पाँच वर्ष अघिसम्म हेटौंडा-१५ ठूलो सुकौली (गुम्बा चोक)की सम्झना पाख्रिनको मुख्य व्यवसाय नै घरेलु मदिरा उत्पादन थियो।
घरमा बनाएको मदिरा हेटौंडाका पसलमा बिक्री गरी उनले घर खर्च चलाउँथिन्।
उनीमात्रै नभई यो गाउँका प्रायः महिलाहरूको दैनिकी नै मदिरा उत्पादन गरेर चल्दै थियो।
अहिले ‘ठूलो सुकौली’ गाउँ बदलिएको छ। केही वर्ष अघिसम्म बारीमा मकै, कोदो फलाउने र घर खर्च जुटाउन त्यसबाट मदिरा उत्पादन गरी बेच्ने गरेका महिलाले अहिले तरकारी खेती गरेर मनग्य आम्दानी लिइरहेका छन्।
तरकारी उत्पादन गरी आएको आम्दानीले घर खर्चमात्रै नभएर छोराछोरी पढाउनेदेखि बचतसम्म गर्न थालेको पाख्रिनले बताइन्।
करिब २ वर्ष अघिबाट सुरू भएको सामूहिक तरकारी खेतीसँगै जनजाति समुदायको बाहुल्यता रहेको यो गाउँमा परिवर्तनको शुभ संकेत देखिएको थियो।
यो अवधिमा सामूहिक खेतीले उनीहरूलाई आत्मनिर्भरमात्रै बनाएको छैन, व्यवसायिक कृषिमा ‘नमूना समूह’ को पहिचान पनि बनाएको छ।
मदिरा व्यवसायबाट कृषितर्फ अग्रसर बन्दै गरेका महिलालाई दुई वर्षअघि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्रले एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना फर्म कार्यक्रमको अनुदान सहयोग उपलब्ध गराएको थियो।
यो सहयोग प्लास्टिकको घरमा तरकारी खेती गर्नका लागि थियो।
सरकारी निकायबाट तरकारी खेतीका लागि अनुदान लिन सकिने कुरा थाहा पाएपछि ठूलो सुकौलीका महिलाहरूले ‘सक्रिय कृषक समूह’ दर्ता गरे।
‘व्यवसायिक तरकारी खेती गर्न नसके पनि आफ्नो खेतमा तरकारी खेती गर्ने गरेका थियौं तर त्यो खानैमा ठिक्क हुन्थ्यो,' समूहकी सचिव बबिता मोक्तानले भनिन्, 'व्यावसायिक खेतीका लागि सरकारी निकायले अनुदान दिन्छ भन्ने सुनेपछि महिलाहरू सल्लाह गरेर समूह बनाएर आवेदन दियौं।'
गाउँका १८ जना महिला समावेस रहेको समूहले २ हजार वर्ग मिटर क्षेत्र भाडामा लिएर सामूहिक तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्र चितवनमा आवेदन दिएको थियो।
यो कार्यालयले चितवन र मकवानपुर जिल्लामा काम गर्छ।
सचिव मोक्तानका अनुसार ज्ञान केन्द्रले एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना फर्म कार्यक्रमअन्तर्गत तरकारी खेतीका लागि प्लास्टिक घर बनाउन र थोपा सिँचाइका लागि अनुदान सहयोग गर्यो।
‘२९ लाख रुपैयाँ लगानी गर्नुपर्दा ज्ञान केन्द्रले ५० प्रतिशत रकम सहयोग गर्यो,’ उनले भनिन्, ‘त्यही वर्ष हामीले तरकारी खेती सुरू गरेर ५ लाख रुपैयाँ बढी आम्दानी गर्यौं।’
पहिलो वर्षको उत्पादन र व्यापारले हौसिएका उनीहरूले क्षेत्रफल बिस्तार गर्ने निधो गरे।
१ हजार ४०० वर्ग मिटर क्षेत्रफल बिस्तार गर्दा कृषि ज्ञान केन्द्रले चालीस प्रतिशत अनुदान रकम उपलब्ध गराएको थियो।
आर्थिक वर्ष २०७७/०७८ मा यो समूहले सामूहिक खेतीका लागि २४ लाख २२ हजार १३० रुपैयाँ थप लगानी गरेको छ। त्यसमा ज्ञान केन्द्रको अनुदान ९ लाख २२ हजार ५३४ रुपैयाँ समावेश थियो।
समूहमार्फत् गरिएको तरकारी खेतीमा यहाँका महिलाहरू उत्साही देखिन्छन्। अहिले यहाँ गोलभेँडा, धनियाँ, बोडी, करेला काँक्रा, भेन्टी, बोडी, सिमी फलिरहेका छन्।
‘यस वर्ष बाढीका कारण पोहोरजस्तो उत्पादन नदिए पनि हामीलाई केही न केही फाइदा भएको छ। बाढीबाट जोगिँदै कसरी व्यवसाय गर्ने भन्ने विषयमा सिक्ने अवसर मिलेको छ, यसको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह पनि गरेका छौं,’ मोक्तानले भनिन्, ‘आगामी वर्षदेखि तरकारी व्यवसायमा सुधार आउने आशा राखेका छौं।’
