल पनि खुल्छन् भन्नेमा उनी ढुक्क भए।
'महँगोमा किनेर ल्याउनुभन्दा आफैं उत्पादन गरे सस्तो र गुणस्तरीय पनि हुन्छ। त्यसैले कृषितिर लाग्ने सोचेँ,' उनले भने।
उनले सहुलियत ब्याजदरमा कृषिका लागि ऋण पाइन्छ भन्ने सुनेका थिए। त्यसैअनुसार प्रक्रिया चाले, पाँच प्रतिशत ब्याजमा १५ लाख रूपैयाँ ऋण पाए। जग्गा भने आफ्नै भएकाले खोज्न परेन। उनले कुखुरा, कालिज, बट्टाइ, टर्की पालन गर्ने सोचे। स्थानीयले पालेका विभिन्न प्रजातिका पंक्षीका दुई-चारवटा चल्ला कोहीसँग मागेर, कोहीसँग किनेर ल्याए।
फार्मका कुखुरा मासुका लागि उपयुक्त हुने बेलासम्म लकडाउन खुल्यो। उनले होटल-रेस्टुरेन्टमा बोर्ड राखे- आफ्नै फार्मबाट उत्पादित कुखुरा, टर्की, कालिजको मासु पाइन्छ। रेस्टुरेन्टमा ग्राहक बढे।
तर फार्ममा उत्पादित मासु रेस्टुरेन्ट-होटलको खपतले मात्र सकिन्थेन। धेरै भएको मासु अरू व्यापारीले किन्न पनि मानेनन्। यसको समाधान गर्न उनी आफैंले मासुको होलसेल पसल खोलेका हुन्।
लकडाउनपछि उनको रेस्टुरेन्ट फस्टाए पनि होटल भने चलेन।
'फार्मबाट भएको आम्दानी र रेस्टुरेन्ट चलेकाले खर्च चलाउन पुग्थ्यो। तर ठूलो लगानीको होटल बन्द हुँदा घाटा हुँदै गयो,' उनले भने, 'छ महिना बन्दमा घरबेटीले भाडा छुट दिएनन्। हामी लगानीकर्ताले प्रतिव्यक्ति डेढ लाख उठाएर भाडा तिर्यौं।'
एकातिर होटल नचल्नु, अर्कातिर भाडा मात्र तिर्नुपर्ने भएपछि उनीहरूले होटल सार्ने विचार गरे। नजिकै मासिक ६५ हजार भाडा तिर्नपर्ने अर्को घर पाए र माघमा सरे।
यसरी धर्मराउँदै भए पनि आफ्ना व्यवसाय थामिरहेका थिए बसन्त। व्यवसायले गति पक्डिँदै थियो। तीन महिना नपुग्दै फेरि निषेधाज्ञा भयो। तर पहिलो लकडाउनमा जस्तो अहिले भाडा कसरी तिर्ने भनेर उनलाई पोलेको छैन। बसन्त भन्छन्, 'लकडाउनभरि घरबेटीले भाडा नलिने सम्झौता छ। होटलको आम्दानी बचत गरेरै तिर्ने भनेर सहकारीबाट चार लाख ऋण निकालेका थियौं, त्यो पनि अहिले तिर्नुपर्दैन।'
पहिलो लकडाउनमा पंक्षीजन्य मासुको व्यवसायमा हात हालेका उनले यो निषेधाज्ञामा पनि नयाँ काम सुरू गर्दैछन्- १५ वर्षदेखि बाँझो रहेको आफ्नै जग्गामा बंगुर पाल्ने।
त्यसैले अहिले बंगुर पाल्ने साथीभालाई भेट्ने, सर–सल्लाह लिने उनको दैनिकी बनेको छ।
'म यहाँ भएका सबै बंगुर फार्म गइसकेँ। युट्युबतिर पनि हेरिरहेको छु, पाल्न सक्छु भन्ने लागेको छ,' उनले उत्साहित हुँदै सुनाए। खोर बनाएर बंगुर हाल्ने काम सुरू भइसकेको छ।
बसन्तले आगामी दिनमा पनि यसैगरी विभिन्न कृषि कामलाई निरन्तरता दिने योजना बनाएका छन्। तर कृषि पेसामा बजारीकरण सुनिश्चितता भने नभएको उनको अनुभव छ। सरकारले बजारीकरण ग्यारेन्टी गरिदिने हो भने हामीकहाँ कृषि फस्टाउने उनी बताउँछन्।
'किसानलाई उत्पादित वस्तु नबिक्ला भन्ने चिन्ता छ। स्थानीय तहले बजार ग्यारेन्टी गरिदिने हो भने कृषिजन्य वस्तुको आयात घट्छ,' उनले भने, 'अझ हामीकहाँ कृषिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ।'
पर्यटकीय स्थलमा सञ्चालित होटलले मौलिक खानालाई प्राथमिकता दिने हो भने कृषि र पर्यटन दुवै फस्टाउने उनको भनाइ छ, 'चाउमिन, पिज्जा त पर्यटककै देशमा पाइन्छ। हामीले त पाहुनालाई आकर्षित गर्ने गरी स्थानीय खाना प्रवर्द्धन गर्नुपर्छ।'
बन्दीपुर पर्यटन विकास समितिका सचिव समेत रहेका बसन्त अहिले बन्दीपुरका प्रायः होटलले आफैं अर्ग्यानिक तरकारी उत्पादन गर्न थालेको बताउँछन्। होटलमा खपत भएर बढी भएका उत्पादन बेच्न बजार खोल्ने समितिको योजना छ। त्यस्तै बन्दीपुरमा बाहिरबाट सामान नभित्र्याउने भनेर गाउँपालिकाले कोल्ड स्टोर निर्माण गर्दैछ।