उनले विगतमा ५/७ किलो तरकारी बोकेर बेच्नका लागि बजार धाउनु पर्नेमा अहिले व्यापारीहरू फार्ममै किन्न आउन थालेको बताइन्।
‘माग अनुसारको उत्पादन पुर्याउनै सकेका छैनौं, बजारको त कुनै चिन्ता नै छैन,’ उनले भनिन्।
समूहमा आवद्ध १८ जना महिलामध्ये २ जना अविवाहित छन्। केहीका श्रीमान विदेश, केहीका जागिरे छन् भने बाँकी श्रीमतीले सुरू गरेको व्यवसायका सहयोगी बनेको अध्यक्ष पाख्रिनले बताइन्।
पाख्रिनका श्रीमान नेपाल प्रहरीमा जागिरे छन्।
‘आफूले नखाए पनि घर खर्चको लोभमा म पनि मदिरा उत्पादन गरेर बिक्री गर्थें। तैपनि अलिकति पैसा चाहियो कि श्रीमानसँग नमागी उपाय थिएन,’ पाख्रिनले सुनाइन्, ‘अब त समय फेरियो, श्रीमानले पो अलिअलि पैसा छ भने देऊ न भन्नुहुन्छ।’
उनका छोरा अहिले इन्जिनियरिङ पढ्दैछन्। पढाई खर्चमा पाख्रिनको व्यवसायले ठूलो सहयोग गरेको छ।
उनले प्लास्टिकको घरभित्र गरिएको सामूहिक खेतीबाट राम्रो आम्दानी आउने देखेपछि आफ्नो जमिनमा पनि तीन वटा प्लास्टिक घर बनाएर खेती सुरू गरेको बताइन्।
त्यहाँ उनले घिरौंला, करेला लगाएकी छन्। केही जमिनमा केरा खेती गरेकी छन्। भैंसी, बाख्रा पालेकी छन्। यी व्यवसायबाट उनको हातमा हरेक दिन पैसा आइपुग्छ।
‘यसरी खेती हुन्छ भन्ने हामीलाई थाहै थिएन, सामूहिक खेती राम्रो भएपछि समूहमा आवद्ध सबैले व्यक्तिगत रूपमा पनि यस्तै तरिकाबाट खेती गरिरहनुभएको छ,’ पाख्रिनले भनिन्, ‘तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि रक्सी पारेर बेच्ने काम सबैले छाडेका छन्।’
समूहमा आवद्ध सबैले अहिले कम्तिमा २ वटा प्लास्टिक घर तयार पारेर व्यक्तिगत रूपमा पनि खेती गरिरहेका छन्।
सहकारी संस्थाबाट ऋण लिएर सामूहिक खेतीमा लगानी गरेकी पाख्रिनले ऋण तिरेर सकिन लागेको बताइन्। उनका अनुसार समूहमा आवद्ध सदस्यको व्यक्तिगत व्यवसायको बचत र फार्ममार्फत् भएको आम्दानी जम्मागरी समूहले वार्षिक रूपमा बाँडफाँट गर्ने गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्वाचन क्षेत्र हो यो। पौडेलले निर्वाचनमा भोट माग्न जाँदा किसानहरूलाई सहयोग पुग्ने कार्यक्रम ल्याउने घोषणा गरेको महिला किसान सम्झन्छन्।
‘नेताले वाचा सम्झिएर अनुदान पठाए, हामीले त्यो अनुदानको सदुपयोग गरेका छौं,’ पाख्रिनले भनिन्, ‘अहिलेसम्म सरकारी सहयोग पाइएकै छ।’
कृषि ज्ञान केन्द्र चितवनका बाली निरीक्षक मिनबहादुर पुनका अनुसार एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना फर्म कार्यक्रम अन्तर्गत चितवनका ६ र मकवानपुरका ४ निर्वाचन क्षेत्रमा किसानहरूलाई अनुदान उपलब्ध गराइएको छ।
यो कार्यक्रममार्फत् किसानले पहिलो वर्ष लगानीको ५० प्रतिशत, दोस्रो वर्ष ४० र तेस्रो वर्ष ३० प्रतिशत अनुदान प्राप्त गर्नेछन्।
पुनले यस कार्यक्रममार्फत् किसानले व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानी लिन थालेको बताए।
समूहकी सचिव मोक्तानले सामूहिक तरकारी खेतीले आयआर्जनमा राम्रो सहयोग गरे पनि खेती गर्नका लागि आवश्यक ज्ञान र तालिमको भने कमी भइरहेको बताइन्।
‘यसपालि केही तरकारीका बोट मरे, केहीमा गतिलो फल लागेनन्,’ उनले भनिन्, ‘हामीलाई कस्तो औषधी प्रयोग गर्ने, कसरी प्रयोग गर्नेजस्ता प्राविधिक ज्ञान चाहिएको छ।’
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी